काठमाडौँ महानगर प्रमुख शाह र बागमती प्रदेशमन्त्री चित्रकारबीच जुहारी

हिमाल प्रेस २ पुष २०८० ११:३२
8
SHARES
काठमाडौँ महानगर प्रमुख शाह र बागमती प्रदेशमन्त्री चित्रकारबीच जुहारी

ललितपुर- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारबीच जुहारी चलेको छ। ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा शाह र चित्रकारबीच सवालजबाफ भएको हो।

विषय हो, काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन। महानगरले काठमाडौँमा यातायात व्यवस्थापन गर्न खोज्दा बागमती प्रदेश सरकारले मुद्दा लगाएको छ। काठमाडौँका प्रमुख शाहले प्रदेश सरकारले यातायात सञ्चालनमा मुद्दा लगाएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘प्रदेशले त्यसरी मुद्दा हालिदिनुभएन, स्थानीय सरकारले गरिरहेको काममा। त्यस्तो कुरा सहकार्य गर्दै जानुपर्छ।’ प्रमुख शाहले संघ र प्रदेशले गर्ने काम स्थानीय तहले गर्दैछ भने संघ र प्रदेश खुसी हुनुपर्नेमा जोड दिए। उनले भने, ‘कसैको काम गरिदिनु भनेको कसैको अधिकार खोस्नु होइन भन्ने कुरा तीनै तहको सरकारले बुझ्नुपर्छ।’

मन्त्री चित्रकारले संविधानविपरीत भएकाले मुद्दा हालेको स्पष्ट पारे। ‘काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनका लागि संघीय सरकारले कानुन र ऐन बनायो। तर संविधानतः यातायातको सम्पूर्ण अधिकार त प्रदेश सरकारलाई दिएको छ।’

एकल अधिकारअन्तर्गत संविधानले यातायातको सबै अधिकार प्रदेश सरकारलाई दिएको उनले स्मरण गराए। मन्त्री चित्रकारले भने, ‘संघीय सरकारले काुनन बनाउँछ। प्रदेश सरकारलाई नचिनेको ढंगले अगाडि बढ्छ। अनि संघीयता कसरी बलियो हुन्छ। बाध्य भएर प्रदेश सरकारले मुद्दा हालेकै हो।’

उनले प्रदेश सरकारले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनमा काम गर्न पाएमा राम्रो ढंगले गर्ने दाबी गरे। ‘संविधानले व्यवस्था गरेको विधि र पद्धतिअनुसार अघि बढ्नुपर्छ भनेर संघीय सरकारको ध्यानाकर्षण गर्न खोजेका हौँ। मुद्दा काम असफल बनाउनका लागि होइन’, चित्रकारले भने। उनले प्रदेशको सरकारलाई बलियो नबनाउने हो भने संघीयता नरहने बताए।

काठमाडौँका प्रमुख शाहले केही नीतिहरू संघीय कानुन र स्थानीय कानुनसँग बाझिएकाले काम गर्न समस्या रहेको बताए। सोही कारण कतिपय काममा संघीय सरकारले बाधा उत्पन्न गरेको गुनासो उनको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा शाहले भने, ‘स्थानीय सरकार एक्लैले गर्न सक्ने काममा संघीय सरकारले बाधा उत्पन्न गरेको छ। त्यसलाई फुकाइदिन प्रधानमन्त्रीलाई आग्रह गर्दछु।’ यसैगरी उनले प्रधानमन्त्री प्रचण्डलाई खोला अतिक्रमण अन्त्य गर्न पनि आग्रह गरे। ‘सम्माननीयज्यूले चाहनुभयो भने यहाँबाट अर्को कार्यक्रममा पुग्दासम्म अतिक्रमणको समस्या समाधान हुन सक्छ’, शाहले भने।

प्रधानमन्त्री प्रचण्डले आफूले सहयोग गर्न खोज्दा काठमाडौँ महानगरका प्रमुख शाह सकारात्मक नभएको भन्दै असन्तुष्टि पोखे। उनले भने, ‘बालेन्द्रजी तपाईँले चाहे बागमतीको हस्तक्षेप, तीनकुनेको कुरा, फोहोर व्यवस्थापनमा मिलेर काम गर्न कतिपटक सिंहदरबारमा बैठक बस्यो?’  उनले ललितपुर र भक्तपुरलाई समेत समन्वय गर्न बालेन्द्रको बढी जिम्मेवारी रहेको प्रधानमन्त्रीको भनाइ थियो। प्रधानमन्त्री प्रचण्डले बालेन्द्रले आफ्ना कुरा राखेर हिँडेको तर आफूले बोलेका कुरा नसुनेको भन्दै असन्तुष्टि जनाए। उनले भने, ‘पहिला बोलेर हिँड्नेसँग अलिअलि इरिटेसन हुन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 17 =