काठमाडौँ महानगरमा बालेनको १० महिना : प्रशंसाभन्दा आलोचना बढी

सुरञ्‍जन घिमिरे १६ फागुन २०७९ १२:५१
100
SHARES
काठमाडौँ महानगरमा बालेनको १० महिना : प्रशंसाभन्दा आलोचना बढी

काठमाडौँ– बालेन्द्र शाह (बालेन)ले काठमाडौँ महानगरपालिकाको नेतृत्व सम्हालेको मंगलबार १० महिना भएको छ। स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर महानगर प्रमुखमा निर्वाचित हुँदा शाहप्रति महानगरवासी निकै आशावादी देखिएका थिए।

जेठ १६ गते पदबहाली गरेका शाहको प्रशंसा गर्नेको जमात बाक्लै थियो। सहर सुन्दर र बस्न लायक बनाउने उनको भनाइमा टिप्पणी गर्ने कमै हुन्थे। बालेन आफैँ इन्जिनियर भएकाले केही नयाँ गर्लान् भन्ने आशा गर्ने धेरै थिए। अवैध संरचनामा भत्काउँदा उनीमाथि महानगरवासीले जति भरोसा देखाएका थिए, फुटपाथ व्यापारी र सुकुमवासी बस्तीमा डोजर चलाउन थालेपछि भने उनीमाथि सामाजिक न्यायविरुद्ध उत्रिएको आरोप लाग्न थाल्यो।

सहर सुन्दर बनाउने नाममा सामाजिक न्यायविरुद्ध उभिएको, फुटपाथका व्यापारीलाई सहरमा स्थान नदिइएको, विपन्नको रोजीरोटी खोस्न खोजेको भन्दै उनको आलोचना भइरहेको छ। पछिल्ला दिनमा भने नगरवासीहरू सडकमै उत्रिएर बालेनविरुद्ध प्रदर्शन गर्न थालेका छन्।

संघीय राजधानी काठमाडौँका फुटपाथका व्यवसायीलाई गरिखान नदिएको, होर्डिङ बोर्ड, पार्किङ व्यवस्थापन तथा अवैध संरचना हटाएर व्यापारीलाई चिढ्याएको, बागमती किनाराका सुकुमवासी बस्तीमा डोजर चलाएर बिल्लीबाठ बनाउन खोजेको जस्ता आरोप बालेनले सहनुपरेको छ।

सोमबार मात्रै दरबारमार्ग क्षेत्रका व्यवसायीले आफ्ना पसलका सटर बन्द गरेर कालो ब्यानर राख्दै सडक प्रदर्शनमा उत्रिए। पार्किङ गर्ने व्यवस्थालाई उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाले पहिले सञ्चालन भइरहेको पार्किङ हटाएपछि विरोध गरेका हुन्।

दरबारमार्ग विकास बोर्डका सचिव उद्धव ढकालले महानगर जबरजस्ती पार्किङ हटाएसँगै दरबारमार्गको व्यापारी ६० प्रतिशतले गिरावट आएकाले विरोध गर्न बाध्य भएको बताए। उनले दरबारमार्गका व्यवसायीले महानगरलाई प्रत्येक महिना ९ करोड रुपैयाँ बुझाउने र हजारौँलाई रोजगारी दिए पनि महानगरले पार्किङ हटाएकाले व्यवसाय धराशयी बनेको गुनोसो गरे।

यस्तै काठमाडौँ उद्योग व्यापार संघले मेयर बालेनमाथि शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ। एमालेका महेश बस्नेतले त अन्तर्राष्ट्रिय मिसनबाट परिचालित भएको भनेर बालेनमथि पहिल्यै खनिएका हुन्।

सडक विस्तार पीडित संघर्ष समितिका नेता सुमन सायमी बालेन पहिलेका शासकभन्दा पनि निरंकुश भएको आरोप लगाउँछन्।

बालेन राजनीतिमा अनुभवी होइनन्। बलियो संगठन बनाएर चुनाव जितेका पनि होइनन् उनले। राजनीतिक दलहरूप्रति वितृष्णा हुँदा उनले महानगरवासीको मत पाएको घामजत्तिकै छर्लंग छ। त्यसैले बालेनको आलोचना गर्नेमा राजनीतिक दल निकट व्यक्ति बढी छन्। तर उनले आफूमाथि भइरहेको आलोचनाको खण्डन गर्न आवश्यक ठान्दैनन्। न त मिडियामैत्री छन्। उनी आफ्ना कुरा सामाजिक सञ्जालमार्फत व्यक्त गर्छन्। हुन त उनलाई सामाजिक सञ्जालकै कारण चुनाव जितेका भन्नेहरू पनि छन्। यति हुँदाहुँदै पनि बालेनले महानगरको कुर्सीमा बसेपछि महानगरमा देखिने गरी केही काम भएका छन्।

फुटपाथ र पार्किङ व्यवस्थापन

काठमाडौँका फुटपाथ अचेल त्यति अव्यवस्थित छैनन्। विगतमा साँझबिहान नयाँ बानेश्वर, न्युरोड, असन, इन्द्रचोक, रत्नपार्क, वीर अस्पतालअगाडिसहित सहरका फुटपाथ पैदल यात्रीका लागि सहज थिएन। व्यापारीहरूले सडक ढाक्दा आवतजावतमा कठिन हुन्थ्यो। सोमबार नयाँ बानेश्वर सडकमा भेटिएका पैदल यात्री रामशरण शर्माले भने, ‘फुटपाथमा निर्धक्कसँग हिँड्न पाएका छौँ। यसअघि साँझबिहान हिँड्न सजिलो थिएन।’

महानगरमा पछिल्ला दिनमा सवारीसाधनको पार्किङ व्यवस्थापन भएको छ। असनको व्यस्त चोकमा जथाभाबी पार्किङ हुँदा पैदल हिँड्न सकस हुन्थ्यो। महानगरले खुला स्थानमा कुनै पसल नराख्न, व्यापार नगर्न र मोटरसाइकल, साइकल पार्किङमा कडाइ गरेपछि असनले सास फेर्न पाएको स्थानीयवासी बताउँछन्। महाबौद्ध, न्युरोड, कमलाक्षी, वसन्तपुर, ठमेल, दरबारमार्ग क्षेत्रमा पार्किङ समस्या देखिँदैन।

अनधिकृत संरचनामा डोजर, होर्डिङ बोर्ड विस्थापन

महानगर क्षेत्रका अनधिकृत संरचना हटाएर सहरी सौन्दर्य बढाएको भन्दै बालेनको प्रशंसा हुने गरेको छ। त्यसो त अनधिकृत संरचनामा डोजर चलाउँदा बालेनले आलोचना पनि धेरै खपेका छन्। सहरी क्षेत्रका पसल-बजारको रूप नै बिग्रने गरी राखिएका साइनबोर्ड अचेल देखिँदैन।

नयाँबानेश्वर, देवी नगर, शंखमूल, वनस्थलीलगायत क्षेत्रमा अनधिकृत संरचना भत्काइएको छ। रत्नपार्क-भोटाहिटीको अन्डरपासमा रहेका पसल र सिँढीमाथि बनाएको भवन भत्काएपछि भीडभाड हटेको छ। यस्तै ताल, पोखरी, कुवाजस्ता सम्पदा मासेर बनाइएका संरचना भत्काउने क्रम जारी नै छ। यस्ता कार्यबाट सम्पदा संरक्षणमा सघाउ पुग्ने कतिपयको बुझाइ छ।

सुन्धारामा रहेको काठमाडौँ मल र नयाँबानेश्वरको अल्फा हाउसमा डोजर चलाउँदा बालेनले अवरोध खेप्नुपरेको थियो। उनीमाथि एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलगायतले डोजर आतंक रोकेरै छोड्ने चेतावनी दिएका थिए।

व्यापारिक कम्प्लेक्स र पसलमा महानगरबाट स्वीकृत नलिई लगाइएका होर्डिङ बोर्ड र साइन बोर्ड कमै मात्र देख्न पाइन्छ। त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल डिस्प्ले बोर्ड भने महानगरले हटाउन सकेको छैन। सर्वोच्च अदालतले बोर्ड नहटाउन र विज्ञापन नगर्न अन्तरिम आदेश दिए पनि सो बोर्डमा विज्ञापन भइरहेको छ।

नगर प्रहरीको स्तरोन्नति

महानगर प्रहरीको स्तरोन्नति भएको छ। प्रमुख बालेनले ‘हामी संघीय प्रहरीभन्दा कम देखिनु हुन्न’ भन्दै महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई संगठन सुधारको निर्देशन दिएका थिए। महानगर प्रहरी पूर्वप्रमुख धनपति सापकोटालाई बालेनले बर्खास्त गरेर पाण्डेलाई प्रमुख नियुक्त गरेका हुन्।

फोहोर व्यवस्थापन र सडक सरसफाइ

बालेनले काठमाडौँमा उत्सर्जन हुने फोहोर व्यवस्थापनमा पनि सुधारका केही काम गरेका छन्। कुहिने र नकुहिने फोहोरलाई स्रोतमै वर्गीकरण गर्न थालिएको छ। यस्तै काठमाडौँको फोहोर विसर्जनका लागि नुवाकोटस्थित सिसडोलसम्म लैजान सवारीसाधनको व्यवस्थापनमा पनि भएको छ।

बालाजुदेखि मुड्खु हुँदै नुवाकोट जाने सो सडकमा शारदा अधिकारीको निर्माण कम्पनीले काम गरिरहेको छ। तर पनि महानगरपालिकाले फोहोर बोकेका ट्रिपर सिसडोलतर्फ पठाउँदै आएको छ।

यस्तै उपमेयर सुनिता डंगोलको अगुवाइमा माछामासु, दहीदूध पसलहरूको अनुगमनमा कडाइ गरिएको छ। साथै कामनपाले नो हर्नलाई प्रभावकारी कार्यान्वयन गरेको छ। यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी कार्यालयको समन्वयमा कामनपाले सार्वजनिक सवारीसाधनमा स्टिकर टाँस्नेलगायतका काम गरेर नो हर्न कार्यक्रमको निरन्तर कार्यान्वयनमा जोड दिएको छ।

बालेनले केही काम गर्न खोजे पनि उनले सफलता भने पाउन सकेनन्। टुकुचा खोला, सुकुमवासी बस्ती हटाउनेलगायत काममा उनी असफल रहे।

टुकुचा खोतले, हटेन संरचना

बालेनकै पहलमा जय नेपाल हल छेउ डोजरले खोतलेर टुकुचा बगेको ठाउँ फेला परेको छ। यद्यपि त्यहाँका अनधिकृत संरचना हटाउने प्रक्रिया अघि बढेको छैन। साथै टुकुचा नदी थप खोतल्न पहल हुन सकेको छैन।

सुकुमबासी बस्ती हटाउने योजना विफल

थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाएर त्यहाँ पार्क निर्माण गर्ने योजना महानगरको थियो। महानगर प्रमुख बालेनले आफ्नो योजनामा सघाउन तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र पछिल्ला गृहमन्त्री रवि लामिछानेसँग सहयोग मागेका थिए। तर यसमा बालेन सफल भएनन्। उनले ‘थापाथलीको सुकुम्बासी बस्ती हटाउन राज्यबाट सहयोग पाउन सकिनँ’ भनेका छन्।

चर्कँदै विरोधका आवाज

महानगरपालिकाले संविधान र कानुनविपरीत डोजर चलाइरहेको भन्दै एउटा समूहले केही दिनअघि माइतीघरमा प्रदर्शन गरेको थियो। उक्त प्रदर्शनपछि सम्बोधन गर्दै सायमीले मेयर बालेन साहले जनताले दिएको अधिकारको दुरुपयोग गरेको बताए।

‘पहिलेका शासक भन्दा पनि यिनी महानिरकुंश भएर आएका छन्। पहिला हामीलाई कुनै पनि निजी सम्पत्ति लिनलाई सूचना दिइन्थ्यो, मार्किङ गरिन्थ्यो, हामी न्यायालय जान पाउथ्यौँ,’ उनले भने, ‘अहिले न सूचना दिएको छ, न मार्किङ गरेको छ। डोजर लिएर आएको छ। आक्रमण गरेको छ, लुट्दै बसेको छ। यो लुटतन्त्र हामी सहँदनौँ।’

सम्पदा बचाउ अभियन्ता सुमन सायमी बालेनको बोली र व्यवहारमा एकरूपता नभएको बताउँछन्। ‘फोहोर व्यवस्थापनमा उहाँले गर्नुभएको प्रतिबद्धता पूरा गर्न सक्नुभएन,’ सायमीले हिमालप्रेससँग भने, ‘यहाँ उत्सर्जन हुने फोहोरलाई मोहर बनाएर ३ प्रतिशत फोहोर मात्र व्यवस्थापनका लागि बाहिर लगिने उहाँले बताउनुभएको थियो, तर व्यवहारमा लागू हुनै सकेन।’

मेयर बालेनले अनधिकृत संरचना हटाउने नाममा निजी सम्पत्तिमाथि जथाभाबी डोजर चलाएको, फुटपाथ व्यापारीलाई विकल्प नदिई अमानवीय कार्य गरेको सायमीको आरोप छ। गरिब र राजनीतिमा पहुँच नभएका सर्वसाधारण बासिन्दा डोजर आतंकबाट आजित भएको तर शक्ति केन्द्रको पहुँच भएकाहरूलाई खासै अप्ठ्यारो नभएको उनले बताए।

फुटपाथबाट साना व्यापारीलाई कुनै विकल्प नै नदिई हटाइएको सायमी बताउँछन्। स्ट्रिट फुड व्यापार व्यवसाय हटाइँदा पर्यटनमा समेत असर परेको सायमी बताउँछन्।

शक्ति केन्द्रको प्रभावमा परेर रवि भवनमा रहेको लिंकन स्कुलको पर्खाल नभत्काएको, थापाथलीको सुकुम्बासी बस्तीको उचित व्यवस्थापन गर्न नसकेको टुकुचा खोला भेट्टाएर पनि बाँकी काम किन गर्न नसकेको भन्ने आरोप सायमीको छ।

यसैगरी सार्वजनिक सुनुवाइ र सर्वसाधारणका प्रश्नबाट बालेन भागेको, सरोकारवाला र अनुभवीसँग संवाद नगरी आफूखुसी विस्तृत परियोजना प्रतिवेदन बनाएको भन्दै बालेनमाथि आलोचना हुने गरेको छ।

सुन्धारामा निर्माण भएको भनिएको ‘धरहरा’लाई बालेनले कार्यकालको सुरुमा ‘सेतो टावर’ भनेर स्थानीयवासीको सहानुभूति बटुलेका थिए। तर पछिल्लो समय सुन्धारामा डोजर चलाएर पानीको मुहान नै सुकाएको आरोप उनीमाथि लागेको छ।

बालेनले निर्वाचनका बेला कौसी खेतीलाई निकै प्राथमिकताका साथ उठाएको तर मेयर निर्वाचित भएको ९ महिना बितिसक्दा कौसी खेतीको ठोस योजना नै ल्याउन नसकेको भन्दै सायमीले उनको आलोचना गरे।

प्रकाशित: १६ फागुन २०७९ १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =