नयाँ वर्षमा नेपाली फिल्मले पाए दर्शक

हिमाल प्रेस १ वैशाख २०८१ १९:१७
8
SHARES
नयाँ वर्षमा नेपाली फिल्मले पाए दर्शक

काठमाडौँ- नयाँ वर्षलाई लक्षित गरी हलहरूमा तीन नेपाली फिल्म प्रदर्शनमा छन्। २०८० सालको अन्तिम दिन शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’, फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ र चौथो सातामा ‘महाजात्रा’ प्रदर्शन भइरहेको छ।

वितरकले दिएको जानकारीअनुसार आज तीनै फिल्मका अधिकांश शो ‘हाउसफुल’ छन्। नयाँ वर्षमा दर्शकले नेपाली फिल्म हेर्न चाहेको यसले प्रमाणित गरेको छ।

डिग्री पास बेरोजगारको कथालाई प्रस्तुत गरिएको फिल्म ‘डिग्री माइला’ मा अभिनेता दयाहाङ राई शीर्ष भूमिकामा छन्। युवाको सपना र क्षमतालाई प्रस्तुत गरिएको नाटक ‘डिग्री माइला’ कै पात्रबाट प्रभावित भई फिल्म तयार गरिएको हो।

‘यो पात्रले हाम्रो समाजको धेरै पक्षलाई देखाएको छ। शिक्षा, समाज, ग्रामीण अवस्था र युवाको बेरोजगारी अवस्थालाई माइलाको पात्रमार्फत व्यक्त गरिएको छ’,अभिनेता राईले भने,‘यो पात्रलाई नाटकबाट फिल्ममा ल्याउने सपना बल्ल पूरा भयो। यो कथा धेरैसम्म पुर्‍याउनु थियो।’

डिग्री माइलामा अभिनेता राईसँगै आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गरेका छन्। कलाकारहरूले हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन्।

प्रदर्शन गरिएको अर्को फिल्म ‘द रेड सुटकेस’ मा वैदेशिक रोजगारीमा पुगेका युवाको कथा देखाइएको छ। फिल्ममा अभिनेता विपिन कार्की, सौगात मल्ल, प्रवीन खतिवडा,अभिनेत्री सृष्टि श्रेष्ठलगायतले अभिनय गरेका छन्।

विमानस्थलबाट एउटा रातो सुटकेस लिएर गाउँतर्फ लाग्ने यात्रीले यात्राका क्रममा भोगेको कथालाई फिल्ममा प्रस्तुत गरिएको लेखक तथा निर्देशक देवकोटाले बताए।

‘हामीले मिथक शैलीमा नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर यो फिल्मको कथा तयार गरेका छौँ’,उनले भने,‘वर्तमान समयलाई दस्तावेज गरेका छौँ। यसले हाम्रो रहनसहन र समाजलाई देखाउँछ।’

चौथो सातामा प्रदर्शनरत फिल्म ‘महाजात्रा’ मा दर्शकको उपस्थिति घटेको छैन। प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको महाजात्रामा हरिवंश आचार्य, विपीन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, दिव्य देवलगायतको अभिनय छ।

निर्माता दीपेश खत्रीले तीन सातामा नेपालमा १४ करोड र विदेशमा नौ करोडसहित विश्वभर २३ करोडको व्यापार (ग्रस कलेक्सन) गरेको उनको दाबी छ। आज १ गते तीनै नेपाली फिल्मको शो भरिभराउ भएकाले कूल तीन करोड बराबरको व्यापार गर्ने अनुमान वितरकको छ।

प्रकाशित: १ वैशाख २०८१ १९:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =