बाढी र भूकम्पले उठीवास बझाङको एक गाउँ

हिमाल प्रेस ५ माघ २०८० १२:५१
42
SHARES
बाढी र भूकम्पले उठीवास बझाङको एक गाउँ

बझाङ- फोनको ‘नेटवर्क’ ले काम नगरेको एक साता भएको थियो। डरलाग्दो सपना देखेको हुँदा पारू गिरीलाई निन्द्रा लागेको थिएन। छोराबुहारीको हालखबर बुझ्न गाउँमा कसैसँग नेटवर्क चल्ने मोबाइल पनि थिएन।

एक सातापछि बल्ल मौसम खुल्यो। नेटवर्क आयो र फोनमा कुरा भयो। सबैलाई सञ्चो भएको खबर सुनेपछि बल्ल पारुको मन शान्त भयो।

उनी शनिबार यही पीडा वरिपरि बसेकालाई सुनाउँदै थिइन्। गत भदौको उनको पीडा सुनेर एकछिन माहोल नै चिसियो। सबै जना आश्चर्यचकित भावमा देखिए।

‘हाम्रा लागि परदेशिएकाहरूको कथा सुन्नु, सुनाउनु, टोलाउनु, आँसु चुहाउनु नियति नै हो। लेखान्तमा जे लेखियो, त्यहीँ भोग्नुपर्दो रहेछ,’ उनले भनिन्।

उनी दुई नातिसँगै छविसपाथीभेरा गाउँपालिका-१ परिङालमा रहेको आफ्नै घरमा बस्छिन्। नातिद्वय जीवन र सक्षम गाउँकै भैरव आधारभूत विद्यालयमा पढ्छन्।

छोरा तथा बुहारी भारतको बैङलोरमा मजदुरी गरिरहेका छन्। उनीहरूले पठाएको पैसाले घर खर्च चलाउनु परेको पारुले सुनाइन्।

यस्तो पीडा र अवस्था सबै परिङालबासीको उस्तै छ। ‘आँगनमा काग कराएको दिन पनि अशुभ खबर सुनिन्छ कि भन्ने पीर पर्छ,’ स्थानीय चन्द्रा गिरीले भनिन्,‘परदेशिएकाहरूलाई केही नहोस् भनेर दियो बालिरहन्छौँ। भगवान्को आराधना गरिरहन्छौँ। चिन्ता बैङलोरकै हुन्छ।’

परिवारका सदस्यसँगै बस्न र घरमै हुन त भाग्यमै लेखेको हुनुपर्ने उनले बताइन्। उनका अनुसार परिङालमा ८० परिवार छन्। झन्डै चार सय जनसङ्ख्या भएको गाउँ हिजोआज भने सुनसान जस्तै छ।

काम गर्न सक्ने जनशक्ति सबै भारतमा गएपछि बालबालिका र वृद्धवृद्धाले जेनतेन गाउँ धानेका छन्। ‘प्राकृतिक विपद्बाट अहिले ३० परिवारले गाउँ नै छोडिसकेका छन्,’ उनले भनिन्,‘कतिपयले भारतमा संघर्ष गर्दै तराईतिर जग्गा जमिन जोडिसके। कतिले भारतमै आधार कार्ड पाएर परिवारलाई उतै व्यवस्थापन गर्ने तयारी गरिरहेका छन्।’

उनका अनुसार परिङालबासी भोको पेट भर्नकै लागि विभिन्न ठाउँमा गएर संघर्ष गरिरहेका छन्। ‘घरमा बालबालिका तथा वृद्धवृद्धा भएर घरहरू खुला देखिए पनि गर्नसक्ने मान्छे कोही छैन,’ उनले भनिन्।

उनका अनुसार उहिले कोही पनि भारत जाँदैन थिए। ‘गाउँमै खेतीपाती गरेर सबैको गुजारा हुन्थ्यो। अहिले जग्गाजमिन बाढीले निल्यो, घर भूकम्पले निल्यो। त्यसपछि गाउँ नै चौपट भयो,’ उनले भनिन्।

चन्द्राको घरमा नौजना सदस्य छन्। गाउँमा भने अहिले चारजना मात्रै छन्। परिङालकै लक्ष्मी गिरीको परिवारमा १३ जना छन्। आफूले सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) खाने र तीन बालबालिका गाउँमै पढ्ने हुँदा घर बस्नुपरेको उनले सुनाइन्।

‘भारतमा जति मजदुरी काम गरे पनि पैसा देखिँदैन,’ उनले भनिन्,‘सबै कमाउने उतै छन् । उनीहरूले कमाएको पनि खानलाई बराबर हुन्छ।’ पेट पाल्नकै लागि विदेश जानेको संख्या बढेपछि गाउँ रित्तिन थालेको छ। सामाजिक काम तथा ठूलो काम गर्न गाउँमा मान्छे नै नभएको उनले बताइन्।

गत असोजको भूकम्पपछि गाउँमा १५ परिवार घरमा तालाबान्दी गरेर भारत गइसकेका छन्। अन्य परिवारमा पनि अधिकांश सदस्य भारतमै गएको लक्ष्मीले बताइन्। २०५७ सालमा आएको बाढीले गाउँलेको जमिन बगरमा परिणत गरेको थियो। आफूलाई पर्याप्त भएर अन्न बेच्ने परिङालबासीलाई दुई दशकयता भने संकटैसंकटले झेलिरहेको छ।

स्थानीय प्रमानन्द गिरीका अनुसार परिङालको ८५ प्रतिशत जनसङ्ख्या भारतमा छ। गाउँमा बालबालिका र वृद्धवृद्धाको आश्रम जस्तै छ।

भूकम्पले क्षति भएका परिवारका लागि रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तराष्ट्रिय महासंघ (आइएफआरसी) को आर्थिक एवम् प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले अस्थायी संरचना बनाइदिएको छ। रासस

प्रकाशित: ५ माघ २०८० १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =