हचुवाको विकास

ऋणको भारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

विजय नेपाल ४ असार २०८० ९:३६
40
SHARES
ऋणको भारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल।

नयाँ वर्ष सन् २०२३ मा गण्डकी प्रदेश राजधानी पोखरा वडा १४ मा सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको भव्य रूपमा उद्घाटन गरियो। पोखरेलीको चार दशकको सपना पूरा भएको खुसीयालीमा उक्त दिन पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विमानस्थल उद्घाटन गर्दै अब विकास र समृद्धिको ढोका खोल्ने बताएका थिए। साथै काठमाडौँपछि लुम्बिनी, पोखरा सञ्चालनपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई अघि बढाउने प्रतिबद्धता उनको थियो।

२२ अर्ब रुपैयाँ लागतमा निर्मित विमानस्थल उद्घाटनसँगै अन्तर्राष्ट्रिय उडानको आशा गरेका सिंगो गण्डकी प्रदेशवासीको आशामा भने तुसारापात भएको छ। पर्यटन व्यवसायी त झनै निराश छन्। उनीहरू अहिले मुलुकको आर्थिक मन्दी र व्यापार नहुँदा बैंकको चर्को किस्ताब्याज तिर्न नसक्ने अवस्थामा पुगेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको ६ महिना हुन लागिसक्दा पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। पुरानो विमानस्थलमा झैँ आन्तरिक उडानमै सीमित यो विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडान हुने टुंगो छैन। यस विषयमा विमानस्थल अधिकारी र सरकारसँग पनि उत्तर छैन।

यद्यपि २१ जुनमा चीनको छेन्दुदेखि सिचुआन एयरलायन्सले चार्टर्ड उडान भर्ने विषयले भने यहाँका पर्यटन व्यवसायीमा थोरै आशाको सञ्चार गराएको छ। पर्यटन व्यवसायीको छाता संगठन पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन्, ‘विमानस्थल निर्माणपछि यहाँका पर्यटन व्यवसायी निकै उत्साहित थिए।

तर लामो समयसम्म अन्तर्राष्ट्रिय उडान नहुनु र अहिलेको कठिन परिस्थितिले धेरै व्यवसायी पलायन हुने अवस्था छ।’ अन्तर्राष्ट्रिय उडानमा दबाब दिन आफूहरूले प्रधानमन्त्रीसहित सरोकारवाला विभिन्न निकायमा ज्ञापनपत्र दिएको श्रेष्ठले बताए। पोखरामात्र नभई देशकै आर्थिक समृद्धिका लागि पनि विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्ने उनको जोड छ।

विमानस्थल प्रमुख विक्रमराज गौतम सुरुआती चरण भएकाले पर्ख र हेरको अवस्थामा रहेको बताउँछन्। ‘एयरलाइन्सहरूले आफ्नो बिजनेस विश्लेषण गर्दैछन्, बिस्तारै सुरु होला,’ उनी आशावादी देखिए।

भारतले विमानस्थल रुट अनुमति नदिएको हो भन्ने हिमालप्रेसको जिज्ञासामा विमानस्थल प्रमुख गौतमले भने, हामी आफ्नो तर्फबाट पूरा तयारीमा छौँ। उहाँहरू (भारत) अन्डरकन्सिडेरेसनमा हुनुहुन्छ। आशा गरौँ, चाडै उडान हुन्छ।’ विभिन्न वायुसेवाले एनोनोटिकल इन्फरमेसन पब्लिकेसनमा प्रकाशित विमानस्थलबारेको दस्तावेजको विश्लेषण गरिरहेको उनको भनाइ छ।

विमानस्थल उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल बुद्ध, यती, श्री, सौर्य, गुण एअरलाइन्सले देशका विभिन्न सहरमा आन्तरिक उडान भर्दै आएका छन्। बुद्ध एअरलाइन्सको उडान सबैभन्दा बढी छ। अनुमति पाए बुद्ध एअर पोखरादेखि भारतका विभिन्न सहरमा उडान भर्ने तयारीमै छ। तर भारतले पोखराबाट अझैसम्म उडान अनुमति दिएको छैन। बुद्ध एअरका पोखरा स्टेसन प्रमुख गौतम बराल भन्छन्, ‘उडान अनुमति नहुनु प्राविधिक कारण होला। ठ्याक्कै किन हुन नसकेको हामीलाई थाहा भएन। हामी पोखराबाट बनारस र देहरादुन उडान गर्न तयार छौँ।’

आफूहरूले नागरिक उड्डयन प्राधिकरणमार्फत भारत सरकारलाई पोखरादेखि भारत उडानका लागि अनुमति दिन पत्र पठाएको गौतमले बताए। बुद्धले पोखरा-काठमाडौँ-पोखरा दैनिक १५ उडान भर्ने गरेको छ। पोखरादेखि दैनिक नेपालगन्ज, भरतपुर र भैरहवा एकएक उडान छन्। उनका अनुसार आगामी साता छिन्चुबाट जहाज आयो भने उनीहरू (चीन) लाई सजिलो-अप्ठ्यारो के हुन्छ त्यसपछि अरु उडान होलान् भन्ने अपेक्षा गर्न सकिन्छ।

चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हो। विमानस्थलको ऋण र ब्याज भुक्तानीको प्रक्रिया आगामी वर्षदेखि सुरु हुनेछ।

विमानस्थलबाटै हुने आम्दानीबाट उक्त ऋण तिर्ने सरकारको योजना भए पनि विमानस्थल सञ्चालनको ६ महिनासम्म आन्तरिक उडानमै सीमित हुँदा आर्थिक भार पर्ने सम्भावना देखिन्छ। ऋण तिर्नैका लागि पनि विमानस्थल व्यस्त भइरहनुपर्ने हुन्छ।

गत वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा विमानस्थलको केही प्रतिशतमात्र काम पूरा नहुँदै विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो। तत्कालीन अञ्चलाधीश शंकरराज पाठकको पालामा २०३२ सालमा विमानस्थलका लागि जग्गा अधिग्रहण गरिएको थियो। त्यसको चार दशकपछि बल्ल २०७३ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल शिलान्यास गरेका थिए भने अर्को वर्षदेखि निर्माण थालिएको थियो।

विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नभए पनि हाल १८ घण्टासम्म अप्रेसन रहेको छ। काठमाडौँ-पोखरा नियमित रात्रिकालीन उडान हुने गरेको छ। विमानस्थलमा आन्तरिक र बाह्य उडानका लागि छुट्टाछुट्टै संरचना निर्मित छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालकै पहिलो एरोब्रिज छ। यात्रु यसै एरोब्रिजबाट जहाज चढ्न र झर्न सक्नेछन्।

विमानस्थल सञ्चालनको दुई साता नबित्दै पोखराले भयानक विमान दुर्घटना व्यहोरेको थियो। १ माघमा काठमाडौँबाट पोखरा उडान भरेको यती एयरको विमान सेती खोंचमा दुर्घटना हुँदा चालकदलका ४ सहित ७२ यात्रुको ज्यान गएको थियो। यति धेरै मानवीय क्षति हुने गरी भएको सो दुर्घटना नेपाली आकाशको सबैभन्दा ठूलो दुर्घटना हो।

विमानस्थल नजिकै भएको उक्त हवाई दुर्घटनाले उडान तयारी गरेका वायुसेवाहरूलाई मनोवैज्ञानिक प्रभावसमेत पारेको थियो। विमानस्थल सञ्चालन (१७ पुसदेखि) दुई सातामा १८ हजार २४० यात्रुले यात्रा गरेकोमा १ माघको दुर्घटनापछि ५० प्रतिशतले यात्रु घटेका थिए। अहिले भने आन्तरिक उडानका लागि हवाई यात्रु पर्याप्त रहेको विमानस्थल प्रमुख गौतम बताउँछन्।

यो पनि:

मुलुक डुबाउने आयोजना

प्रकाशित: ४ असार २०८० ९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =