गाजामा तीन वर्षमा ३८ हजार महिला बालिका मारिए : संयुक्त राष्ट्रसंघ

हिमाल प्रेस २३ असोज २०८३ १२:३७ | Friday, October 9, 2026
8
SHARES
गाजामा तीन वर्षमा ३८ हजार महिला बालिका मारिए : संयुक्त राष्ट्रसंघ फाइल तस्बिर : रासस/सिन्हवा

काठमाडौँ- गाजामा तीन वर्षको युद्धका क्रममा करिब ३८ हजार महिला तथा बालिका मारिएका मारिएका छन्। युद्धका क्रममा झन्डै १२ हजार महिला तथा बालिका घाइते भएको संयुक्त राष्ट्रसंघीय निकाय यूएन वुमनले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

यूएन वुमनका अनुसार सन् २०२३ अक्टोबरमा युद्ध सुरु भएयता गाजाका प्रत्येक २१ महिला तथा बालिकामध्ये एकजनाले ज्यान गुमाएका छन्। कतिपयले जीवनभर अपांगतासहित बाँच्नुपर्ने अवस्था आएको छ।

युद्धको पहिलो दुई वर्षमा अधिकांश हताहती भएको भए पनि सन् २०२५ अक्टोबरमा युद्धविराम सम्झौता लागू भएपछि पनि महिला तथा बालिकाको मृत्यु हुने क्रम नरोकिएको यूएन वुमनले जनाएको छ। पछिल्लो एक वर्षमा गाजामा मारिएका व्यक्तिमध्ये दुई सय ७७ जना महिला तथा बालिका रहेको उसको भनाइ छ।

यूएन वुमनका अनुसार गाजाका झन्डै सबै महिला तथा बालिका आफ्नो घरबाट विस्थापित भएका छन्।

सन् २०२३ अक्टोबरयता इजरायली सेनाले एक सय ५० भन्दा बढी पटक विस्थापन तथा आवागमनसम्बन्धी आदेश जारी गरेको थियो। ती आदेशका कारण करिब १० लाख महिला तथा बालिका घर छाड्न बाध्य भएको राष्ट्रसंघले जनाएको छ।

गाजाका अधिकांश महिला तथा बालिका पालमुनि वा भग्नावशेषबीच बसिरहेका छन्। उनीहरूले पर्याप्त गोपनीयता पाएका छैनन् भने खाद्यान्न, सुरक्षित पानी, आश्रय र सरसफाइका सामग्रीमा समेत सीमित पहुँच रहेको यूएन वुमनले जनाएको छ।

महिलाहरूले असुरक्षित र अस्वस्थकर अवस्थामा बच्चा जन्माउन बाध्य हुनुपरेको पनि निकायले उल्लेख गरेको छ। सन् २०२६ को पहिलो छ महिनामा गर्भपतनका घटना करिब चार हजार पुगेका छन्। यो सन् २०२५ को पछिल्लो छ महिनामा अभिलेख गरिएका घटनाको तीनगुणा हो।

युद्धले गाजाको पारिवारिक संरचनामा समेत ठूलो परिवर्तन ल्याएको छ। अहिले त्यहाँका झन्डै चारमध्ये एक घरपरिवारको नेतृत्व महिला आफैँले गरिरहेका छन्। यस्ता घरपरिवारको संख्या अनुमानित ८६ हजार दुई सय ९० पुगेको छ। सन् २०२३ अक्टोबरअघि भने प्रत्येक नौ घरपरिवारमध्ये एकको नेतृत्व महिलाले गर्थे।

यूएन वुमनका अनुसार अहिले धेरै महिला कठिन परिस्थितिमा आफ्ना परिवारको पालनपोषण, सुरक्षा र एकता कायम राख्ने सम्पूर्ण जिम्मेवारी एक्लै सम्हाल्न बाध्य छन्।

सन् २०२६ जुलाईदेखि डिसेम्बरसम्म गाजाका अनुमानित सात लाख दुई हजार महिला तथा बालिका गम्भीर खाद्य असुरक्षाको अवस्थामा पुग्ने अनुमान गरिएको छ।

महिला तथा बालिकालाई प्रत्यक्ष सहयोग उपलब्ध गराउँदै आएका महिला नेतृत्वका संस्थाहरू पनि चर्को दबाबमा छन्। यूएन वुमनले गाजा र कब्जामा रहेको पश्चिम किनारका १४ संस्थामा गरेको सर्वेक्षणमा १३ संस्थाले सन् २०२५ यता महिला तथा बालिकाको आवश्यकता बढेको बताएका छन्। त्यति नै संस्थाले बढ्दो आवश्यकता पूरा गर्न आफूहरूसँग पर्याप्त क्षमता नभएको जनाएका छन्।

यूएन वुमनले युद्धविराम सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न, अन्तर्राष्ट्रिय कानुनको पालना गर्न र आवश्यकतामा परेकासम्म मानवीय सहायता पर्याप्त मात्रामा तथा कुनै अवरोधबिना पुर्‍याउन आह्वान गरेको छ।

प्रकाशित: २३ असोज २०८३ १२:३७ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast