पोखरामा ४० टन आलुको पहाड बनाइने

हिमाल प्रेस २० चैत २०७९ २१:०९
10
SHARES
पोखरामा ४० टन आलुको पहाड बनाइने

पोखरा– पोखरा २५ हेमजामा चैत २६ देखि वैशाख ३ सम्म ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ। आयोजक विष्णुपादुका क्लवले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सव तयारी करिब ७० प्रतिशत पुरा भएको जनाएको छ। महोत्सवको आकर्षण आलुको पहाड हो। जसमा ४० टनको थुप्रो हुने छ।

क्लब अध्यक्ष सुविन श्रेष्ठले स्टल तथा वाल उद्यान व्यवस्थापन, आलु ग्रेडिङ गरी संकलन गर्नेलगायतका कार्य धमाधम भइरहेको बताए। महासचिव वसन्तकुमार श्रेष्ठले महोत्सव हेमजाको ब्रान्डिङ भएको उल्लेख गर्दै यसले समग्र कास्कीलाई नै चिनाएको स्पष्ट पारे।

महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकारहरु प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कारलगायतका कार्यक्रम गरिने छ।

कोभिड संक्रमणका कारण ३ वर्षसम्म रोकिएको महोत्सवलाई यस वर्षदेखि क्लवले निरन्तरता दिन लागेको हो।

महोत्सवसँगै हेमजामा उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार हुने, हेमजालाई व्यवसायिक कृषि पर्यटकीय क्षेत्रका रूपमा देश विदेशमा चिनाउने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विभिन्न समुहमा व्यवसायिक कृषि खेती संचालन गर्न सहयोग तथा अभिप्रेरणा मिल्ने, क्लब भवन, तरकारी संङकलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्नेलगायतका उद्देश्य पनि राखिएको छ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महोत्सवसँगै हेमजाको आलुको प्रवद्र्धन हुने विश्वास व्यक्त गर्दै हेमजामा बढी मात्रामा लगाउने गरिएको एमएस ४२ जातको निलो आलु हाल सूचीकरण भइसकेको जानकारी दिए।

कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सिनाले गुणस्तरीय मूल बिउ, हावापानीलगायतका कारण उत्पादन घट्ने गरेको तथ्य आगाडि सार्दै हेमजालाई विशेष बिउ उत्पादन पकेट क्षेत्र निर्माण गर्न सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए।

पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले महोत्सव समग्रमा कास्कीवासीको चाड भएको उल्लेख गर्दै हेमजावासीले विषादीरहित तरकारी उत्पादनमा जोड दिनुपर्ने बताइन्। कृषक चित्रनाथ पौडेलले आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिँदै महोत्सवमा कृषक सहभागिता बढाउनुपर्ने बताए।

प्रकाशित: २० चैत २०७९ २१:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =