दुई करोडले हेरे ‘सकम्बरी’

हिमाल प्रेस १९ वैशाख २०८० १५:२०
16
SHARES
दुई करोडले हेरे ‘सकम्बरी’

काठमाडौँ- गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ हेर्नेको संख्या दुई करोड नाघेको छ। सार्वजनिक भएको दुई सातामा गीतले दुई करोडभन्दा बढी भ्युज पाएको हो।

गीत अहिले नेपालमा ट्रेन्डिङमा नम्बर एकमा छ। गीत सार्वजनिक भएदेखि विवादमा छ। महिलालाई गलत रूपमा चित्रण गरेको भन्दै कतिपयले गीतको आलोचना गरेका छन्। केहीले समाजको वास्तविकता देखाएको भन्दै प्रशंसा पनि गरिरहेका छन्।

गीतबारे भइरहेको बहसबीच गायक सपुतले ‘सकम्बरी’ ल्याउनुमा आफ्नो कुनै गलत मनसाय नरहेको बताएका छन्। बरु आफ्नो सिर्जनाले प्रभाव पारोस्, व्यावसायिक रूपमा सफल होस् भन्ने उद्देश्यले गीत ल्याइएको उनको भनाइ छ। केही मान्छेले कुरै नबुझी आफ्नो चेतनामाथि प्रश्न गरेकोमा गायक सपुतले दुःखेसो गरेका छन्।

गीतमा आर्थिक अभाव र समस्याका कारण कामको खोजीमा सहर भित्रिएकी युवती बाध्यता र महत्वाकांक्षाका कारण गलत बाटो रोजेको म्युजिक भिडियोमा देखाइएको छ। उनको अभाव र समस्याको फाइदा उठाउँदै पुरुषहरूले उनीमाथि गरेको यौन उत्पीडनको कथा पनि भिडियोमा देखाइएको छ।

प्रकाश सपुत र व्रत गन्धर्वको स्वर रहेको गीतमा शब्द प्रकाश सपुतकै रहेको छ। संगीत संयोजन सुदीप सागरले गरेका हुन्। बाँसुरीमा रत्न बिक, सारंगी हेमन्त कान्छा रसाइली, गितारमा सञ्जीव बराइली, तबलामा भुवन गन्धर्व र मादलमा पोसन घर्तीमगर रहेका छन्।

प्रकाश सपुतकै निर्देशनमा बनेको म्युजिक भिडियोमा विवेक खड्काको कोरियोग्राफी रहेको छ। भिडियोमा कुसुम शर्मा, सुनील थापा, निक्स शर्मा, सञ्जोग रसाइली, सरस्वती अधिकारीलगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: १९ वैशाख २०८० १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =