शैक्षिक सुधारमा बालेनको ‘सकारात्मक दबाब’

हिमाल प्रेस १४ असार २०८० ११:५७
248
SHARES
शैक्षिक सुधारमा बालेनको ‘सकारात्मक दबाब’

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको ‘सकारात्मक दबाब’पछि महानगरको शिक्षा क्षेत्रमा सुधारका संकेत देखिन थालेका छन्। विगत एक वर्षमा महानगरको शैक्षिक क्षेत्रमा उनको प्रयास शिक्षकको पेसागत सुरक्षा, विद्यालयको भौतिक सुधार र बालबालिकाको शिक्षण सिकाइमा केन्द्रित देखिएका छन्।

यसबाट कक्षाकोठामा शिक्षकको उपस्थिति प्रभावकारी हुन थालेको र सिकाइ क्रियाकलापमा पनि सकारात्मक प्रभाव पर्न थालेको शिक्षकहरूको अनुभव छ। बालेनले चासो दिएपछि बिस्तारै सार्वजनिक शिक्षामा परिवर्तन हुन थालेको स्वयंसरोकारवालाहरू नै बताउन थलेका छन्।

यद्यपि राजनीतिक दलको फेरो समातेर विभिन्न माग अघि सार्दै आन्दोलनका नाममा कक्षाकोठा छाड्नेहरूका लागि भने बालेनका हरेक कदम असह्य देखिएका छन्। किनकि महानगरपालिकाका सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकलाई राजनीतिक रूपमा आबद्ध हुन रोक लगाएको छ।

मासिक रूपमा तलब

महानगरभित्रका सार्वजनिक विद्यालयका शिक्षक उत्साहित हुने पछिल्लो एउटा कारण हो, मासिक रूपमा तलब पाइने। यसअघि शिक्षकले चौमासिक रूपमा तलब पाउँदै आएका थिए। चार महिनामा एकपटक तलब पाउँदा मासिक खर्च व्यवस्थापनमा शिक्षकलाई समस्या पर्ने गरेको थियो।

पद्मोदय माविका प्रधानाध्यापक नारायणप्रसाद गौतम भन्छन्, ‘शिक्षकका लागि यो ठूलो राहतको कुरा हो। आफ्नै तलब भए पनि डेरामा बस्ने शिक्षकहरूलाई महिनैपिच्छे तलब नआउँदा समस्या थियो। यसलाई सबै शिक्षकहरूले सकारात्मक रूपमा लिएका छन्।’

महानगरभित्रका केही विद्यालयले भने आन्तरिक स्रोतबाट मासिक रूपमा तलब खुवाउँदै आए पनि धेरै विद्यालयमा चार महिनामै एक पटक तलब बाँडिँदै आएको छ। महानगरपालिकाले आगामी आवदेखि मासिक रूपमा तलब भुक्तानी गर्न ३० करोड रुपैयाँको छुट्टै सोधभर्ना कोष खडा गरेको छ। अब महानगरपालिकाका विद्यालमा कार्यरत शिक्षकले नियमित रूपमा तलबभत्ता पाउनेछन्। यसैगरी सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकको मासिक भत्ता बढाएपछि काम गर्न झन् उत्साह बढेको प्रधानाध्यापकहरू बताउँछन्।

नियमित शिक्षक तालिम

अर्को सकारात्मक प्रयास हो शिक्षण सिकाइका लागि धमाधम शिक्षक तालिम। पाठ्यक्रम परिवर्तन भएपछि महानगरपालिकाले तहगत रूपमा शिक्षकलाई तालिम दिइरहेको छ। प्राथमिक तहको तालिम सकिएको छ भने आधारभूत र माध्यमिक तहको तालिम सञ्चालन भइरहेको महानगरपालिकाको शिक्षा विभागले जनाएको छ।

परिचयपत्र पाएपछि शिक्षक खुसी

नेपाल सरकारको लोगो भएको परिचयपत्र पाएपछि शिक्षक खुसी भएका छन्। शिक्षकले यस्तो परिचयपत्र पहिलोपटक पाएका हुन्। परिचयपत्र पाउँदा आफू महानगरपालिकाको शिक्षक हुँ भन्ने गौरवबोध भएको शिक्षकहरू बताउँछन्।

पढ्दै सिक्दै कार्यक्रममा विद्यार्थी आकर्षण

महानगरले अघि सारेको ‘नो बुक फ्राइडे’ सकारात्मक सन्देश प्रवाह गर्ने अर्को कार्यक्रम हो। यसबाट विद्यार्थीले पढाइका साथसाथै व्यावहारिक सीप सिक्न थालेका छन्।
‘शिक्षामा सीप’ अन्तर्गत कुनै विद्यालयमा मोबाइल र विद्युतीय सामान, घरमा तार र बिजुली जडान (वायरिङ एन्ड इलेक्ट्रिकल), कृषि तथा सहरी खेती, फेसन डिजाइन तथा कपडा निर्माणबारे तालिम सञ्चालन भइरहेका छन्।

बालबालिकामा संगीत, नृत्य, चित्रकला, पाककला, हाजिरी जवाफ प्रतियोगिता लगायतका कार्यक्रममा रुचि बढ्न थालेको छ। सौन्दर्य कला र कपाल शैली (हेयर स्टाइल) सम्बन्धी तालिम पनि हुँदै आएका छन्।  यसबाट विद्यार्थीमा आधारभूत प्राविधिक ज्ञान र सीपसमेतको प्रवर्द्धन हुने महानगरपालिकाको विश्वास छ।

साथै आगामी आवका लागि विद्यार्थीलाई यस्तै सीपमा आबद्ध गराउन महानगरपालिकाले गरिखाने शिक्षा, महानगरको इच्छा योजना अघि सारेको छ। यसका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न ५० करोड रुपैयाँ विनियोजन गरिएको छ।

नेपाल भाषाको पाठ्यक्रम र सरसफाइ

महानगरपालिकाभित्रका सबै विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म नेपाल भाषाको पाठ्यक्रम लागू भएको छ। यसका लागि झन्डै २०० जना नेपाल भाषाका शिक्षकहरूको व्यवस्था गरिएको विवरण शिक्षा विभागसँग छ।

सामुदायिक विद्यालय परिसरभित्र सरसफाइ गरी हराभरा र सुन्दर बनाउने, एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ताको व्यवस्थापन जस्ता गतिविधले सिकाइका थप सकारात्मक प्रभाव परेको गौतमको बुझाइ छ। शौचालय निर्माण र स्तरोन्नति, निःशुल्क सेनिटरी प्याडको सुविधा, पिउने पानीको प्रबन्धमा पनि महानगरपालिकाले बढी नै चासो दिएको छ।

निजी विद्यालयमाथि नियमन

बालेन सरकारी विद्यालयको शैक्षिक सुधारमा मात्रै केन्द्रित छैनन्। निजी विद्यालयलाई पनि नियमन गर्न सक्रिय छन्। उनको चासो निजी विद्यालयमा पढाइ हुने पाठ्यक्रम, विद्यार्थीबाट लिइने शुल्क, विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति र शिक्षकको तलबसुविधामा छ। सोहीअनुसार महानगरपालिकाले कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै निजी विद्यालयलाई विद्यार्थीसँग लिने शुल्कको प्रस्ताव पठाउन परिपत्र गरेको छ। महानगरपालिका यसका लागि असार मसान्तसम्मको समय तोकेको छ।

महानगरको ताकेतापछि ५०४ निजी विद्यालयमध्ये ४६५ ले छात्रवृत्ति विवरण बुझाउन बाध्य भएका छन्। त्यसबाट लक्षित वर्गका १३ हजारभन्दा बढी विद्यार्थीले विभिन्न किसिमका छात्रवृत्ति पाएको महानगरपालिकाको दाबी छ। छात्रवृत्ति विवरण नपठाएका विद्यालयलाई १ लाख रुपैयाँसम्म जरिबाना तिराएर थप एकपटक विवरण बुझाउने मौका महानगरापलिकाले दिएको छ।

यसैगरी महानगरपालिकामा सञ्चालित निजी विद्यालयका शिक्षकको तलब सरकारी सरह बनाउन महानगरपालिकाले पहल गरेको छ। प्रमुख बालेनले बिहीबार सूचना जारी गर्दै भनेका छन्, ‘काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिन्छ।’ सरकारीसरह तलबसुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न पनि सम्बन्धित शिक्षकहरूलाई बालेनले अनुरोध गरेका छन्।

बालेनको प्राथमिकता नै शिक्षा

प्रमुख बालेनले महानगरपालिकाको प्रमुख प्राथमिकता शिक्षालाई दिइरहेको बताउने गरेका छन्। उनले भनेका छन्, ‘हामी महानगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न निरन्तर लागिपरेका छौँ।’ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्दै आएको छ। सोही क्रममा बालेन हरेक शुक्रबार विद्यालयको अनुगमनमा निस्कने गरेका छन्। ‘नो बुक फ्राइडे’ कार्यक्रमका क्रममा बालबालिकाले सिकेको सीप अवलोकनका लागि उनी पुग्ने गरेका हुन्।

सार्वजनिक शिक्षाका क्षेत्रमा बालेनको चासो र लगाव सकारात्मक रहेको शिक्षकहरू बताउँछन्। बालेनले सकारात्मक रूपमै दबाब दिएर शैक्षिक सुधारको पहल गरिरहेको उनीहरूको बुझाइ छ। महानगरले अघि सारेका योजना कार्यान्वयनमा सबैले साथ दिने हो भने देशकै पहिलो महानगरको सार्वजनिक शिक्षा अब्बल बन्न धेरै समय नलाग्ने पद्मोदय माविका प्रधानाध्यापक  गौतम बताउँछन्। उनी भन्छन्, ‘अब जिम्मेवारी पूरा नगरेमा बालेनले छाड्दैनन् भन्ने सकारात्मक दबाब शिक्षकहरूमा परेको छ।’

कक्षाकोठामा नियमित र प्रभावकारी सिकाइ गतिविधि भइरहेपछि बालबालिका र अभिभावक त खुसी हुने नै भए शिक्षकका नेताहरू पनि शैक्षिक सुधारमा बालेनको सक्रियताप्रति सकारात्मक देखिन थालेका छन्। खासगरी महानगरपालिकाले शिक्षा क्षेत्रमा विनियोजन गरेको बजेटलाई लिएर उनीहरू आशावादी बनेका हुन्। नेपाल शिक्षक संघका उपाध्यक्ष सुन्दर पन्तले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राम्रोलाई त राम्रो भनौँ, नगर प्रमुख बालेन्द्र शाहको नेतृत्वले काठमाडौँ महानगरपालिका शिक्षामा छुट्याएको बजेटलाई वाहीवाही गर्नैपर्छ।’ यस्तै उनले २०४८ पछिका शिक्षामन्त्रीहरू, ठूला दलका शीर्ष नेता सबै गफाडी भएको बालेनको बजेटले पुष्टि हुने उल्लेख गरेका छन्।

निजी स्कुलका शिक्षकलाई सरकारीसरह तलब सुविधा दिन बालेनको निर्देशन

अराजक बालेन : नेताहरूलाई ‘चोर’ को आरोपदेखि अदालतको आदेश नमान्नेसम्मको धम्की

प्रकाशित: १४ असार २०८० ११:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =