शोकलाई शक्तिमा बदलेर सांसद बनेका सुहाङ

किरण पौडेल १८ वैशाख २०८१ १८:३०
38
SHARES
शोकलाई शक्तिमा बदलेर सांसद बनेका सुहाङ

काठमाडौँ- इलामको प्रतिनिधिसभा २ मा सुहाङ नेम्बाङ निर्वाचित भएका छन्। नेपाली कांग्रेसका प्रतिद्वन्द्वी डम्बर खड्कालाई हराउँदै सुहाङले संसद्‌को यात्रा तय गरेका हुन्। सुहाङको यात्रा धेरैलाई अनौठो लागे पनि कतिपयलाई सहज नै लागेकाे छ। खासमा इलामको यो चुनाव सहज र खुसीको थिएन। २०८० भदौ २६ मा प्रतिनिधिसभा सांसद एवं पूर्वसभामुख सुवास नेम्बाङको निधनपछि चुनाव गर्नुपर्ने बाध्यता आइलागेको मात्र हो।

सुवासको निधन र त्यो सँगैसत्ता गठबन्धनमा फेरबदलले पनि इलामको राजनीति पेचिलो नै थियो। निर्वाचनको समयमा यही पेचिलो राजनीतिले रोचक मोड लियो। २०७९ सालमा सुवास लडेको क्षेत्रमा उनकै छोरा सुहाङले उपनिर्वाचन लड्नुपर्‍यो। सुवाससँग चुनाव हारेका नेपाली कांग्रेसका डम्बर खड्का नै छोरा सुहाङका प्रतिस्पर्धी बने।

जब सुवासको निधन भयो त्यसबेला मात्र सुहाङ राजनीतिमा आए। तर तिनै सुहाङ मैदानमा उत्रिए चुनाव जिते। यसअघि राजनीतिमा समेत नआएका सुहाङ हठात् राजनीतिमा आउनुपर्ने भयो। सुवासको निधनका बेला सुहाङ नेपालमा पनि थिएनन्। निधन भएको खबरसँगै उनी नेपाल फिरेका हुन।

‘मलाइ बुवाको निधन भएको खबर आएको थियो। तर पत्यार लागिराखेको थिएन,’ सुहाङले भनेका थिए,‘मलाइ च्यासल जान अनुरोध गरिएको थियो। तर मलाइ अझै विश्वास लागिराखेको थिएन। यस्तो घटना कसरी भयोे।’ बाबुको निधनमा सुहाङ मर्माहत थिए। एकातिर सुहाङले अभिभावक गुमाउनु परेको थियो भने घर सम्हाल्नुपर्ने बाध्यता आइलागेको थियो। ‘हो, सबैथोक एकैपटक आइलागेको थियो। अब कसरी अघि बढ्ने सोच्न सक्ने अवस्था थिएन,’ सुहाङले भनेका थिए।

राजनीतिमा फड्को

सुवासको निधनपछि शोकसभामा सहभागी हुन सुहाङ इलाम पुगे। उनले इलामेलीलाई धन्यवाद थिए। ‘म मेरो बुवाको आदर्श बिर्सिन्न। बुवाले अगालेको बाटो हिँड्नेछु,’ सुहाङले शोकसभामा भनेका थिए,‘बुवाले पूरा गर्न नसक्नुभएको सामाजिक जिम्मेवारी पूरा गर्नेछु।’ शोकका बेला सुहाङले यस्तै भावको शब्द छाडे।

सुहाङ सुवासका कान्छा छोरा हुन्। उनले सुवासकै मार्ग लिएका थिए। सुवासजस्तै उनी कानुनका विद्यार्थी हुन्। उनी अधिवक्ता हुन्। पढाइ मात्र होइन सुहाङ बोलीचाली पनि सुवासजस्तै छ। कुनै कुरा ठ्याक्कै भनिहाल्दैनन्। घुमाउरो भाषामा उत्तर दिने शैली सुहाङको छ। नम्र र मलिन स्वाभाव नै सुहाङको एउटा राम्रो पाटो हो। यिनै स्वाभावले सुहाङ राजनीतिमा आउन बाध्य भए। ‘मलाइ बुवाले भन्नुभएको थियो। मपछि तिमीलाई राजनीतिमा छान्छन् भनेर,’ सुहाङले भनेका थिए,‘हाम्रा आदरणीय व्यक्तिले दिनुभएको जिम्मेवारी म पूरा गर्न चाहन्छु। यसमा आम इलामेली जनताको पनि साथ छ। म सबै जनताको नेता बनेको छु।’

सुहाङमा राजनीतिक चेत र इच्छा भएकै कारण राजनीतिमा अघि बढ्न सहज भएको सुहाङ राजनीतिक कमान्डर एवं सुहाङको परिवारलाई नजिकबाट बुझेका नेता कृष्ण काफ्ले सुनाउँछन्। ‘सुवास कमरेडको निधनपछि परिवारमा असहजता थियो। जुन कुरा कल्पना गर्न सकिँदैन। तर सधै त्यसै गरेर भएन। शोकलाई छल्दै परिवार अघि बढ्यो,’ काफ्लेलाई राजनीतिमा लाग्न अनुरोध गर्दा असहज नभएको काफ्लेको बुझाइ छ। ‘हो, त्यसबेला समस्या थियो। तर सुहाङलाई राजनीतिमा लाग्नुपर्छ भन्दा नाइँनास्ती गरेनन्। उनमा राजनीति चेत थियो।’

यसरी अघि बढ्यो एमाले

सुवासको निधनपछि नै इलाममा उपनिर्वाचनको चर्चा थाल्यो। इलाममा उठ्ने उम्मेदवारदेखि जित्ने उम्मेदवार आँकलन हुन थालेको थियो। यता विपक्षी कांग्रेस नेताहरू को उठ्ने भन्ने बार्गेनिङ गर्दैगर्दा एमालेबाट उठ्ने उम्मेदवार नै थिएन। लामो समय सुवासले राज गरेको क्षेत्रमा दोस्रो पुस्ता चुनावका लागि तयार थिएन। तर विस्तारै वातावरण बन्दै गयो। सुहाङ पनि गृहजिल्ला इलाममै रहन थाले। हुन त इलामका लागि सुहाङ नौलो नाम थिएन।

‘स्पोर्टिङ इलाम एफसी’लाई सन्चालन गरेका थिए। गएको सिजनमा यो टिमले लिग समेत खेलेको थियो। यो भन्दा बढी उनी सुवासकै छोराका नाममा परिचित थिए। उनी गाउँगाउँमा विभिन्न कार्यक्रममा पुगे। ‘म गाउँमा पुगिरहँदा त्यहाँ कतिपयले तपाई राजनीतिमा आउनुपर्छ भन्नुहुन्छ,’ सुहाङले त्यसबेला हिमाल प्रेससँग भनेका थिए,‘भोलिका दिनमा राजनीतिमा आएको देख्न चाहने धेरै हुनुहुँदो रहेछ। म त उहाँहरूको आर्शीवाद लिने मात्र हो।’

जिल्लामा सुहाङको उम्मेदवारीको दाबी आँकलन भइरहँदा उनी भने यसबारे खुल्दैन थिए। उनी एमाले पार्टी र एमाले नेताले भनेको कुरा मान्ने बताउँथे। जिल्लामा भने एमालेकै अन्य नेताहरू आकांक्षीका रूपमा अघि बढे। रबिन्द्र सुवेदी, बुद्धी खनाल, डा. देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराई आकांक्षी थिए। जिल्लाबाट यिनै दाबेदारको नाम सिफारिस भयो। जसमा सुहाङको नाम पनि थियो। जिल्लासँगै प्रदेशबाट पनि सिफारिस ग¥यो। गएको चैत ११ गते एमालेको केन्द्रीय सचिवालयबाट सुहाङलाई उठाउने निर्णय ग¥यो। आकांक्षीहरूले केही असन्तोष देखाए। तर पार्टीको निर्णय मान्दै सुहाङ जिताउने अभियानमा लागे।

सहजतातिर धकेलिएको सुहाङको यात्रा

एमालेको राजनीतिमा अनेक प्रश्न थिए। एकातिर पहिचानविरोधीको आरोप लगाइएको थियो भने अर्कातिर ‘प्रतिगमनकारी’को संज्ञा दिइएको थियो। तर केन्द्रीय सत्ता समीकरण बदलिएको थियो। एककिसिमले एमाले र सुहाङलाई सहज हुँदै थियो।

एमालेको उम्मेदवारलाई माओवादी केन्द्रले समेत सहयोग गर्ने भयो। इलाममा माओवादी तेस्रो शक्ति हो। गएको प्रतिनिधिसभा निर्वाचनमा माओवादीले ५ हजार मत समानुपातिकमा ल्याएको थियो। सहज के भयो भने गएको चुनावमा कांग्रेसलाई सहयोग गरेको माओवादी एमालेतर्फ आयो।

यता गएको चुनावमा कांग्रेसलाई नै सहयोग गरेको एकीकृत समाजवादीले फाल्टै उम्मेदवार उठायो। यसले पनि सुहाङको चुनावी रणनीति केही सहज भयो। ‘समाजवादीले कांग्रेसलाई सहयोग गरेको भए कांग्रेसको मत बढ्थ्यो,’ एमालेका एक नेताले भने,‘फाल्टै उम्मेदवार उठाउँदा सहज भयो।’ यता माओवादीले पनि वाम एकताका लागि समीकरण भन्दै सुहाङलाई सहयोग ग¥यो।

‘वाम ध्रवीकरणका लागि हामी मिल्नुको विकल्प थिएन।’ माओवादी नेता धीरेन्द्र शर्मा ‘रमण’ले भने,‘हामी जनताका लागि काम गर्ने पार्टीका कार्यकर्ता हौँ। केन्द्रले भनेको मान्छौँ÷मान्यौ।’ रमण यही कारण आफूहरूसँग भएको सबै मत सुहाङलाई गएको बताउँछन्। यता सुहाङलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र परिवार दलले समेत समर्थन गरे। त्यसै पनि सुहाङ अंक गणितमा अगाडि थिए। सोही क्षेत्रमा गएको चुनावमा समानुपातिक मतमा एमाले अघि थियो। २६ हजार ५६२ मत ल्याएको एमाले पहिलो हुँदा दोस्रो भएको कांग्रेसको २२ हजार ३३३ मात्र थियो। माओवादी केन्द्रको ५ हजार १५३ मत थियो। यसैले पनि सुहाङलाई असहजता थिए।

यस्तो थियो एमालेको रणनीति

सुहाङलाई सफल बनाउन चुनावी कमान्डर तोकिएकी थिइन्, एमाले नेतृ शिवमाया तुम्बाहाम्फे। उनकै नेतृत्वमा अघि बढ्यो एमाले। ‘हामीले प्राविधिक र भौतिकरूपले कसरी अघि बढ्न सकिन्छ भनेर बुझिरह्यौ,’ चुनावी कमान्डमा सहभागी कृष्ण काफ्ले भन्छन्,‘हाम्रो क्षेत्र अरू ठाउँजस्तो होइन। ०६४ को चुनावमा पनि यहाँ पुरानै शक्तिले जितेका थिए। यसैले नयाँ शक्तिले बर्चस्व जमाउँदैन भन्नेमा हामी विश्वस्त थियौ।’ काफ्लेका अनुसार एमालेको प्रतिस्पर्धी कांग्रेस हुने निश्चित थियो।

यसमा पनि एमालेले आमसभा र ठूला कार्यक्रमलाई कम प्राथमिकता दियो भने घरदैलो कार्यक्रमलाई प्राथमिकता दियो। विपक्षीलाई गाली नगर्ने र आफ्ना कुरा मात्र राख्ने रणनीति अपनाएको थियो। धेरै नेता परिचालन नगरी अघि बढ्ने र भाषणका कार्यक्रम क मगर्ने रणनीति थियो। एमालेभित्रको आन्तरिक द्वन्द्व कम गर्ने र विपक्षी दललाई नचिढ्याउने रणनीति थियो। ‘यो भन्दा अझ राम्रो मत ल्याउन सकिन्थ्यो। हाम्रो मत धेरै थियो,’ माओवादी नेता रमण भन्छन्,‘हामीले पार्टीको तल्लो स्तरमा काम गरिह्यौ।’

एमाले गठबन्धनले केन्द्रको निर्देशन भन्दै माओवादी र नेकपाका सबै जिल्लाका भ्रातृ संगठनलाई तालमेलको विज्ञप्ती निकाल्न लगाएको थियो। यही कारण एमाले सफल भएको नेताहरूको दाबी छ।

प्रकाशित: १८ वैशाख २०८१ १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =