काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले वडा अधिवेशन पार्टीको संगठनात्मक जीवन र लोकतान्त्रिक अभ्यासका दृष्टिकोणले महत्वपूर्ण चरण रहेको बताएका छन्।
बिहीबारबाट सुरू हुन लागेको आफ्नो समूहको १५ औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशनमा नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरूलाई सहभागी हुन अपिल गर्दै उनले यस्तो बताएका हुन्।
महाधिवेशन आयोजन समितिका संयोजकसमेत रहेका कोइरालाले भनेका छन्, ‘वडा अविधेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र होइन, पार्टीको संगठनलाई नयाँ ऊर्जा दिने, कार्यकर्ताबीचको एकतलाई थप मजबुत बनाउने र नेपाली कांग्रेसलाई जनताको भरोसाको पार्टीका रूपमा अझ सशक्त बनाउने महत्वपूर्ण अवसर पनि हो।’
उनले व्यक्तिगत आग्रह पूर्वाग्रहभन्दा माथि उठेर अधिवेशनलाई सफल बनाउन आग्रह गरेका छन्।
‘व्यक्तिगत आग्रह पूर्वाग्रहभन्दा माथि उठेर आपसी सद्भाव, सहकार्य, लोकतान्त्रिक मूल्य र पार्टीको बृहत्तर हितलाई केन्द्रमा राख्दै अधिवेशनलाई सफल बनाउन सबै साथीहरू एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दछु,’ विज्ञप्ति निकालेर उनले भनेका छन्।
नेता कोइरालाले वडा तहदेखि नै संगठन बलियो, अनुशासित र जनमुखी बनाउँदै १५ औँ महाधिवेशनलाई उत्साह, एकता र लोकतान्त्रिक अभ्यासको सशक्त उत्सवका रूपमा सम्पन्न गर्न सबैको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गरेका छन्।
१५ औँ महाधिवेशनअन्तर्गत निवर्तमान सभापति शेरबहादुर देउवा समूहले बिहीबार देशभर वडा अधिवेशन गर्दैछ।



