एसीसीए : सीप र सम्भावनाको स्मार्ट विकल्प

हिमाल प्रेस १ जेठ २०८० १७:५६
112
SHARES
एसीसीए : सीप र सम्भावनाको स्मार्ट विकल्प तस्बिर स्रोतः एसीसीए

काठमाडौँ- कार्यस्थल र काम गर्ने वातावरणमा ठूलो परिवर्तन भएर नयाँ युग सुरु भएको छ। एसीसीएको अध्ययनअनुसार विश्वभर ४४ प्रतिशत कर्मचारीले १२ महिनामा आफ्नो काम र भूमिका बदल्दै आएका छन्। मूल्यवृद्धिले ज्याला बढाएर रोजगारदातालाई उत्तिकै समस्यामा परेको छ। समयमा तलब नबढ्दा र रोजगारदाताको अनावश्यक हस्तक्षेपले आफ्नो पेसाप्रति दिक्क भएर पलायन हुनेहरू बढ्दै छन्।

यही सेरोफेरोमा रहेर एसीसीए (द एसोसिएसन अफ चार्टर्ड सिर्टिफाइड एकाउन्टेन्टस्)ले अहिलेसम्मकै ठूलो अध्ययन गरेको छ। विश्वव्यापीरूपमा गरिएको सर्वेक्षणले कामबारे नयाँ र रोचक तथ्य बाहिर ल्याएको छ।

सर्वेक्षणमा १४८ देशका ८ हजारभन्दा बढी व्यावसायिक एकाउन्टेन्ट सहभागी भएका थिए। अध्ययनका क्रममा विशेषगरी कर्मचारीलाई भविष्यको चिन्ता र उनीहरूको ‘करियर’को आकांक्षाका बारेमा सोधिएको थियो। सर्वेक्षणमा कार्यस्थलका मुख्य मुद्दा जस्तै- काममा कर्मचारीको संलग्नता, कल्याण र प्रविधि अपनाउने मनोवृत्तिलगायत विषय पनि समावेश गरिएको थियो।

सर्वेक्षणमा रोजगारदाताले दक्ष जनशक्ति नपाएको विषय पनि प्रमुख समस्याको रूपमा देखिएको छ। त्यसका साथै महंगीले बढाएको ज्याला र कार्यस्थलमा कर्मचारीको तनावलाई पनि उजागार गरेको छ। यस्तो समस्याका बाबजुत यो सर्वेक्षणले पेसाको दीर्घकालीन भविष्य र निरन्तर नयाँ सीप सिक्न सक्ने तथा सम्भावनाहरू भएकाले एकाउन्टेन्सी पेसा एक स्मार्ट विकल्प रहेको संकेत गरेको छ।

बहुआयामिक र अन्तर्राष्ट्रिय गतिशीलता प्रदान गर्ने, व्यावसायिक योग्यता प्राप्त गर्ने अवसरले एकाउन्टेन्सी प्रमुख छनोट बनेको छ। अध्ययनले यो पेसाको लचिलोपन र स्मार्ट करियरले गर्दा युवाको प्रमुख रोजाइ बनेको औँल्याएको छ।

सर्वेक्षणले सार्वजनिक गरेको मुख्य बुँदा :

१. रोजगारदातालाई मुद्रास्फीतिले ज्याला वृद्धिको दबाब दिएको छ।

२. बहुआयामिक काम अर्थात् एकै समयमा फरक प्रकृतिको काम गर्नेहरू बढ्दै छन्। सर्वेक्षणमा सहभागी ५७ प्रतिशतले मात्रै एउटा कार्यालयमा पूर्णकालीन काम गरिरहेको बताएका छन्।

३. आफ्नो काममा दिक्क भएर कार्यालय र पेसा छोड्नेहरू पनि उत्तिकै छन्। उत्तरदातामध्ये ७१ प्रतिशतले आफू कार्यरत संस्थाबाट थप सहयोग र उदार कार्यनीतिको अपेक्षा राखेका छन्।

४. कार्यालय छोड्नेको लर्को दिनहुँ बढ्दो छ। यसले गर्दा रोजगारदातालाई दक्ष जनशक्तिको अभाव चुलिँदो छ। ४४ प्रतिशत उत्तरदाताले एक वर्षमै कार्यालय परिवर्तन गरेको र ६९ प्रतिशतले दुई वर्षमा फेरेको बताएका छन्।

५. एकाउन्टेन्ट पेसामा संलग्न ४२ प्रतिशत उत्तरदाताले प्रविधिको प्रयोगले आफूलाई काममा सहयोग र ऊर्जा मिलेको उल्लेख गरेका छन्।

६. ६८ प्रतिशतले आफ्नो कार्यस्थल समावेशी भएको बताएका छन्। तर युवा उत्तरदाताले प्रविधिको तीव्र प्रयोगले गर्दा सामाजिक गतिशीलताको चिन्ता व्यक्त गरेका छन्।

७. एकाउन्टेन्सीले अप्ठ्यारो समयमा सुरक्षा प्रदान गर्ने, युवाले आफ्ना काममार्फत सामाजिक मुद्दाहरूलाई सम्बोधन गर्ने, करियरको उचित विकास हुने र आर्थिकरूपमा अब्बल हुने सम्भावना भएकोलगायत कारणले यसप्रति आकर्षण बढेको उत्तरदाताले बताएका छन्।

एसीसीएका सीप तथा प्रविधि विभाग प्रमुख जेमी लियोनले युवा जनशक्तिले जहिल्यै कार्यशैलीमा काम गर्ने नयाँ तरिका अपनाउने गरेको बताएका छन्। उनले भनेका छन्, ‘यसले गर्दा रोजगारदाताले आफ्नो जनशक्तिको करियर विकास र ज्यालामा ध्यान दियो भने पेसा छाड्नेहरू घट्दै जान्छन्।’

लियोन भन्छन्, ‘अबको पुस्ताको प्रतिभालाई एकाउन्टेन्ट पेसामा आकर्षित गर्नु स्वस्थ अर्थतन्त्रका लागि अत्यावश्यक छ। सर्वेक्षणले एसीसीए अध्ययन गर्ने र यस पेसामा आउन चाहनेहरूको बढ्दो रुचि देखाएको छ।’ उनले एसीसीए पेसाले भोलिको दिन सुनौलो हुने र काम गर्ने वातावरण सिर्जना गर्न मद्दत गरेकाले एसीसीए विश्वव्यापी रुपमा युवाको छनोटमा परेको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =