अराजक बालेन : नेताहरूलाई ‘चोर’ को आरोपदेखि अदालतको आदेश नमान्नेसम्मको धम्की

हिमाल प्रेस ७ असार २०८० २०:१७
52
SHARES
अराजक बालेन : नेताहरूलाई ‘चोर’ को आरोपदेखि अदालतको आदेश नमान्नेसम्मको धम्की

काठमाडौँ- काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले बिहीबार अपराह्न साढे २ बजे सामाजिक सञ्जालमा अदालतविरोधी अभिव्यक्ति पोस्ट गरेर आफूलाई विधिको शासन, मानवअधिकार र राज्यशक्तिको ज्ञान शून्य रहेको प्रमाणित गरेका छन्। उनी मुलुकको प्रचलित कानुन र संविधानको मर्ममाथि नै प्रहार हुने गरी अदालतविरुद्ध प्रस्तुत भएका हुन्।

उनले भनेका छन्, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन।’ उनको यो अभिव्यक्ति विवादास्पद भारतीय फिल्म ‘आदिपुरुष’ सँग सम्बन्धित थियो।

केही दिनअघि उनले फिल्ममा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद रहेको भन्दै महानगरका हलमा प्रदर्शनमा रोक लगाएका थिए। त्यस्ता संवाद हटाउनुपर्ने उनको सर्त थियो।

काठमाडौँमा हिन्दी चलचित्र प्रदर्शनमा रोक नलगाउनू भन्ने उच्च अदालत पाटनको अन्तरिम आदेश भइसकेको छ। उच्च अदालत पाटनले हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

बालेन भने कुनै पनि हालतमा काठमाडौँ महानगरपालिकाभित्रका हलमा हिन्दी फिल्म चल्न दिने पक्षमा छैनन्। त्यसो त विवादास्पद फिल्म ‘आदिपुरुष’ माथि उनको टिप्पणी पनि विवादास्पद छ। आदिपुरुषले देशको सार्वभौमिकता र स्वाधीनतामा कसरी आँच पुर्‍यायो भन्ने स्पष्ट पार्नचाहिँ सकेका छैनन्।

एक साताअघि फिल्ममा ‘जानकी भारतीय छोरी हुन्’ भनेका बालेनले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ।’ साथै उनले यो कुरालाई नेपाल सरकारले ‘स्टन्ट’ भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो अनि अदालत र सरकार भारतको गुलाम भएको बुझिने दाबी गरेका छन्। बालेनले भनेका छन्, ‘यसका लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन।’  बालेन संविधानअनुसार निर्वाचित जनप्रतिनिधि हुन्।

बालेन विवादमा तानिएको अर्को प्रसंग हो- सिंहदरबारमा फोहोर नउठाउने महानगरको निर्णय। जनताकै हितका लागि काम गर्दा केन्द्र सरकारले आफूलाई पटकपटक असहयोग गरेको आरोप लगाउँदै गत चैत २५ गते बालेनले सामाजिक सञ्जालमार्फत मुख्य प्रशासनिक निकाय सिंहदरबार लगायतको फोहोर नउठाउने घोषणा गरेका थिए।

सर्वोच्च अदालतले तीन दिनभित्र सबै फोहोर व्यवस्थापन गर्न आदेश जारी गरेपछि बालेन पछि हटेका थिए। आदेशपछि उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘सम्मानित अदालतले दिएको आदेशको परिपालना गर्ने सन्दर्भमा हामी प्रस्ट, प्रतिबद्ध र दृढ छौँ। तर सम्मानित अदालतका फैसला, आदेश र निर्देशनहरू काठमाडौँ महानगरले मात्रै होइन, संघीय सरकारलगायत सबैले दृढतापूर्वक पालना गर्न आवश्यक छ।’

फोहोरकै सन्दर्भमा बालेनले सिंहदरबार र राजधानी अन्य सार्न चेतावनी दिएका मात्रै थिएनन् नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने अभिव्यक्ति पनि दिएका थिए। उनले चैत २५ गते सामाजिक सञ्जालमा लेखेका थिए, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ।’

साथै उनले काठमाडौँको हितमा काम नगर्ने भए सिंहदरबार अन्यत्रै सार्न चेतावनी दिएका थिए। उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘कि काठमाडौँको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस्। हामी काठमाडौँवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्।’

यस क्रममा उनले बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गरेको स्पष्टीकरण दिएका थिए। उनले भनेका थिए, ‘सिंहदरबार काठमाडौँ महानगरमै पर्छ। अझ महानगरको कार्यालयबाट ५०० मिटरको दूरीमा सिंहदरबार सुरु हुन्छ। यति हुँदा पनि सिंहदरबारमा बसेको सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नुपर्छ। सिंहदरबारले जनजीविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस हुन्न।’ उनले सिंहदरबारसँग समन्वय गर्न र समन्वय भएका कुरा कार्यान्वयन गर्न मुस्किल परेको १४ वटा बुँदा सार्वजनिक गरेका थिए।

असोज ५ गते पनि उनले अदालतविरोधी अभिव्यक्ति दिएका थिए। सन्दर्भ थियो- टुकुचालाई खुला रूपमा बग्न दिने महानगरको प्रयास। उनले भनेका थिए, ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ, अदालतले टुकुचा (इछुमती) नदीलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ?’

बालेनका यसअघि सार्वजनिक केही अभिव्यक्ति हेर्ने हो भने पनि उनी आफूमात्रै सर्वेसर्वा हुँ भनेझैँ गरी प्रस्तुत भइरहेका छन्। एउटा अभिव्यक्ति हो- बजेटबारे उनको टिप्पणी। आगामी आवको बजेटमा सांसद विकास कोषलाई ब्युँत्याएपछि उनले भनेका थिए, ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरू वडा अध्यक्षको लेभलमा आउनुभयो। वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीयज्यूहरू।’ उनको यो अभिव्यक्ति सत्तामा रहेका सांसदहरूमाथि लक्षित थियो।

बालेनले नयाँ पुराना सबै दलका नेतामाथि आक्रोश व्यक्त गर्दै आएका छन्।  केही साताअघि भुटानी शरणार्थी प्रकरणमा नेताहरू पक्राउ परेपछि रास्वपाका सभापति रवि लामिछाने भ्रष्टाचारको विरोधमा नागरिक समाजसँग मिसिएर प्रदर्शनमा सहभागी भएका थिए। रविको त्यो कार्यशैली बालेनलाई चित्त बुझेनछ। उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘तपाईंहरूलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन। सीधै कारबाही गर्नलाई हो, सीधै कारबाही गर्ने नीति बनाउनलाई हो।’ साथै उनले दलका नेताहरू सबैलाई ‘चोर’को आरोप लगाएका थिए। उनले भनेका थिए, ‘नयाँ पुरानो सबै नेताहरू चोर हुन्। कसैलाई देशको माया छैन।’

पुसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएपछि उनले जनता सधैँ सास्तीमा रहेको अभिव्यक्ति दिएका थिए। राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनवटै दल सरकारमा रहेको उनको भनाइ थियो। त्यति बेला प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा, एमालेलगायतका दल सहभागी भएका थिए। बालेनले भनेका थिए, ‘राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनवटै सरकारमा। हामी प्रजा सधैँ सास्तीमा।’

बालेनले नवनिर्वाचित सांसदको पनि आलोचना गर्न बाँकी राखेनन्। मंसिरमा सम्पन्न निर्वाचनमा निर्वाचित सांसदहरूलाई उनले नयाँ गफाडीको संज्ञा दिएका थिए। उनले भनेका थिए- नयाँ सांसदहरू, नयाँ गफाडीहरू! उही पुरानो देश। उही पुराना व्यापारीहरू।

काठमाडौँको तीनकुने व्यवस्थित नगरिएको विषयमा उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेका थिए।

असोज १ गते उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘आदरणीय माधव नेपालज्यू तथा सम्माननीय राष्ट्रपतिज्यू, प्रधानमन्त्री बन्नुभयो, राष्ट्रपति बन्नुभयो। आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैँले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन। अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ?’

माओवादीका कार्यकर्ताले सिसडोलमा फोहोर लैजान अवरोध गरेपछि प्रमुख बालेन अध्यक्ष प्रचण्डमाथि खनिएका थिए। उनले प्रचण्डलाई देश बनाउँछु भन्ने नैतिकता पनि नरहेको बताएका थिए। बालेनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘श्रीमान् प्रचण्डज्यू! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अंगरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर?’

बालेन संघीयताप्रति पनि सकारात्मक छैनन्। मिटरब्याजपीडित राजधानीको माइतीघरमा धर्नामा बसेका बेला उनले भनेका थिए, ‘पीडितहरूले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ।’

बालेनमाथि सामाजिक सञ्जालमा अराजक अभिव्यक्ति दिएर आलोकाँचो व्यवहार प्रदर्शन गरेको आरोप लाग्ने गरेको छ। सञ्जालमा आएका टिप्पणीमा हौसिनु, आफूलाई लागेका कुरा महानगरको आधिकारिक विज्ञप्तिमार्फत व्यक्त नगर्नु, विकास निर्माण र सार्वजनिक सरोकारका विषयमा जिज्ञासा राख्न खोज्दा सञ्चारकर्मीको सम्पर्कमा आउन नचाहनु बालेनको आत्मरतिबाहेक केही होइन।

प्रकाशित: ७ असार २०८० २०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 10 =