बुन्डेसलिगा फर्किएका टुकलको परीक्षा लिँदै डर्टमन्ड

हिमाल प्रेस १८ चैत २०७९ १८:५७
4
SHARES
बुन्डेसलिगा फर्किएका टुकलको परीक्षा लिँदै डर्टमन्ड

काठमाडौँ- थोमस टुकल बायर्न म्युनिखको प्रशिक्षक बनेको एक साता भयो। तर उनलाई यो एक साता एक महिना झैँ लागेको छ। उनलाई यस्तो किन पनि लागेको हो भने, उनी पूर्वटिम बोरुसिया डर्टमन्डसँगको खेलका लागि तयारीमा थिए।

‘यो साताको प्रत्येक दिन काम गरेर, खाएर र सुतेर बिते,’ शुक्रबारको ‘प्रि–म्याच कन्फ्रेन्स’ मा टुकलले भने। गत सिजन बुन्डेसलिगा उपाधि जिताएका युलियान नागल्समनलाई बर्खास्त गरेर बायर्नले टुकललाई नयाँ प्रशिक्षक बनाएको हो।

पहिलो खेलमै पूर्वक्लबको सामना गर्न लागेका टुकललाई थाहा छ बायर्नसँग अब धेरै समय छैन। उपाधि रक्षा गर्न बायर्नसँग अब नौ खेल मात्र बाँकी छ। ‘जति समय बाँकी भए पनि हामीले मेहनतत गर्नु नै छ,’ टुकल भन्छन्।

बुन्डेसलिगामा २५ खेल सकिँदा डर्टमन्ड शीर्षस्थानमा छ। डर्टमन्डको दोस्रो स्थानमा रहेको बायर्नसँग दूरी लामो छैन। मात्र एक अंकको हो। अबका खेलमा अधिकतम अंक बटुलेर डर्टमन्डलाई पछि पार्ने बायर्नको योजना हो। यो योजना शनिबार परीक्षण हुनेछ।

उसो त बायर्नसामु घरेलु चुनौती मात्र छैन। च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको सामना पनि गर्नुछ। अनि जर्मन कपमा फ्राइबगसँग पनि बायर्न भिड्न बाँकी नै छ।

‘बायर्न जस्तो क्लबका लागि प्रत्येक सिजनको अप्रिल र मे महिना सधैँ महत्त्वपूर्ण हुन्छ। यी दुई महिना उपाधि जित्न निर्णायक हुन्छन्। यसपालि पनि बायर्न त्यही स्थितिको सामना गर्दैछ,’ टुकलले भने।

टुकल सन् २०१५ मा डर्टमन्डको प्रशिक्षक बनेका थिए। योर्गन क्लपले छाडेपछि डर्टमन्डको जिम्मा लिएका टुकल दुई वर्षपछि नै बर्खास्त हुन पुगे। बर्खास्तगीका बाबजुद उनी डर्टमन्डसँग रिसाएका छैनन्। बदला दिने भावना पनि उनमा छैन।

‘६ वर्ष भयो डर्टमन्डबाट बिदा भएको। पेरिस सेन्ट जर्मेनसँग डर्टमन्ड जाँदा त्यहाँ मलाई राम्रो व्यवहार गरिएको थियो। मैले डर्टमन्ड छाड्नु परेकोमा मलाई मात्र होइन, धेरैलाई अहिलेसम्म पनि दुःख लागेको छ। तर यत्तिका वर्षपछि गुनासो वा रिस राख्नुको अर्थ छैन,’ टुकलले भनेका छन्।

टुकलले चेल्सी छाड्दाको पीडा भने अझै रहेको बताए। ‘चेल्सी एउटा परिवार जस्तो थियो। सबैसँग हार्दिक सम्बन्ध राखेको थिए। त्यसकारण त्यो क्लब छाड्नु पर्दा एकदम दुःख लाग्यो। अब म फरक परिस्थिति र चुनौतीको अगाडि छु,’ टुकलले भने।

एकपटक फेरि पूर्वक्लबको सामना गर्न लाग्दा टुकले बायर्नमा सबैभन्दा पहिलो एघार ठम्याउन सकेका छन्। ‘पहिलो खेल हो, यसकारण पहिलो एघार छनोट गर्दा केही खेलाडीलाई अन्याय पनि हुनसक्छ,’ टुकलले भने, ‘पहिलो साता भएकैले मैले खेलाडीहरुलाई कुनै प्रकारको दबाब महसुस गर्न दिएको छैन।’

डर्टमन्ड हाल बलियो लयमा छ। डर्टमन्डले पछिल्ला १० खेलमध्ये नौमा जित हासिल गरेको छ। जबकि त्यही अवधिमा बायर्नले जितेको खेल संख्या हो, पाँच। ‘हाम्रा लागि यो खेल असाध्यै चुनौतीपूर्ण छ। बलियो लयमा रहेको टिमविरुद्ध खेल्दा हामीले शतप्रतिशत मेहनत गर्नपर्छ, अरु विकल्प छैन,’ टुकलको भनाइ थियो।

उता डर्टमन्डका प्रशिक्षक एडिन ट्रेजिकले बायर्नले टुकललाई प्रशिक्षक बनाएसँगै आफूहरू फरक किसिमको तयारी गर्न बाध्य भएको प्रतिक्रिया दिएका छन्।

‘टुकलले नयाँ रणनीति बनाउँछन् वा नागल्समनकै रणनीतिलाई निरन्तरता दिन्छन्, हामीलाई थाहा छैन। जे जे भए पनि टुकल उच्चस्तरका प्रशिक्षक हुन्। यसकारण हामीले केही फरक तयारी गर्नुपरेको छ,’ ट्रेजिकले भनेका छन्।

ट्रेजिकका अनुसार डर्टमन्डका खेलाडीलाई टुकलको प्रशिक्षणमा चेल्सीले खेलेका खेल देखाइएको छ। ताकि उनले बायर्नलाई कसरी खेलाउलान् भनेर केही हदसम्म अड्कल काट्न सकियोस्। ट्रेजिकले टुकलको खुलेर प्रशंसा पनि गरेका छन्। चेल्सी पुगेको केही महिनामै च्याम्पियन्स लिग जित्नु चानचुने सफलता नभएको ट्रेजिकको भनाइ थियो।

टे«किजले नागल्समनको बर्खास्तगीबारे पनि टिप्पणी गरे। ‘जे भयो, त्यसमा म दुःखी छु। तर यो स्तरको फुटबलमा थोरै समयभित्र जे पनि हुनसक्छ,’ ट्रेजिकले भने।

डर्टमन्डले सन् २०१४ यता बायर्नलाई उसको मैदानमा हराउन सकेको छैन। तर यसपालि आफ्नो टिमले म्युनिखमा जितको खडेरी तोड्न सक्ने आशा ट्रेजिकले व्यक्त गरे। केही मुख्य खेलाडी चोटमुक्त भएकाले पनि ट्रेजिक आत्मविश्वासी देखिन्छन्।

डर्टमन्डका गोलरक्षक ग्रेगोर कोबेल, मिडफिल्डर युलियान ब्रान्ड्ट फरवार्डद्वय युसुफा मौकौको र करिम आडेयानी जस्ता खेलाडी यो खेलका उपलब्ध हुनेछन्। यद्यपि जेमी बिनो गिटन्स, निको स्लोटेरबेक र थोमस मेउनर लगायतका खेलाडी अझै मैदानबाहिरै छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =