बुन्डेसलिगा : जोगियो डर्टमन्ड, लेभरकुजन शीर्षस्थानमा यथावत्

हिमाल प्रेस १३ कार्तिक २०८० ९:५७
4
SHARES
बुन्डेसलिगा : जोगियो डर्टमन्ड, लेभरकुजन शीर्षस्थानमा यथावत्

काठमाडौँ- जुलियान ब्रान्ड्टले उत्तरार्धमा गोल गरेपछि बोरुसिया डर्टमन्डले बुन्डेसलिगामा फ्रान्कफर्टसँगको हार टारेको छ। फ्रान्फर्टको मैदानमा एक अंक बटुलेपछि डर्टमन्डले चौथो स्थान बचायो।

डर्टमन्ड फ्रान्कफर्टसँग दुई पटक पछि परेको थियो। तर आखिरमा बराबरी गरेपछि च्याम्पियन बायर्नसँगको दूरी दुई अंकमा सीमित गर्‍यो। डर्टमन्डले आउँदो खेलमा बायर्नको सामना गर्दैछ। यो सप्ताहन्त डार्मस्टाटमाथि ८-० को जित हात पारेको बायर्न हाल दोस्रो स्थानमा छ।

जर्मन लिगको शीर्षस्थानमा भने बायर लेभरकुजन यथावत् छ। आइतबार राति फ्राइबर्गलाई २-१ ले हराएको लेभरकुजनसँग २५ अंक छ। जुन बायर्नको भन्दा दुई अंकले बढी हो।

‘खेलमा यो नतिजा नराम्रो होइन,’ पाँच खेलमध्ये एकमा मात्र पराजित भएको फ्रान्कफर्टसँगको बराबरीपछि डर्टमन्डका युवा रक्षक निको स्लटरबेकले भने।

केही दिनअघि च्याम्पियन्स लिगमा न्युकासल युनाइटेडमाथि १-० को संघर्षपूर्ण जित हात पारेको डर्टमन्ड हाल मुख्य खेलाडीको चोटका कारण समस्यामा छ। यही कारण डर्टमन्डले फ्रान्फर्टविरुद्ध सोचेजस्तो खेल्न सकेन।

इजिप्टका ओमार मार्मोसले गोल गरेपछि डटर्मन्ड आठौँ मिनेटमै पछि परेको थियो। मारियस उल्फले ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा मार्मोसले गोल गरेका थिए। मार्मोसले नै २४ औँ मिनेटमा फ्रान्कफर्टको अग्रता बढाएका थिए।

पहिलो रोजाइका गोलरक्षक ग्रेगर कोबेल घाइते हुँदै मैदान छाड्न बाध्य भएपछि डर्टमन्ड झन् अप्ठ्यारोमा पर्‍यो। ग्रेगरलाई प्रतिस्थापन गरेका अलेक्जान्डर मेयमरले मार्मोसमाथि फाउल गरेपछि फ्रान्कफर्टले दोस्रो पेनाल्टी पाउने सम्भावना थियो।

तर यसपालि डर्टमन्ड भाग्यमानी ठहरियो। ‘उनले भन्दा मैले पहिले बल छोएका कारण म बचेँ,’ राहत महसुस गरेका मेयरले भने।

पहिलो हाफ सकिनै लाग्दा डर्टमन्डले अग्रता घटायो। मार्सेल साब्टिजरले पाएको मौकामा गोल गरेपछि डर्टमन्डले खेलमा फर्कने संकेत गरेको थियो। उता दोस्रो हाफमा मार्मोसले ह्याट्रिकको अवसर खेर फालेका थिए। फ्रान्कफर्टका अरू खेलाडी पनि डर्टमन्डको बक्समा फितलो देखिन सुरु गरे।

यहीबेला डर्टमन्डले भने दोस्रो गोल गर्‍यो। बेन्चबाट मैदान छिरेका युवा स्ट्राइकर युसुफ मौकोकोले डर्टमन्डको बराबरी गोल गरे। डोयेल मालेनको स्थानमा खेलेका उनले ५४ औँ मिनेटमा गोल गरेका थिए।

दोस्रो गोल खाएपछि जागेको फ्रान्कफर्टले ६८ औँ अग्रता पुनः स्थापित गरेको थियो। फारेस चाइबीको गोलका कारण खेलमा अघि बढेको फ्रान्कफर्ट निर्धारित समय सकिन आठ मिनेट बाँकी छँदा तेस्रो गोल खान पुग्यो। ब्रान्ड्टले करिम एडेयेमीको क्रसमा गोल गरेर फ्रान्कफर्टलाई जितबाट वञ्चित गरे।

यसै साता होफनहाइमको सामना गर्न लागेका लेभरकुजनको आठौँ जितमा फ्लोरियन रिज र जोनास होफमनले एकएक गोल गरे। आठौँ स्थानको फ्राइबर्गबाट म्यानुएल गुल्डेले एक गोल फर्काए।

‘यो नतिजाबाट म खुसी छु। उनीहरूले हामीविरुद्ध निकै दबाब सिर्जना गरेका थिए। तर आखिरमा हामी विजयी भयौँ। कहिलेकाहीँ यस्तो कठिन जित पनि हात पर्छ,’ लेभरकुजनका प्रशिक्षक जाबी अलन्सोले भने।

यो सिजन एकै खेल नहारेको लेभरकुजनले पहिलो हाफमा ८० प्रतिशत बल पोसेसन राखेको थियो। नौमध्ये आठ खेल जितेको लेभरकुजनका लागि रिजले ३६ औँ मिनेटमा एकल प्रयासमा गोल गरेका थिए।

हालैका दिनमा बायर्नसँग जोडिँदै आएका रिज लेभरकुजनको दोस्रो गोलमा पनि संलग्न भए। उनकै पासमा मिडफिल्डर होफमनले गोल गरेका थिए। दोस्रो हाफको ७० औँ मिनेटमा गुल्डेले फ्रिकिकमार्फत आएको बललाई पोस्टको दिशा देखाए पनि फ्रान्कफर्टको हार टार्न पर्याप्त भएन।

प्रकाशित: १३ कार्तिक २०८० ९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =