केनको गोलले जोगियो बायर्न, लेभरकुजन शीर्षस्थानमा

हिमाल प्रेस १४ असोज २०८० ९:२२
10
SHARES
केनको गोलले जोगियो बायर्न, लेभरकुजन शीर्षस्थानमा

काठमाडौँ- जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले आरबी लाइपजिगसँग २-२ को बराबरी खेलेको छ। शनिबार रातिको खेलमा बायर्न दुई गोलले पछि परेको थियो। तर दोस्रो हाफमा लगातार दुई गोल फर्काउँदै बायर्नले हार टारेको हो।

बायर्नले पहिलो हाफको २० औँ मिनेटमा पहिलो गोल खाएको थियो। इकोमा लोइस ओपेन्डाले लाइपजिगका लागि गोलको खाता खोलेका थिए। त्यसको ६ मिनेटपछि नै लाइपजिगको अग्रता दोब्बर भएको थियो। यसपालि कास्टेल्लो लुकेबाले गोल गरे।

बायर्नले पहिलो गोल दोस्रो हाफको ५७ औँ मिनेटमा गोल फर्कायो। ह्यारी केनले पेनाल्टीमा गोल गरेका थिए। यही सिजन बायर्नसँग आबद्ध भएका उनले छैटौँ खेलमा आठौँ गोल गरेका हुन्।

बायर्नको दोस्रो गोल भने लेरो सानेको नाममा रह्यो। उनले ७० औँ मिनेटमा गोल गरेसँगै गत सिजनको च्याम्पियन बायर्नले लाइपजिगबाट एक अंक खोस्न सकेको थियो। बराबरीका कारण बायर्न तेस्रो स्थानमा झरेको छ। ६ खेल खेलिसक्दा बायर्नको १४ अंक छ। शीर्ष दुईमा रहेका बायर लेभरकुजन र स्टुटगार्टसँग क्रमशः १६ र १५ अंक छ।

लाइपजिगसँगको बराबरीपछि बायर्नका कप्तान जोसुआ किमिकले आफ्नो टिमले नखानु पर्ने गोल खाइरहेको प्रतिक्रिया दिए। प्रशिक्षक थोमस टुकलले भने पहिलो हाफमा आफ्ना खेलाडीले अत्यन्तै खराब प्रदर्शन गरेको बताए। ‘पहिलो हाफमा त हामीले खेल्नै सकेनौँ। दोस्रो हाफमा हाम्रो खेल सुध्रियो। र यो सुधार जरुरी पनि थियो,’ टुकलले भने।

उता लाइपजिगका प्रशिक्षक मार्को रोसले आफ्नो टिमले बायर्नको भन्दा बढी अवसर सिर्जना गरेको प्रतिक्रिया दिए। ‘आजको खेलले फेरि एकपटक प्रमाणित गरेको छ, लाइपजिग बुन्डेसलिगाका बलिया टिममध्येको एक हो,’ रोसले भने।

यो खेलको एक दिनअघि लाइपजिगले प्राविधिक निर्देशक म्याक्स इबेर्ललाई बर्खास्त गरेको थियो। उनी बायर्नसँग आबद्ध हुने हल्ला चलिरहेको छ। ‘उनले लाइपजिगप्रति जति प्रतिबद्धता देखाउनु पर्ने थियो, त्यति देखाएनन्,’ बायर्नका पूर्वरक्षकलाई बर्खास्त गरेपछि लाइपजिगले भनेको छ।

शनिबार ने भएको अर्को खेलमा शीर्षस्थानको लेभरकुजनले मेन्जलाई ३-० ले पराजित गर्यो। लेभरकुजनको अपराजित यात्रालाई जारी राख्न एलेक्स ग्रिमाल्डो र जोनास होफमानले एक-एक गोल गरे। लेभरकुजनले एक गोल भने उपहार पाएको थियो। मेन्जका सेप भान डेन बर्गले पहिलो हाफको १८ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए।

लेभरकुजनले यो सिजन ६ खेलमध्ये पाँचमा जित हात पारेको छ भने एकमा बराबरी गरेको छ। लेभरकुजनले बायर्न म्युनिखसँग २-२ को बराबरी खेलेको थियो।

बुन्डेसलिगाका अन्य खेलमा उल्फ्सबर्ग, बोरुसिया मन्चुनग्लाडबाग, स्टुटगार्ट र बोरुसिया डर्टमन्ड विजयी भए। सातौँ स्थानमा उक्लिन उल्फ्सबर्गले फ्रान्कफर्टलाई २-० ले पराजित गर्यो। उल्फ्सबर्गको जितमा दुवै गोल जोनास विन्डले गरे। २४ वर्षीय स्ट्राइकर विन्डले यो सिजन ६ खेलमा सात गोल गरिसकेका छन्।

एलासाने प्लेले दुई गोल गरेपछि मन्चुनग्लाडबागले बोकुमलाई ३-१ ले हरायो। विजयी टिमको अर्को गोल फ्लोरियल नेउहसले गरे। बोकुमबाट कप्तान एन्थोनी लोसिल्लाले एक गोल फर्काए।

दोस्रो स्थानको स्टुटगार्टले १६ औँ स्थानको एफसी कोलोनलाई २-० ले पन्छाउँदा डेनिज उन्डाभले दुई गोल गरे। उता डर्टमन्डले होफनहाइममाथि ३-१ को जित दर्ता गर्दा निकलस फल्कबर्ग, मार्को रुइस र जुलियान रेयर्सनले एक-एक गोल गरे। पराजित टिम होफनहाइमका लागि आन्द्रेज कामारिचले एक गोल गरे। जितपछि डर्टमन्ड चौथो स्थानमा उक्लिएको छ।

प्रकाशित: १४ असोज २०८० ९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =