कतारमा काम गर्ने नेपालीले त्यहाँको मानव अधिकार समितिमा उजुरी गर्न पाउने

हिमाल प्रेस २५ जेठ २०८० २१:३७
2
SHARE
कतारमा काम गर्ने नेपालीले त्यहाँको मानव अधिकार समितिमा उजुरी गर्न पाउने

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोग र कतारको मानव अधिकार समितिबीच तीन वर्षका लागि सम्झौता गरिएको छ। बिहीबार काठमाडौँमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौताअनुसार नेपालबाट रोजगारीका लागि कतार पुगेका नेपालीहरूको मानवअधिकार हनन भएमा कतारको मानव अधिकार समितिमा उजुरी दिन सकिनेछ।

राष्ट्रिय मानव अधिकार आयोगका कामुसचिव मुरारीप्रसाद खरेलले कतारको मानव अधिकार समिति र नेपालको मानव अधिकार आयोगबीच तीन वर्षका लागि एमओयु भएको बताए।

उनले कतारमा काम गर्ने नेपाली कामदारहरूको हक र अधिकार संरक्षणका लागि सम्झौता महत्वपूर्ण भुमिका खेल्ने बताए। कतारमा भएका नेपालीहरूको मानव अधिकार हनन भए नेपाली भाषामा नै उजुरी दिन सकिने र त्यहाँ नेपाली डेस्क सञ्चालनमा ल्याउने पनि उनले बताए।

समितिले कतारमा रहेका नेपालीको मानव अधिकारको सुनिश्चितताका लागि नेपालीहरूले काम गर्ने कम्पनीहरूको अनुगमन र कामदारको समस्या बुझेर कतार सरकारलाई जानकारी गराउने सहमति भएको पनि बताए। ‘कतारको मानव अधिकार समिति र नेपालको मानव अधिकार आयोगबीच तीन वर्षको लागि एमओयु गरेका छौँ।

कतारमा काम गर्ने नेपाली कामदारको हक र अधिकार संरक्षणका लागि कसरी त्यहाँको मानव अधिकार समितिले सहयोग गर्छ सरकारसँग भन्ने थियो,’ उनले भने, ‘यसमा दुई पक्षीय कुराहरु गर्ने, मानव अधिकार उल्लंघन भए कसरी मानव अधिकार संरक्षणका लागि जवाफदेही बनाउने भन्ने मुख्य कुरा रहेको छ।’

प्रकाशित: २५ जेठ २०८० २१:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − ten =