किशोर श्रेष्ठ पक्राउ घटनामा प्रेस काउन्सिलले भन्यो- समाचारमा चित्त नबुझे काउन्सिलमा उजुरी दिनुस्

हिमाल प्रेस २८ साउन २०८३ १४:५९ | Thursday, August 13, 2026
12
SHARES
किशोर श्रेष्ठ पक्राउ घटनामा प्रेस काउन्सिलले भन्यो- समाचारमा चित्त नबुझे काउन्सिलमा उजुरी दिनुस्

काठमाडौँ- प्रेस काउन्सिल नेपालले आशा मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमलाई आफ्नो व्यावसायिक आचारसंहिता पालना गर्न आग्रह गर्दै प्रेस स्वतन्त्रताको मर्यादा कायम राख्नसमेत सम्बन्धित सबै पक्षसँग अनुरोध गरेको छ।

प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यम तथा पत्रकारले व्यावसायिक आचारसंहिता उल्लंघन गरेमा काउन्सिलमा उजुरी दिन सकिने र त्यस्ता उजुरीमाथि कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइने उल्लेख छ।

काउन्सिलका अनुसार पत्रकार आचारसंहिता, २०८० को प्रस्तावना, उद्देश्य, काम, कर्तव्य र अधिकार तथा आचारसंहिताको कार्यान्वयनका लागि काउन्सिललाई आवश्यक अधिकार प्रदान गरिएको छ।

विज्ञप्तिमा भनिएको छ,‘स्वस्थ पत्रकारिताको विकासका लागि उपयुक्त वातावरण सिर्जना गर्ने, प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिने, पत्रकारितासम्बन्धी आचारसंहिता तोक्ने, प्रेस र नेपाल सरकारबीच सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने, सार्वजनिक नैतिकता र नागरिकहरुको मर्यादा कायम राख्न लगाउने र प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि हस्तक्षेप हुन नदिने प्रयत्नशील रहने काउन्सिलको अहम उद्देश्य र जिम्मेवारी हो।’

काउन्सिलले पत्रकार आचारसंहिता बनाई पत्रकार तथा सञ्चारमाध्यमविरुद्ध परेका उजुरीको छानबिन गरी आवश्यक कारबाही गर्दै आएको जनाएको छ। आचारसंहिता पालना र प्रेस स्वतन्त्रताको सदुपयोग गर्न लगाउने, खण्डन प्रकाशन तथा प्रसारण, भूलसुधार र क्षमायाचनाका लागि निर्देशन दिने, ध्यानाकर्षण वा सचेत गराउनेलगायतका काम काउन्सिलले गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, पत्रपत्रिकाको मूल्यांकन तथा वर्गीकरण प्रक्रियाबाट अलग गर्ने, लोककल्याणकारी विज्ञापनलगायतका सुविधाबाट वञ्चित गर्ने वा सूचीकरणबाट हटाउने, प्रेस प्रतिनिधि प्रमाणपत्र वा प्रेस पास निलम्बन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने तथा सरकारी विज्ञापन वा सुविधा निश्चित अवधिका लागि उपलब्ध नगराउन सिफारिस गर्नेसम्मका अधिकार काउन्सिलसँग रहेको जनाइएको छ।

काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमले आचारसंहिता उल्लंघन गरेको पाइएमा आफ्नो क्षेत्राधिकारभित्र रहेर कारबाही गर्दै आएको जनाएको छ।

श्रेष्ठलाई बुधबार राति पक्राउ गरी उनको निजी निवास खानतलासी गरिएको र बिहीबार बिहान उक्त सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काउन्सिलले नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाट हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सबैको कर्तव्य भएको जनाएको छ।

प्रकाशित: २८ साउन २०८३ १४:५९ | Thursday, August 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast