किशोर श्रेष्ठ पक्राउपछि प्रहरी कार्यालय अगाडि धर्ना दिइरहेका पत्रकार। फोटो : गणेश पाण्डे फेसबुक
काठमाडौँ- पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रहरीले उनको घर र जनआस्था साप्ताहिकको कार्यालयमा निगरानी बढाएको छ। प्रहरी स्रोतका अनुसार बिहानै प्रहरीले जनआस्था साप्ताहिकको सानेपास्थित कार्यालयमा खानतलासी गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार अनुसन्धानका क्रममा कम्प्युटर तथा अन्य इलेक्ट्रोनिक उपकरण जाँच गर्न कार्यालयमा खानतलासी गरिएको हो।
प्रहरी टोलीका केही सदस्य कार्यालयभित्र प्रवेश गरेका थिए भने अन्य प्रहरी बाहिर बसेका थिए। कार्यालयमा रहेका कागजात तथा विभिन्न इलेक्ट्रोनिक उपकरणबारे प्रहरीले आवश्यक जाँच तथा संकलन गरेको जनाइएको छ।
श्रेष्ठ पक्राउपरे लगत्तै पनि प्रहरीले घरमा खानतलासी गरेको थियो। पत्रकार गणेश पाण्डेका अनुसार राति १ बजे प्रहरीले घरमा पुगेर खानतलासी गरेको हो।
प्रहरीको टोली बिहीबार बिहान करिब ७ बजे जनआस्था कार्यालय पुगेको थियो।
श्रेष्ठलाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो। वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघले आन्दोलनको चेतावनी दिएको छ। महासंघकी अध्यक्ष निर्मला शर्मासहित पत्रकार तथा सञ्चारकर्मीले काठमाडौं प्रहरी परिसरअगाडि धर्ना दिँदै पक्राउप्रति आपत्ति जनाएका छन्।


