किशोर स्ट्राइकर रोड्रिगेजको गोलले रियल म्याड्रिड जोगियो

हिमाल प्रेस १४ फागुन २०७९ १०:४०
16
SHARES
किशोर स्ट्राइकर रोड्रिगेजको गोलले रियल म्याड्रिड जोगियो

काठमाडौँ- किशोर स्ट्राइकर अल्भारो रोड्रिगेजले ५ औँ मिनेटमा गोल गरेपछि रियल म्याड्रिड ‘म्याड्रिड डर्बी’ मा हारबाट जोगिएको छ। शनिबार राति सान्टियागो बेर्नाबेउमा एट्लेटिको म्याड्रिडले जोसे गिमिनेजको गोलमार्फत ७८ औँ मिनेटमा अग्रता लिएको थियो।

ला लिगामा दोस्रो खेल खेल्न ७७ औँ मिनेटमा मैदान प्रवेश गरेका उरुग्वाका १८ वर्षीय रोड्रिगेजलले लुका मोड्रिचले प्रहार गरेको कर्नरबाट आएको बललाई हेड गर्दै जाली चुमाएका थिए। १० खेलाडीमा सीमित एट्लेटिकोसँग बराबरी खेलेपछि रियलले शीर्षस्थानको बार्सिलोनासँगको दूरी सात अंकमा झारेको छ। तर आइतबार राति अल्मेरियालाई हराए बार्सिलोनाले फेरि अग्रता बढाउने छ।

६४ औँ मिनेटमा एन्गल कोरेआले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा सीमित भएको थियो। रियलका रक्षक एन्टोनियो रुडिगरलाई कुइनोले प्रहार गरेपछि कोरेआलाई रेफ्रीले सिधैँ रातो कार्ड देखाए।

रोड्रिगेजले रियलको जर्सीमा फेब्रुअरी १८ मा पहिलो लिग खेल खेलका थिए। ८८ औँ मिनेटमा मैदान छिरेका उनले आतिरिक्त समयमा मार्को असेन्सियोलाई असिस्ट गरेका थिए। रोड्रिगेजले फेरि एकपल्ट ‘सुपर सब’ को भूमिका निर्वाह गरेको खेललाई लिएर रियलका प्रशिक्षक कार्लो एन्सिलोट्टी सन्तुष्ट देखिएनन्। उपाधि रक्षा गर्ने अभियान क्रमशः कमजोर बन्दै गएको उनको भनाइ थियो।

‘ला लिगा उपाधिबाट हामी पूर्ण रुपमा टाढा भइसकेका छैनौँ। तर अब उपाधि रक्षा गर्न कठिन हुनेछ। यद्यपि हामी अन्तिमसम्म लड्नेछौँ,’ एन्सिलोट्टीले भने।

उनले रोड्रिगेजको तारिफ भने गर्न बिर्सिएनन्। ‘अल्भारो (रोड्रिगेज) ले आफ्ना प्रतिभा देखाइरहेका छन्। उनले त्यति धेरै खेल्ने मौका पाएका छैनन्। यसकारण आजको खेल उनका लागि विशेष रह्यो। यो सिजन महत्त्वपूर्ण मोडमा प्रवेश गर्दै गर्दा रियलका लागि उनी उपयोगी खेलाडी हुने आशा मैले गरेको छु,’ एन्सिलोट्टीले भने।

अर्को सिजन भने रोड्रिगेज सिनियर टिमको पूर्णकालिन सदस्य हुने एन्सिलोट्टीले स्पष्ट पारे। ‘सिनियर टिमबाट खेल्न उनीसँग पर्याप्त कौशल छ। शारीरिक रुपमा बलिया र अग्ला छन्। अप्ठ्यारो स्थिसतमा पनि बल नियन्त्रणमा लिन सक्छन्। अर्को सिजन उनलाई बढी मौका दिने योजना छ,’ एन्सिलोट्टीले भने।

सहरी प्रतिद्वन्द्वीलाई बराबरीमा रोकेपछि चौथो स्थानको एट्लेटिकोको २३ खेलबाट ४२ अंक भएको छ। जुन पाँचौँ स्थानको बेटिसभन्दा दुई अंकले बढी हो। दुई सिजनअघि ला लिगा च्याम्पियन बनेको एट्लेटिको यसपालि संघर्षरत छ। सन् २०१६ यता रियललाई उसको मैदानमा हराउन नसकेको एट्लेटिको गत जनवरीमा ३–१ ले पराजित भएको थियो।

स्पेनिस सञ्चारमाध्यमका अनुसार म्याड्रिड डर्बी खेलाउने जिम्मा रेफ्री जेसुस गिल मान्जानोलाई दिइएकोमा एट्लेटिको सन्तुष्ट थिएन। मान्जानोले सन् २०१९ मा एट्लेटिकोका तत्कालिन स्ट्राइकर डिएगो कोस्टालाई रातो कार्ड देखाएका थिए। कोस्टाले आफूलाई अभद्र व्यवहार गरेको आरोप उनको थियो। पछि कोस्टामाथि आठ खेलको प्रतिबन्ध लगाइएको थियो। यसपल्ट पनि उनले एट्लेटिकोलाई १० खेलाडीमा झारिदिए।

मान्जानोको यो निर्णयप्रति एट्लेटिकोका प्रशिक्षक डिएगो सिमओने असन्तुष्टि पोखे। ‘कोरेआले रातो कार्ड खानेगरी गल्ती गरेका थिएनन्। फुटबल एकअर्कालाई नछोई खेल्न सकिँदैन। समर्थक महँगो टिकट काटेर आफ्नो टिम र मन परेको खेलाडीलाई हेर्न आउँछन्। तर रेफ्रीका कारण खेल नै खल्लो बन्छ,’ सिमओनेले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =