लिग उपाधि गुम्ने भयले बायर्नमा प्रशिक्षक परिवर्तन, नागल्समनको स्थानमा टुकल

हिमाल प्रेस ११ चैत २०७९ १०:०७
10
SHARES
लिग उपाधि गुम्ने भयले बायर्नमा प्रशिक्षक परिवर्तन, नागल्समनको स्थानमा टुकल फाइल तस्बिर

काठमाडौँ- जर्मन लिग च्याम्पियन बायर्न म्युनिखले मुख्य प्रशिक्षक परिवर्तन गरेको छ। अब थोमस टुकलले बायर्न सम्हाल्नेछन्। बायर्नले शुक्रबार यो निर्णय गरेको हो। युलियान नागल्समनलाई हटाएर बायर्नले बोरुसिया डर्टमन्ड, पेरिस सेन्ट जर्मेन (पीएसजी) र चेल्सी जस्ता क्लबका मुख्य प्रशिक्षक रहिसकेका टुकललाई नियुक्त गरेको हो।

३५ वर्षीय नागल्समन अप्रिल, २०२१ मा बायर्नको मुख्य प्रशिक्षक बनेका थिए। आरबी लाइपजिग छाडेर बायर्न गएको नागल्समनले बायर्नलाई पहिलो सिजन नै बुन्डेसलिगा जिताएका थिए। यो सिजन २५ खेल सकिँदा बायर्न दोस्रो स्थानमा छ। उपाधि होडमा रहेको बायर्न शीर्षस्थानको डर्टमन्डभन्दा मात्र एक अंकले पछि परेको हो।

गत आइतबार बायर्न लेभरकुजनसँग २–१ ले हारेपछि बायर्नले मुख्य प्रशिक्षक परिवर्तन गर्ने हल्ला चल्न सुरु भएको थियो। नागल्समनकै नेतृत्वमा बायर्नले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान पक्का गरिसकेको छ। जहाँ बायर्नको भेट इंग्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीसँग हुनेछ।

नागल्समनलाई हटाइनुको मुख्य कारण बुन्डेसलिगामा बायर्नले गरेको प्रदर्शनलाई मानिएको छ। पछिल्ला १० सिजन लगातार बुन्डेसलिगा जितेको बायर्न यसपालि केही हदसम्म अस्थिर देखिएको छ। गत सिजन लिग जित्दा पाँच–पाँच खेलमा पराजय र बराबरीको नतिजा हात पारेको बायर्नले यसपालि तीन खेलमा हार व्यहोरिसकेको छ। अनि सात खेलमा बराबरीमा रोकिएको छ।

सामान्यतया बुन्डेसलिगामा बायर्नले जसरी दबदबा सिर्जना गर्छ, यो सिजन त्यो स्तरको दबदबा कायम गर्न नसकेको बताइँदैछ। जसकारण नागल्समनलाई बिदा दिएर सन् २०२१ मा चेल्सीलाई च्याम्पियन्स लिग जिताएका जर्मन प्रशिक्षक टुकललाई मुख्य प्रशिक्षक बनाइएको हो।

बायर्नका अनुसार नयाँ मुख्य प्रशिक्षक टुकलसँग जुन, २०२५ सम्मका लागि सम्झौता गरिएको हो। उनले सोमबारबाट बायर्नलाई अभ्यास गराउन सुरु गर्नेछन्। जर्मन समय अनुसार शनिबार बिहान टुकल पत्रकार सम्मेलनमा उपस्थित हुनेछन्।

दुई वर्षअघि नागल्सम्यानलाई पाँच वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको थियो। तर उनको नेतृत्वमा बायर्नले उपाधि रक्षा नगर्ला कि भन्ने भय उत्पन्न भएपछि टुकललाई जर्मनी लगिएको एएफपीको रिपोर्टमा उल्लेख छ।

उसो त टुकललाई यसअघि पनि बायर्नले मुख्य प्रशिक्षक बनाउन खोजेको थियो। सेप्टेम्बर, २०२२ मा चेल्सीबाट बर्खास्तगीमा परेपछि भने टुकल खाली थिए। जसकारण डटर्मन्डका पूर्वमुख्यप्रशिक्षकलाई नियुक्त गर्न सजिलो भयो।

टुकलले बायर्नको मुख्य प्रशिक्षकको हैसियतमा सामना गर्ने पहिलो विपक्षी डर्टमन्ड नै हुनेछ। अप्रिल १ मा हुने यो खेलबाट टुकलले आफ्नो नयाँ यात्राको सुरुवात गर्नेछन्। पीएसजी जानुअघि टुकल सन् २०१५ देखि २०१७ सम्म डर्टमन्डको मुख्य प्रशिक्षक थिए। टुकल सन् २०१५/१६ र २०१६/१७ सिजन डर्टमन्डमा रहे। पहिलो सिजन उनले डर्टमन्डलाई बुन्डेसलिगामा दोस्रो र दोस्रो सिजन तेस्रो बनाएका थिए।

बुन्डेसलिगामा अब नौ खेल बाँकी छन्। नागल्समनले डर्टमन्डसँगको आगामी खेल जित्नैपर्ने बताएका थिए। यद्यपि डर्टमन्डलाई हराएर शीर्षस्थान कब्जा गर्ने उनको लक्ष्य पूरा हुन सकेन।

नागल्समनलाई युरोपेली क्लब फुटबलमा उदाइरहेका प्रतिभावान् प्रशिक्षकहरूमध्येको एक मानिन्छ। यसकारण बायर्न छाड्नु परे पनि उनलाई जागिरको अभाव नहुने अनुमान गरिएको छ। बायर्नबाट बर्खास्तगीमा पर्नसाथ उनलाई इंग्लिस प्रिमियर लिगको टोटनहमसँग जोड्न थालिएको छ। त्यहाँ हाल एन्टोनियो कोन्टे मुख्य प्रशिक्षक छन्। क्लब व्यवस्थापन र खेलाडीसँग असन्तुष्ट रहेका कोन्टेले जिम्मेवारी त्याग्ने अनुमान छ।

उता टुकलाई पनि खह्रो स्वभावको प्रशिक्षक मानिन्छ। उनी क्लब व्यवस्थापनले आफूलाई भनेजस्तो साथ देओस् भन्ने चाहन्छन्। चेल्सी र पीएसजीमा व्यवस्थापनसँगको मनमुटावकै कारण टुकलको जागिर गएको थियो। उनले पीएसजीलाई दुई पटक घरेलु लिग जिताउनुका साथै एक पटक च्याम्पियन्स लिगको फाइनलसम्म पुर्‍याएका थिए।

टुकलको प्रशिक्षणमा चेल्सीले तीन उपाधि जितेको थियो। च्याम्पियन्स लिगबाहेक यूईएफए सुपर कप र फिफा विश्वकप जितेको चेल्सी एफए कप र लिग कपको फाइनलमा पराजित भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + five =