ट्रम्प, सी र पुटिन किन बन्न सक्दैनन् ‘तीन महाशक्ति नेता’?

हिमाल प्रेस १ मंसिर २०८३ १६:१५ | Tuesday, November 17, 2026
ट्रम्प, सी र पुटिन किन बन्न सक्दैनन् ‘तीन महाशक्ति नेता’?

‘कम्युनिस्टका रूपमा सी चिनफिङलाई कार्ल मार्क्सको यो भनाइ अवश्य थाहा हुनुपर्छ- ‘विश्व इतिहासका सबै महान् घटना र व्यक्तित्व दुईपटक देखा पर्छन्… पहिलोपटक दुःखान्तका रूपमा र दोस्रोपटक प्रहसनका रूपमा।’

यस साता सी, डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच हुने भेटवार्तालाई सन् १९४५ मा विन्स्टन चर्चिल, फ्र्यांकलिन रुजवेल्ट र जोसेफ स्टालिनबीच भएको याल्टा सम्मेलनको पुनरावृत्तिका रूपमा व्यापक प्रचार गरिएको छ। सी, ट्रम्प र पुटिन नयाँ ‘तीन महाशक्ति नेता’ हुन् त? अनि उनीहरूको भेटवार्ता दुःखान्तमा परिणत हुने सम्भावना बढी छ कि प्रहसनमा?

ट्रम्प संलग्न हुँदा प्रहसनको सम्भावना सधैँ बलियो हुन्छ। मार्क्सले दुःखान्त र प्रहसनबारे चर्चित टिप्पणी गरेको त्यही कृतिमा उनले यस्तो परिस्थितिबारे पनि चिन्तन गरेका थिए, जसले ‘एक हास्यास्पद रूपमा सामान्य व्यक्तिलाई नायकको भूमिका खेल्ने अवसर’ दिएको थियो। उनले संकेत गरेका सामान्य क्षमताका व्यक्ति फ्रान्सका नेपोलियन तृतीय थिए।

सेन्जेन सम्मेलनबाट दुःखान्त परिणाम निस्कन सक्ने सम्भावना पनि सहजै कल्पना गर्न सकिन्छ। परिस्थिति बिग्रिएमा तीनै नेताले एकअर्काका ‘मूलभूत हित’ लाई मान्यता दिने सहमति गर्न सक्छन्। यो चीनले निकै प्रयोग गर्ने शब्दावली हो।

उनीहरूले युक्रेन युद्धबारे रुसको दृष्टिकोण र ताइवानको भविष्यबारे चीनको धारणा अनुमोदन गर्न सक्छन्। ट्रम्पले इरानको मामिलामा केही सहयोग वा अमेरिकी अर्थतन्त्रका लागि केही उपलब्धि हासिल गर्न सक्छन्।

यद्यपि भेटवार्ताको छोटो अवधि र यसको संरचनालाई हेर्दा ठोस तथा नयाँ सम्झौता हुने सम्भावना कम छ। वास्तवमा आआफ्नै कारणले तीनै नेता सामूहिक तस्बिर खिचाउने प्रतीकात्मक उपलब्धिमै सन्तुष्ट हुन सक्छन्।

रुसले विश्वका प्रमुख शक्तिमध्ये आफ्नो हैसियत गुमाउँदै गएको छ भन्ने चिन्ता पुटिनलाई लामो समयदेखि छ। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले एकपटक अन्तर्राष्ट्रिय जमघटमा रुसी नेता पुटिन कक्षाकोठाको पछिल्लो बेन्चमा बसेको दिक्क लागेको विद्यार्थीझैँ देखिने टिप्पणी गरेका थिए।

त्यसैले विश्वका दुई ठूला शक्ति अमेरिका र चीनका नेतासँगै उभिएको रुसी राष्ट्रपतिको तस्बिर पुटिनका लागि ठूलो प्रतीकात्मक उपलब्धि हुनेछ।

शक्तिको प्रतीकात्मक प्रदर्शन सीका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। उनले ‘चिनियाँ जनताको महान् पुनर्जागरण’ लाई आफ्नो मुख्य राजनीतिक नारा बनाएका छन्। आगामी वर्ष चिनियाँ कम्युनिस्ट पार्टीको नेताका रूपमा चौथो कार्यकाल सुरक्षित गर्ने उनको स्पष्ट अभिलाषा छ।

सीको घरेलु राजनीतिक वैधता र अन्तर्राष्ट्रिय छवि एकअर्कासँग गहिरोसँग जोडिएका छन्। अमेरिकी र रुसी राष्ट्रपतिबीच केन्द्रमा रहेर उदार मेजबानका रूपमा प्रस्तुत भएको उनको तस्बिरले यी दुवै पक्षलाई बल पुर्‍याउन सक्छ।

अमेरिकाको मध्यावधि निर्वाचनमा बेहोरेको अपमानजनक पराजयपछि ट्रम्पले पनि विश्वमञ्चमा आफ्नो शक्ति र हैसियत पुनः स्थापित गर्ने अवसरलाई उपयोग गर्न चाहन सक्छन्। भ्रमणमा आउने विश्व नेताहरूको अहम् सन्तुष्ट पार्न चिनियाँ सरकार निकै सिपालु छ।

अवश्य पनि तस्बिर खिचाउने अवसरले थप ठोस उपलब्धिको रूप लिन सक्ने सम्भावना सधैँ रहन्छ, विशेषगरी बैठक निर्धारित समयभन्दा लम्बिएमा। पुटिनले युक्रेनको विषयलाई छलफलको कार्यसूचीमा राख्ने प्रयास गर्न सक्छन्। पुटिनसँग कुराकानी गरेपछि युक्रेनबारे रुसी दृष्टिकोणतर्फ ढल्किने ट्रम्पको विगतको व्यवहार पनि छ।

त्यसैगरी सीसँगका अघिल्ला भेटपछि ट्रम्पले ताइवानबारे चिनियाँ पक्षका तर्क दोहोर्‍याएका छन्। उदाहरणका लागि गत मेमा उनले ताइवानलाई अस्थिरता निम्त्याउने गरी स्वतन्त्रताका लागि दबाब नदिन चेतावनी दिएका थिए।

ट्रम्पका अभिव्यक्ति यति अस्थिर छन् र तिनलाई सहजै उल्ट्याउन सकिन्छ कि तिनले विगतका अमेरिकी राष्ट्रपतिका घोषणाजस्तो महत्त्व राख्दैनन्। सेन्जेनमा उनले अप्रत्याशित सहुलियत दिए पनि उनका सहयोगी र समर्थकले पछि त्यसको प्रभाव घटाउने सम्भावना छ।

ट्रम्पले आणविक निशस्त्रीकरणबारे छलफल गर्न चाहेको बताएका छन्। मुख्य आणविक हतियार नियन्त्रण सन्धिहरूको अवधि समाप्त भइसकेकाले यो महत्त्वपूर्ण विषय हो। आणविक हतियार रुसको पनि प्रिय विषय हो। किनभने विश्वकै सबैभन्दा ठूलो आणविक हतियार भण्डार उसको हातमा छ, जुन महाशक्तिको हैसियत दाबी गर्ने उसका थोरै आधारमध्ये एक हो।

तर आफ्नो तुलनात्मक रूपमा सानो आणविक हतियार भण्डार तीव्र गतिमा बढाइरहेको चीनले अहिले आणविक हतियार सीमित गर्ने वार्तामा रुचि नरहेको स्पष्ट पारिसकेको छ। त्यसैले यस विषयमा कुनै महत्त्वपूर्ण सहमति हुने सम्भावना छैन।

चिनियाँ कूटनीतिक शैली खुला र स्वस्फूर्त छलफल तथा अप्रत्यासित परिणामबाट टाढै रहने खालको छ। पूर्वतयार कार्यसूची र भाषणबाट विचलित नहुने सीको चाहना पनि शेन्जेनमा हुने त्रिपक्षीय बैठकबाट विश्वव्यापी प्रभाव पार्ने नतिजा ननिस्कने अर्को कारण हो।

तर सन् १९४५ को तीन महाशक्ति नेताहरूको बैठकसँग अहिलेको भेटवार्ताको तुलना भ्रामक हुनुको सबैभन्दा महत्त्वपूर्ण कारण नेताहरूको व्यक्तित्वभन्दा धेरै पर छ। हामी अहिले बिल्कुलै फरक समय र परिस्थितिमा बाँचिरहेका छौँ।

याल्टामा चर्चिल, रुजवेल्ट र स्टालिन विश्वव्यवस्थालाई नै नयाँ आकार दिइरहेको विश्वयुद्धका बीच भेटेका थिए। बेलायती र अमेरिकी सेना जर्मनीभित्र प्रवेश गरिसकेका थिए। रुसी सेना तीन महिनाभन्दा कम समयमै बर्लिन पुग्दै थियो। अमेरिकाले पहिलो आणविक बम खसाल्न अब छ महिना मात्र बाँकी थियो।

यसको विपरीत आजका ‘तीन महाशक्ति नेता’ विश्वमाथि आफ्नो इच्छा लाद्न त्यति सक्षम देखिँदैनन्। अमेरिकाले अफगानिस्तानमा तालिबानलाई पराजित गर्न नसकेपछि इरानलाई पनि हराउन सकेको छैन।

चार वर्षभन्दा बढी समयदेखि जारी निर्मम युद्धमा-स्टालिनलाई बर्लिन पुग्न लागेको समयभन्दा पनि लामो अवधि बितिसक्दा-पुटिनका सेना अझै पूर्वी युक्रेनमै अल्झिएका छन्। उता चीनबाट करिब १६० किलोमिटर टाढा रहेको दुई करोड ३० लाख जनसङ्ख्याको टापु ताइवानलाई कसरी आफ्नो नियन्त्रणमा ल्याउने भन्ने उपाय सीले अझै निकाल्न सकेका छैनन्।

अहिले हामी यस्तो युगमा छैनौँ, जहाँ ‘तीन महाशक्ति नेता’ ले बाँकी विश्वमाथि आफ्नो सर्त लाद्न सकून्।

प्रकाशित: १ मंसिर २०८३ १६:१५ | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast