काठमाडौँ- सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई छाड्न आदेश दिएको छ।
बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजालसले पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको हो।
साथै उनका घर एवं कार्यालयबाट बरामद गरिएका विद्युतीय उपकरणहरू समेत फिर्ता गर्न अदालतले आदेश दिएको छ।
जनआस्था पत्रिकाका प्रधान सम्पादकसमेत रहेका श्रेष्ठलाई गत साउन २७ गते प्रहरीले पक्राउ गरेको थियो। जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्बिरका सम्बन्धमा वैयक्तिक गोपनीयताको हक हनन गरेको आरोपमा उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।
उजुरीकर्ताले आफ्नो फेसबुकमा सार्वजनिक गरेको तस्बिर समाचारमा प्रयोग गरेको विषयलाई लिएर प्रहरीले पत्रकार श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो।
काठमाडौँ जिल्ला अदालतले सोमबार श्रेष्ठलाई थप चार दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। तर, सर्वोच्च अदालतले भने उनलाई हिरासतमुक्त गर्न आदेश दिएको हो।
‘जाहेरी दरखास्तमा उल्लिखित तस्बिर जोहरवाला आफैँले सामाजिक सञ्जाल फेसबुकबाट प्रबिष्ट गरेको भन्ने देखिएकोमा उक्त तथ्यलाई विपक्षीले लिखित जवाफमा अन्यथा खण्डन गर्न सकेको देखिएन,’ आदेशमा भनिएको छ,‘साथै निवेदक किशोर श्रेष्ठ जनआस्था पत्रिकाको सम्पादक देखिए तापनि निज समाचार प्रकाशित भएको जनआस्था अनलाइन पोर्टलको सम्पादकीय भूमिकामा निज रहेको नदेखिँदा निवेदकलाई थुनामै राखी मुद्दाको तहकिकात अनुसन्धान गर्नुपर्ने सम्मको अवस्थाको विद्यमानता नदेखिएकाले अनुसन्धान तहकीकात गर्नुपर्ने भए मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम निवेदकलाई हाजिर जमानीमा छाडी वा तारिखमा राखी मुद्दाको अनुसन्धान गर्नू भनी विपक्षी मध्येका जिल्ला प्रहरी परिसर काठमाडौँको नाउँमा परमादेश जारी हुने ठहर्छ। सोबमोजिम गरेको जनाउ यस अदालतलाई दिनू।’


