फाइल तस्बिर : एफपी
काठमाडौँ- मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रससंघका कार्यवाहक विशेष संयोजक डा. रमिज अलक्बरोभले गाजा पट्टीमा खाद्यान्न आपूर्तिको प्रवेशमा केही प्रगति भए तापनि त्यहाँका बासिन्दाले जटिल मानवीय संकटको सामना गरिरहेको बताएका छन्।
पानी, सरसफाई, आश्रयस्थल र फोहर व्यवस्थापनसम्बन्धी निरन्तरका सवाललाई औँल्याउँदै, श्रम बजारमा सुधारको अभावका कारण सहायता र नगद स्थानान्तरणमा उच्च निर्भरता रहेको बताएका छन्।
यूएन न्यूजसँगको अन्तर्वार्तामा, अलक्बारोभले संयुक्त राष्ट्रसंघले गाजामा पानी, सरसफाइ, स्वास्थ्य, भग्नावशेष हटाउने, शिक्षा र किसानको समर्थनका क्षेत्रमा आफ्नो काम जारी राखेको उल्लेख गरेका छन्।
करिब तीन लाखभन्दा बढी बालबालिकाले अस्थायी स्थानमा शिक्षा प्राप्त गरिरहेको जनाउँदै उनले कृषि गतिविधिका लागि सीमितमात्रामा मात्र जमिन उपलब्ध रहेको जनाकारी दिएका छन्।
उनले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लूए) ले गाजामा लगाइएको प्रतिबन्धका बाबजुद पनि काम गरिरहेको बताउँदै आठ हजारभन्दा बढी मानिसहरु अझै भग्नावशेषमुनि बेपत्ता रहेको जनाए।
अलक्बारोभले गाजाका बासिन्दाको आगामी जाडो पनि शिविरमा बिताउने नभई स्कुल र काममा फर्कने, आफ्नो समुदायको पुनर्निर्माणमा योगदान गर्ने र पानी, सरसफाई र बिजुली सेवामा पुनःपहुँच प्राप्त गर्ने इच्छा व्यक्त गरे।
वेस्ट ब्यांकमा, संयुक्त राष्ट्रका संयोजकले इजरायली बस्ती गतिविधि, हिंसा, आवागमन प्रतिबन्ध र आर्थिक दबाबलाई उदृत गर्दै परिस्थिति अत्यधिक नाजुक रहेको वर्णन गरे।
उनले संयुक्त राष्ट्रसंघले प्रभावित परिवार र समुदायलाई अनुदान, नगद सहायता र कानुनी सहयोग प्रदान गरिरहेको बताए।
राजनीतिक मार्गको सन्दर्भमा, उनले प्यालेस्टिनी सवाललाई व्यापक रूपमा सम्बोधन गरी विश्वासको पुनर्निर्माण गर्न, हिंसालाई उक्साउन रोक्न र प्यालेस्टिनी संस्थाको एकतालाई समर्थन गर्न जोड दिँदै दुई–राज्यबीच उत्पन्न समस्याको समाधानको कुनै विकल्प नभएको पुष्टि गरे।-रासस/क्युएनए



