फाइल तस्बिर
चितवन- नेपाल प्रहरीले ४४३ किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बैशाली जिल्ला, ग्राम चरबाजे निवासी २४ वर्षीय सत्यम कुमार र बाबन घाट निवासी २० वर्षीय रोहन कुमार रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषन यादवले जानकारी दिए।
उनका अनुसार निजहरूलाई शुक्रबार राप्ती नगरपालिका-१ लोथरबाट पक्राउ गरिएको हो।
हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको एनएल ०१० ७७ ९२ नम्बरको भारतीय कन्टेनर जाँच गर्ने क्रममा कन्टेनरको अगाडिको भागमा चालक सिटको पछाडि क्याबिनमा फल्स बटम (गोप्य ठाउँ) बनाई लुकाइछिपाइ राखिएको अवस्थामा ४४३ किलो गाँजा फेला परेको उनले जानकारी दिए।
प्रहरीले कन्टेनर र कन्टेनर चालक सत्यम र सहचालक रोहनलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक यादवले उल्लेख गरे।
पक्राउ परेका दुवै जनामाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको उनले बताए।



