निजी स्कुलका शिक्षकलाई सरकारीसरह तलब सुविधा दिन बालेनको निर्देशन

हिमाल प्रेस १४ असार २०८० ८:०४
404
SHARES
निजी स्कुलका शिक्षकलाई सरकारीसरह तलब सुविधा दिन बालेनको निर्देशन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगर क्षेत्रका निजी शैक्षिक संस्थाका शिक्षक कर्मचारीहरूलाई सरकारी शिक्षकसरह नै तलब, सेवा, सुविधा उपलब्ध गराउन निर्देशन दिएका छन्।

बिहीबार (आज) उनले यस्तो निर्देशन दिएका हुन्। संघीय सरकारको शिक्षा ऐन, २०२८ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको हुँदा सोहीअनुसार तलब सुविधा दिन बालेनले जानकारी गराएका छन्।

‘काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदानलगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानुनमा तोकिएबमोजिम हुने उल्लेख गरिएको छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सोहीबमोजिम काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन महानगरका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिन्छ।’

महानगर क्षेत्रका निजी विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेकोतर्फ पनि उनले जनाएका छन्।

संघीय सरकारको शिक्षा ऐन र महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावलीअनुसार तलब सुविधा प्राप्त नभएमा महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न पनि उनले शिक्षकहरूमा अनुरोध गरेका छन्।

प्रकाशित: १४ असार २०८० ८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 18 =