काठमाडौँ- बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले पूर्वप्रधानमन्त्री सेख हसिनाको अवामी लिगले बंगलादेशलाई अस्थिर बनाउने षडयन्त्र गरेको आरोप लगाएका छन्।
भारतको सिमानासँग जोडिएको उत्तर–पश्चिमी जिल्ला लालमोनिरहाटमा आयोजित एक जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री रहमानले अवामी लिगका समर्थकहरुमाथि अशान्ति फैलाउन आगजनी र हत्याको सहारा लिएको आरोप लगाए।
हसिनाको पार्टीले देशभरि एकदिने बन्दको आह्वान गरेपछि बंगलादेशको केही क्षेत्रहरुमा हिंसा भएको थियो।
बंगलादेशका अखबारहरुका अनुसार बिहीबार प्रतिबन्धित अवामी लिग र त्यसका भ्रातृ संगठनका नेता तथब बीएनपी कार्यकताबीच भएको हिंसामा कम्तीमा चार जनाको मृत्यु भएको छ।
बंगलादेशका पूर्वमुख्य अन्तरिम सल्लाहकार मोहम्मद युनुसको पुख्र्यौली घरमा आगजानी गरिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
बुधबार नाराइलमा विरोध प्रदर्शनबाट फर्कने क्रममा भएको आक्रमणमा बीएनपीका दुई नेताको हत्या गरिएको छ। प्रहरीका अनुसार आक्रमणकारीहरु प्रतिबन्धित अवामी लिगका नेता तथा कार्यकर्ता थिए।
मंगलबार रातिदेखि नै बंगलादेशका विभिन्न भागमा भएका आगजनी, तोडफोड र ककटेल विस्फोटमा बस, प्रहरी चौकी, बीएनपी कार्यकर्ताका घर, पार्टी कार्यालय र ग्रामीण बैंकका शाखाहरुमा आक्रमण गरिएका छन्।
बुधबार पनि विभिन्न ठाउँमा हिंसाका घटना देखिएका थिए। राजमार्गहरुमा गाडीहरुमा आगजनी गरियो र रुख काटेर आवागमन अवरुद्ध गर्ने प्रयास गरियो।
यी प्रदर्शन र हिंसा भारतबाट सेख हसिनाको सम्भावित फिर्तीलाई लिएर बढ्दो तनावबीच भएका हुन्।
तोडफोड र अशान्ति फैलाएको आरोपमा पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसहित अगामी लिगका धेरै नेताहरु पक्राउ परेका छन्।
७९ वर्षीया हसिना ५ अगस्त २०२४ मा बंगलादेशबाट भागेछि भारतमा बस्दै आएकी छन्। त्यतिबेला विद्यार्थीहरुको नेतृत्वमा भएको विद्रोहपछि उनको सरकार ढलेको थियो।
डिसेम्बरमा बंगलादेश फर्कने आफ्नो योजनालाई सहज बनाउन राहदानी जारी गर्न हसिनाले गरेको अपिल सरकारले अस्वीकार गरेपछि अवामी लिगले बिहीबार बन्दको आह्वान गरेको थियो।
हसिनालाई मृत्युदण्डको सजाय सुनाउँदै विशेष न्यायाधिकरणले गत वर्ष सुनाएको फैसलाको वार्षिकीको दिन पनि यो बन्द परेको थियो।
प्रदर्शनकारीमाथि आफ्नो सरकारको दमनलाई लिएर मानवताविरुद्धको अपराधको आरोपमा उनको अनपस्थितिमा मुद्दा चलाएपछि न्यायाधिकरणले यो फैसला सुनाएको थियो। हसिनाले आफूविरुद्ध लागेको आरोप र न्यायाधिकरणको कारबाहीलाई अस्वीकार गरेका थिए।



