उपेन्द्रको हैकमविरुद्ध विद्रोह गरेका हौँ, तत्काल एमालेसँग एकता हुँदैन : अशोक राई [अन्तर्वार्ता]

किरण पौडेल २६ वैशाख २०८१ ११:१९
20
SHARES
उपेन्द्रको हैकमविरुद्ध विद्रोह गरेका हौँ, तत्काल एमालेसँग एकता हुँदैन : अशोक राई [अन्तर्वार्ता] फाइल तस्बिर

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएर जनता समाजवादी पार्टी (जसपा) बनेको छ। पार्टीका संघीय परिषद् सदस्य रहेका अशोक राईले कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवसँग विद्रोह गरेर नयाँ पार्टी गठन गरेका हुन्। उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्रीसमेत रहेका यादव विदेशमा रहेका बेला अशोक समूहले पार्टी विभाजन गरेको छ। पार्टीका १२ सांसदमध्ये ७ सांसद अशोक पक्षमा खुलेका छन्। १५१ सदस्यीय केन्द्रीय समितिमध्ये ३० सदस्यले विभाजन रोजेका छन्। हठात् पार्टी विभाजन भएर नयाँ पार्टी बन्नुको कारण र नयाँ पार्टीको गन्तव्यबारे जसपाका केन्द्रीय समिति अध्यक्ष अशोक राईसँग किरण पौडेलले गरेको संक्षिप्त कुराकानी :

जनता समाजवादी नेपाल (जसपा) विभाजन गरेर नयाँ पार्टी बनाउनुभएको छ। हठात् पार्टी फुटाउनुपर्ने अवस्था कसरी आयो?

उपेन्द्र यादवसँग फुट्नु अनौठो कुरा होइन। यसअघि पनि उहाँसँग छ पटक पार्टी विभाजन भइसकेको छ। नेताहरू फाट्टफुट्ट जाने क्रममा कतिपटक भयोभयो। पार्टी फुट्नुको मूल कारण उहाँको शैली हो। धेरै विषयमा मतभेद भइसकेपछि सँगै बस्न मिल्दैन कि जस्तो लाग्यो। धेरै विवाद बाहिर निकाल्नु पनि आवश्यक रहेन।

अध्यक्ष उपेन्द्र यादव देशबाहिर गएका बेला पार्टी फुटाउनुपर्ने अवस्था कसरी आयो?

हामी पार्टी अधिवेशनको संघारमा थियो। पार्टीको महाधिवेशन प्रतिनिधि छनोटमा समस्या देखियो। एउटा प्रदेशमा एक लाख सदस्यता दाबी गर्ने, अरूमा ३० हजार पनि नहुने जस्तो कुरा उहाँबाट आयो। होला, त्यो प्रदेशमा एक लाख नै थियो होला। तर कसरी त्यसरी बढे हामीलाई भन्न सक्नुपर्थ्यो  नि।

त्यस्तै उहाँले मधेश प्रदेशको अध्यक्ष फेर्नुभयो। त्यो पार्टी विधान विपरीत थियो। यस्तो गलत कुरालाई सहनु हुँदैन भन्ने लाग्यो। गलत कुरा गर्नु गलत हो भने सहेर बस्नु पनि गलत नै लागेर फुट्न बाध्य भएका हौँ।

उहाँ विदेश गएका बेला पार्टी फुट्नुचाहिँ सिंगारी पनि हराउनु चितुवा पनि कराउनुजस्तै हो। कहिलेकाहीँ राजनीतिमा संयोगहरू आउँछन्। मुख्य कुरा के हो भने उहाँले अमेरिका जाने क्रममा साथीहरुलाई एउटा चिकर्टो दिनुभएछ। त्यो चिर्कटो हेर्दा उहाँले जसपालाई आफ्नै हैकममा लैजानु भए जस्तो लाग्यो। यही कारण अलग हुन बाध्य भयौँ।

पार्टीमा विवाद अहिले मात्र आएको हो कि पहिलेदेखि नै थियो?

विवाद भइरहेकै थिए। हामीले उहाँ (उपेन्द्र) लाई त्यसो नगर्न भनिरहेका थियाँै। पहिलेपहिले पनि यस्ता कुरा आइरहेका थिए। पछिल्लो समय जुन चिर्कटोको कुरा उठ्यो त्यसले चाहिँ सँगै बस्न नसक्ने अवस्थामा पु¥यो। पार्टीभित्र उहाँको हैकमजस्तै चल्न थाल्यो। हामीले बोलेका कुरा नसुनिने अवस्था आयो।

तपाईंहरू संसद्‌मा धेरै हुनुहुँदो रहेछ। अलिअलि गृहकार्य गरेको भए केन्द्रीय सदस्यमा पनि बहुमत पुग्थ्यो होला। यसमा प्रयासै नगरी किन चोइटिएर जानुभयो?

म शालीन किसिमको मान्छे हुँ। मलाई कुनै कुरा कडा रूपमा प्रस्तुत हुनुपर्छ जस्तो लाग्दैन। हामी संसद्मा धेरै छौँ। त्यो अहिले पनि देखिएकै छ। के बुझ्नुपर्छ भने हाम्रो अहिले केन्द्रीय समिति छैन। हामीले महाधिवेशन आयोजक समिति बनाएका छौँ। यो समिति भनेको पार्टी कार्यकर्ताबाट निर्वाचन होइन÷हुँदैन। यो हामीले पार्टी चलाउन केन्द्रबाट बनाएको हो। यसलाई आधिकारिक मान्नु पर्दैन। हामीले जे आधिकारिक छ त्यसलाई मात्र विभाजन गरेका हौँ। सांसद संख्या धेरै थियो। हामीले त्यसलाई आधिकारिक मान्यौँ। संसदीय व्यवस्था यस्तो चिज हो, जहाँ संसद्लाई ठूलो मान्नुपर्छ। त्यही कारण सांसदलाई मात्र आधिकारिक मान्दै हामी बाहिरियौँ।

सांसद संख्या बढी हुँदाहुँदै पनि किन आफूहरूलाई संस्थापन पक्ष दाबी गर्नुभएन?

म अलग्गै प्रकृतिको मान्छे हुँ। हिजो एमालेमा रहँदा पनि एक्लै विद्रोह गरेँ तर साथीहरूले सहयोग गर्नुभयो। म यो सबैथोक भनेर सबै लिएर हिँड्नुपर्छ भन्ने ठान्दिनँ। अहिले हामीले जसपामा छुट्टिनुपर्छ मात्र भनेका हौँ। हामी छुट्टिन चाहन्थ्यौँ। विचार नमिलेपछि सँगै बस्नुको कारण थिएन। छुट्टियौँ।

अब कसरी अघि बढ्छ यात्रा? एमाले वा अन्य पार्टीसँग एकताको तयारीमा हुनुहुन्छ?

अब हामी बिस्तारै संगठन विस्तारमा लाग्छौँ। पार्टी भनेको जीवन हो। हामी यसका सिपाही हौँ। संगठन विस्तारसँगै सबैथोक मिलाएर अघि बढ्छाैँ। अहिले पार्टीको संगठनात्मक स्थिति दयनीय छ। यसलाई मिलाएर अघि बढ्न समय लाग्छ।

हामी कर्ममा विश्वास गर्ने मान्छे हौँ। हामी पार्टीलाई जीवन दिन लाग्छु। पहिले पार्टीको चर राम्रो बनाउने हो। अनि अन्यतिर सोच्ने हो। म जसपाबाट छुटेपछि धेरै साथीले बधाई दिनुभएको छ। चाहे, एमाले, माओवादी वा कांग्रेस सबैले शुभकामना दिनुभएको छ।

कतिपयले हाम्रोमा स्वागत छ भन्नुभएको छ। तर अहिले नै सबैथोक गर्नेपक्षमा म छैन। जहाँसम्म तपाईँले एमालेसँग कुरा उठाउनुभयो। म पहिले एमालेबाटै आएको हुँ। अहिले पनि एमालेका साथीहरूले मलाई बोलाउनुभएको छ। तर म अहिले नै त्यतातिर सोचिहालेको छैन। मेरो र एमालेको सिद्धान्त पनि मिल्दैन।

म हिजो छुट्टिएर जाँदा जे लिएर वा बोकेर गएको थिएँ त्यही शिरोपर गर्छु तर अहिले नै हतार गर्दिनँ। एकता नभए पनि समीकरणचाहिँ सबै दलसँग बन्छ। कांग्रेस, एमाले वा माओवादीसँग समीकरण बनाउन लाग्नेछु।

तपाईं पार्टी विभाजन गरेर आएपछि एमालेका कतिपय नेताले एमालेसँगै एकता हुन्छ भन्छन् नि त? के हो कुरा?

भन्नेले जे पनि भन्छन्। तर म अहिल्यै त्यसो गर्ने पक्षमा छैन। होला, अशोक दाइ हाम्रै हो कतिपयले भन्लान्। म खुसी मान्छु। अहिले पनि धेरै मलाई आफ्नै मान्नु हुँदो रहेछ। तर पार्टी एकीकरण नै गर्ने पक्षमा सोचेको छैन। भविष्यमा के हुन्छ, त्यो समयले देखाउने कुरा हो।

प्रकाशित: २६ वैशाख २०८१ ११:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + three =