हाम्रै कथा र व्यथा हो नीरफूल : निर्देशक वल

हिमाल प्रेस २१ जेठ २०८० १२:२१
12
SHARES
हाम्रै कथा र व्यथा हो नीरफूल : निर्देशक वल

काठमाडौँ– आगामी जेठ २६ गते प्रदर्शन हुने फिल्म ‘नीरफूल’मा तामाङ संस्कृति समेटिएको निर्देशक फूलमान वलले बताएका छन्। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा ‘नीरफूल’ तामाङ समुदायमार्फत व्यक्त गरिएको हाम्रै समुदायको कथा र व्यथा रहेको निर्देशक वलले बताएका हुन्।

‘चरित्रहरू तामाङ समुदायको भए पनि यसमा तामाङ संस्कृति मात्र देखाउने उद्देश्य होइन। कथा उत्पत्ति भएको ठाउँ तामाङ समुदाय हो तर यो परिवारको बिछोड र मिलनको कथा हो। यो कथालाई हरेक समुदायका मानिसले महसुस गर्न सक्नुहुन्छ।’ उनले भने। ‘यसमा नेपाली फिल्ममा खोजिएको नयाँपन हुनसक्छ। फिल्ममा हाम्रो कथा र व्यथा छ।’

हिमाली भेगमा छायांकन गर्नुपर्ने भएकाले धादिङको रुबी भ्यालीमा ‘नीरफूल’को छायांकन गरिएको निर्देशक वलले जानकारी दिए। ‘हामीलाई हिउँ नभएको हिमाली भूभाग चाहिएको थियो। त्यहीँ क्रममा त्यहाँ पुग्दा छायांकन गर्ने तय गर्‍यौं,’ उनले भने।

फिल्मका कलाकार दयाहाङ राईले विस्तारै नेपालका विविध संस्कृतिले फिल्ममा मूल रूपमै स्थान पाउन थालेको बताए। ‘यो जरुरी पनि थियो। किनकी हामीसँग हाम्रो मौलिक कथा धेरै छन्। ‘नीरफूल’जस्ता फिल्मले कथामा विविधता ल्याउँछन्।’ उनले यस्ता चलचित्रको महत्व कालान्तरमा अझै बढी हुने बताए।

‘जारी’ले प्राप्त गरेको सफलताले विविध संस्कृतिलाई चलचित्रको पर्दासम्म आइपुग्न व्यावसायिक रूपमा जोखिम कम गरिएको उनको भनाई थियो। दयाहाङ अभिनीत लिम्बू संस्कृतिमा आधारित फिल्म ‘जारी’ले प्रदर्शनको एकाउन्न दिन पार गर्दै व्यावसायिक रूपमा सफल भएको छ।

अभिनेता राईले सन १९४८ मा बनेको इटालियन नवयथार्थवादी फिल्म ‘द बाइसाइकल थिफ’र सत्यजित रेको ‘पाथेर पाञ्चली’जस्ता सधैं बाँचिरहने चलचित्र ‘नीरफूल’बनेको बताए। ‘यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ। यसमा हामीले भोगेको समयको कथा भेटिनेछ,’ उनले भने।

भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको फिल्ममा अभिनेता राईसँगै रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय छ।

फिल्ममा पटकथा लेखनमा निर्देशक वल र सचिन घिमिरे,प्रमोद कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत छ।

प्रकाशित: २१ जेठ २०८० १२:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =