कर्णालीमा मानव अधिकारविरुद्धका घटना : ‘राज्यपक्षबाट ३३ जना पीडित’

हिमाल प्रेस ७ फागुन २०७९ १६:५९
54
SHARES
कर्णालीमा मानव अधिकारविरुद्धका घटना : ‘राज्यपक्षबाट ३३ जना पीडित’

सुर्खेत– कर्णाली प्रदेशमा गत वर्षको तुलनामा यस वर्ष मानव अधिकारविरुद्धका घटनामा वृद्धि भएको देखिएको छ। आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा सरोकारवालाहरूले यस्तो जानकारी दिएका हुन्।

मानव अधिकार उल्लंघन र ज्यादतीका घटना बढेको इन्सेकको तथ्यांकमा उल्लेख गरेको हो। सन् २०२२ को तथ्यांकअनुसार राज्यपक्षबाट ३३ जना पीडित भएका छन् भने अन्यपक्षबाट जम्मा ४६३ जना घाइते भएको इन्सेको तथ्यांकले देखाएको छ।

सन् २०२२ मा देशभर मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएकोमा कर्णाली प्रदेशमा मात्रै ४ सय ९६ जना पीडित भएका छन्।

कर्णाली प्रदेशमा पीडितमध्ये मानव अधिकार उल्लंघनका घटनामा ४ महिला र २९ जना पुरुष गरी ३३ जना तथा ज्यादतीका घटनामा ३ सय २८ महिला र १ सय ३५ जना पुरुष गरी ४ सय ६३ जना पीडित भए। कर्णालीमा सन् २०२१ मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा ४ सय ३० जना पीडित भएका थिए।

त्यसमध्ये मानव अधिकार उल्लंघनका घटनामा ४ महिला र ३० जना पुरुष गरी ३४ जना तथा ज्यादतीका घटनामा ३ सय २० महिला र ७५ जना पुरुष गरी ३ सय ९६ जना पीडित भएको बताइएको छ।

यो वर्ष कर्णाली प्रदेशमा राज्यपक्षबाट भएका कुटपिटका घटनामा १५ जना, गिरफ्तारीका घटनामा एकजना, हिरासत वा थुनामा मृत्यु एकजना, अमानवीय व्यवहारका घटनामा एकजना, अभिव्यक्ति भेला तथा संगठित हुने अधिकारमा १५ जना पीडित भएको पाइएको छ।

इन्सेकको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष कर्णाली प्रदेशको मानव अधिकार अवस्थामा सुधार नभएको इन्सेकका संयोजक नारायण सुवेदीले बताए।

कर्णाली प्रदेशमा हत्याका घटनामा अन्यपक्षबाट १३ जना महिला र ३ जना पुरुष गरी १६ जनाको हत्या भएको इन्सेकले अभिलेख गरेको छ भने सन् २०२१ मा राज्यपक्षबाट एक पुरुष र अन्य पक्षबाट २० जना महिलासहित ३४ जनाको हत्या भएको इन्सेकले जनाएको छ।

सन् २०२२ मा बाल अधिकारका घटनामा ७७ जना बालिका र ३ जना बालक गरी ८० जना पीडित भए। यस वर्ष भएका बाल अधिकारका घटनामा बालविवाहबाट १२, बेचबिखन तथा ओसारपसारबाट ३ जना, विद्यालयमा शारीरिक दण्ड सजायबाट १ जना, बलात्कार घटनामा ४९ जना, यौन दुर्व्यवहारका घटनामा १४ जना र नवजात शिशुको हत्याबाट एक जना पीडित भएको इन्सेकले जनाएको छ।

सन् २०२१ मा बाल अधिकारका घटनामा ८३ जना बालिका र १ जना बालक गरी ८४ जना पीडित भएका थिए।

यो वर्ष महिलामाथि भएका हिंसाका घटनामा २ सय ११ जना पीडित भएको इन्सेकले अभिलेख गयो। यस वर्ष घरेलु हिंसाका घटनामा १ सय ३२ जना, कथित बोक्सी’ को आरोपमा १ जना, बलात्कारका घटनामा ३९ जना, बलात्कार प्रयासका घटनामा ११ जना, यौन दुर्व्यवहारको घटनामा आठ जना र बहुविवाह घटनामा २० जना महिला पीडित भएको अभिलेखमा उल्लेख छ।

सन् २०२१ मा महिला अधिकारका घटनामा २ सय ५ जना पीडित भएका थिए। यस वर्ष कर्णाली प्रदेशमा परिवार सदस्यबाट ७ जना महिलाको हत्या भएको इन्सेकले जनाएको छ।

सन् २०२२ मा बलात्कारका घटनामा ८८ जना, बलात्कार प्रयासका घटनामा ११ र यौन दुर्व्यवहारका घटनामा २२ जना गरी १ सय २१ जना महिला तथा बालिका पीडित भए। गत वर्ष यस्ता घटनामा १ सय १५ जना महिला तथा बालिका पीडित भएको पाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 9 =