काठमाडौँ- नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिगको फाइनल खेलको टिकट बिक्रीसम्बन्धी सूचना जारी गर्दै केही मिनेटमै सबै टिकट सोल्ड आउट भएको जनाएको छ।
संघका सचिव पारस खड्काले शुक्रबार सूचना जारी गर्दै खेलको टिकट बिक्री खुला गरिएसँगै करिब दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिद गर्न खोज्दा टिकट प्रणालीमा अत्यधिक चाप परेको बताए।
उनको भनाइमा क्रिकेट मैदानको क्षमताअनुसार टिकट उपलब्धता सीमित भएकाले बिक्री खुला भएको केही मिनेटमै सबै टिकट सोल्ड आउट भएको छ।
उनले नेपाली क्रिकेटप्रति दर्शकहरूले देखाएको अपार माया, साथ र उत्साहप्रति नेपाल क्रिकेट संघले कृतज्ञता व्यक्त गरे। टिकट नपाएर असुविधा भोग्नुपरेका समर्थकहरूसँग संघले क्षमायाचना गरेको छ।
टिकट लिन नसक्ने समर्थकहरूलाई अनलाइन तथा आधिकारिक प्लेटफर्ममार्फत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग हेरेर प्रतियोगितालाई साथ दिन संघले हार्दिक अनुरोध गरेको छ।
शनिबार ५ बजे त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच फाइनल खेल हुँदैछ।




