न्याय र समानताको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

हिमाल प्रेस २१ जेठ २०८० १६:३८
2
SHARE
न्याय र समानताको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले न्याय र समानताको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ। नेपाललाई जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १७ वर्ष पूरा भएको अवसरमा आइतबार विज्ञप्ति निकाल्दै आयोगले दलितहरूको न्याय र समानताको अधिकार सुनिश्चित गर्न आग्रह गरेको हो।

आयोगले छुवाछूतको व्यवहार गर्नेलाई कानुनी कारबाही गर्न पनि सरकारसँग माग गरेको छ। ‘जातीय विभेद र छुवाछूतका सबै घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन र कानुनको प्रभावकारी कार्यान्वयन गर्न÷गराउन आयोग आग्रह गर्दछ,’ विज्ञप्तिमा उललेख छ।

समाजमा दैनिक घटिरहेका जातीय विभेद तथा छुवाछूतका घटनालाई निर्मूल पार्नका लागि आवश्यक सहयोग गर्न पनि आयोगले राजनीतिक दल तथा तिनका भातृसंगठनलाई आग्रह गरेको छ।

दैनिक भइरहेका छुवाछूतका घटनाको निर्मुल पार्न जनप्रतिनिधि, नागरिक समाजलगायतले भूमिक निर्वाह गर्नुपर्ने पनि आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ। आयोगले संवैधानिक तथा कानुनी व्यवस्था हुँदाहुँदै पनि अझै जातीय विभेद र छुवाछूतका घटनामा कमी आउन नसकेको बताएको छ।

विभेद र छुवाछूतसम्बन्धी आयोगमा हाल ३७ वटा उजुरी विचाराधीन छन्। हालसम्म आयोगले क्षतिपूर्तिको लागि सिफारिस गरेका जातीय छुवाछूत तथा विभेदका घटनाका पीडितको संख्या २०५ रहेको आयोगले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

सामाजमा अझै पनि छुवाछूतलगायतका अमानवीय घटना भइरहेका र घटनामा संलग्नहरूलाई कारबाही हुन नसक्दा दण्डहीनता कायम रहेको भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ।

प्रकाशित: २१ जेठ २०८० १६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =