बुन्डेसलिगालाई लेवान्डोस्की बिर्साउँदै केन

हिमाल प्रेस २६ कार्तिक २०८० ८:४३
10
SHARES
बुन्डेसलिगालाई लेवान्डोस्की बिर्साउँदै केन

काठमाडौँ- ह्यारी केनले गोल गय जारी राख्दा बायर्न म्युनिखले बुन्डेसलिगामा हाइडेहाइमलाई ४-२ ले पराजित गरेको छ। शनिबार राति आलियान्ज ऐरिनामा केनले दुई गोल गरे। बायर्नको अरु दुई गोल राफाएल गुरेरो र एरिक म्याक्सिम चोपु मोटिङको नाममा रहे।

जितपछि बायर्नले शीर्षस्थानमा एक अंकको अग्रता बनाएको छ। बायर्नसँग २९ र दोस्रो स्थानको बायर लेभरकुजनसँग २८ अंक कम छ। लेभरकुजनले बायर्नभन्दा एक खेल कम खेलेर त्यति अंक जम्मा गरेको हो। लेभरकुजनले आफ्नो ११औँ खेलमा आइतबार राति युनियन बर्लिनको सामना गर्दैछ।

केनले दुवै गोल पहिलो हाफमा गरेका थिए। यही सिजन बायर्न पुगेका केनको लिग गोल संख्या १७ पुगेको छ। उनले यति गोल ११ खेलमा गरेका हुन्। यही लय कायम राखे केन रोबर्ट लेवान्डोस्कीको कीर्तिमान नजिक पुग्ने अनुमान गरिँदैछ।

हाल बार्सिलोनामा रहेका लेवान्डोस्कीले सन् २०२०-२१ सिजनमा ४१ गोल गरेका थिए। जुन बुन्डेसलिगामा कुनै पनि खेलाडीले एक सिजनमा गरेको सर्वाधिक गोल हो।

तर केन भने आफू लेवान्डोस्कीको कीर्तिमानबाट टाढा भएको बताउँछन्। ‘मलाई थाहा छ, प्रत्येक पटक गोल गर्दा मलाई लेवान्डोस्कीसँग तुलना गरिनेछ। तर म उनको कीर्तिमानबाट टाढा छु।

अहिले म आफ्नो प्रदर्शन केन्द्रित हुन जरुरी छ। एक-एक खेल गर्दै अघि बढ्नु छ। आउँदो अप्रिलमा लेवान्डोस्कीको कीर्तिमाननजिक पुग्नसके भने त्यसलाई भंग गर्ने प्रयास गर्नेछु,’ केनले भनेका छन्।

केनले लगातार चौथो खेलमा गोल गरेका हुन्। उनले पछिल्ला चार खेलमा दुई पटक ह्याट्रिक गरिसकेका छन्। डेब्यु खेलमै गोल गरेका उनले लिगका ११ खेलमध्ये जम्मा दुईमा मात्र गोल गर्न सकेनन्। ‘मैले पहिलो पटक क्लब परिवर्तन गरेको हो। यहाँ आउन नै सजिलो थिएन। तर जर्मन फुटबलमा मेरा सुरुवात जस्तो भएको छ, त्यसमा म असाध्यै खुसी छु,’ ३० वर्षीय स्ट्राइकर केनले भने।

लेवान्डोस्की सन् २०२२ मा बार्सिलोना लागेपछि बायर्नले नयाँ स्ट्राइकरको खोजी सुरु गरेको थियो। बायर्न र बोरुसिया डर्टमन्डबाट ३८४ खेलमा ३१२ गोल गरेका लेवान्डोस्कीलाई प्रतिस्थापन गर्न त्यति सजिलो थिएन। तर केनले बलियो सुरुवात गरेका छन्।

केनले बुन्डेसलिगामा जति गोल गरेका छन्, त्यति गोल नौ क्लबले गरेका छैनन्। ‘जब स्ट्राइकर लयमा हुन्छ, तब गोल सजिलै भइरहन्छ। मैले यो लयलाई जारी राख्नुपर्छ,’ केनले भने।

बुन्डेसलिगाका अरु खेलमा बोरुसिया डर्टमन्ड स्टुटगार्टसँग २-१ ले पराजित भयो भने अग्सबर्ग र होफनहाइम तथा बोचुम र एफसी कोलोनले १-१ को बराबरी खेले। त्यसैगरी डाम्र्सटाट र मेन्जबीचको खेल गोलरहित बराबरीमा सकियो।

निकलस फल्कबर्गले पहिलो हाफको ३६औँ मिनेटमा गोल गरेपछि डर्टमन्डले स्टुटगार्टविरुद्ध उसकै मैदानमा अग्रता लिएको थियो। तर दोस्रो हाफमा डेनिज उन्डेभ र सेरहौ गुइरासेले एक-एक गोल गरेपछि स्टुटगार्ट विजयी बन्यो।

डर्टमन्ड बुन्डेसलिगामा अब लगातार तेस्रो खेलमा जितविहीन भएको हो। सुरुका तीन खेलमध्ये दुईमा बराबरी गरेर सिजनको सुरुवात गरेको डर्टमन्डले त्यसपछिका ६ खेल जितेको थियो। तर पछिल्लो समय डर्टमन्डले लय गुमाएको छ।

गएको सिजन बायर्नसनँग गोल अन्तरमा पछि पर्दा लिग उपाधि गुमाएको डर्टमन्ड अहिले आठ अंकले पछि परिसकेको छ। चौथो स्थानको डर्टमन्डसँग २१ अंक छ। आरबी लाइपजिगले आइतबार फ्राइबर्गलाई हराए डर्टमन्ड पाँचौँ स्थानमा झर्नेछ। डर्टमन्डलाई हराएको स्टुटगार्ट भने तेस्रो स्थानमा छ। स्टुटगार्टसँग ११ खेलबाट २४ अंक छ।

प्रकाशित: २६ कार्तिक २०८० ८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =