रियलको जितमा बेन्जेमाको ह्याट्रिक, बलियो बन्दै एट्लेटिको

हिमाल प्रेस २० चैत २०७९ १०:४२
12
SHARES
रियलको जितमा बेन्जेमाको ह्याट्रिक, बलियो बन्दै एट्लेटिको गाेलकाे खुसीयाली मनाउँदै रियल म्याड्रिडका खेलाडी।

काठमाडौँ- कप्तान करिम बेन्जेमाले सात मिनेटमा तीन गोल गरेपछि रियल म्याड्रिडले ला लिगमा आइतबार राति रियल भाल्लाडोलिडलाई ६-० ले पराजित गरेको छ। बार्सिलोनालाई पछ्याइरहेको च्याम्पियन रियलका लागि बेन्जेमाले पहिलो हाफको २९, ३२ र ३६ औँ मिनेटमा गोल गरेका थिए। रियलका बाँकी गोल रोड्रिगो, मार्को असेन्सियो र लुकास भास्क्वेजको नाममा रहे।

यो जितपछि रियलको २७ खेलबाट ५९ अंक भएको छ। रियलभन्दा १२ अंकले अघि रहेको शीर्षस्थानको बार्सिलोनासँग ७१ अंक छ। बार्सिलोनाले लिगमा २३ औँ जित दर्ता गर्ने क्रममा शनिबार एल्चेलाई ४-० ले पन्छाएको थियो।

ला लिगा सकिन ११ खेल बाँकी रहँदा तेस्रो र चौथो स्थानका लागि प्रतिस्पर्धा रोचक बन्दै गइरहेको छ। आइतबार राति नै भएको खेलमा छैटौँ स्थानको भिल्लारियलले चौथो स्थानको रियल सोसिडाडमाथि २-० को जित हात पार्‍यो। उता तेस्रो स्थानमाथिको पकड बलियो बनाउन एट्लेटिको म्याड्रिडले पाँचैँ स्थानको रियल बेटिसमाथि १-० को साँघुरो जित दर्ता गर्‍यो।

भाल्लाडोलिडसँगको खेल रियलका लागि आउँदो एल क्लासिकोका लागि मजबुत तयारी बन्यो। रियल कोपा डेल रेको सेमिफाइनलमा आगामी बुधबार बार्सिलोनासँग भिड्दैछ। रियल गत मार्च १९ मा पनि रियल र बार्सिलोना आमनेसामने भएका थिए। ला लिगको त्यस खेलमा बार्सिलोना २-१ ले विजयी भएको थियो।

घरेलु मैदानमा रियललाई रोड्रिगोले २२ औँ मिनेटमा अघि बढाएका थिए। नम्बर १० को भूमिकामा देखिएका रोड्रिगोको गोल मार्को असेन्सियोको पासका कारण सम्भव भएको थियो। त्यसपछि भिनिसियस जुनियरको पासमा बेन्जेमाले लगातार दुई गोल गरे। बेन्जेमाले ३६ औँ मिनेटमा ओभरहेड गोल ह्याट्रिक पूरा गरे। चोटका कारण ला लिगामा १० खेल गुमाएका बेन्जेमाका लागि त्यो १४ औँ गोल थियो।

ला लिगाको उच्च गोलकर्ता बन्ने दौडमा रहेका ३५ वर्षीय बेन्जेमा अब रोबर्ट लेवान्डोस्कीभन्दा मात्र पछि छन्। ३४ वर्षका लेवान्डोस्कीको नाममा १७ गोल छ।

रियलका प्रशिक्षक कार्लो एन्सिलोट्टीले अग्रपंक्तिका चारै खेलाडीको प्रदर्शनमा सन्तुष्टि व्यक्त गरे। रियलको अग्रपंक्तिका बेन्जेमाबाहेक रोड्रिगोले एक गोल तथा एक असिस्ट, रोड्रिगोले एक गोल दुई असिस्ट र भिनिसियसले दुई असिस्टको योगदान गरे।

‘अग्रपंक्तिका चार खेलाडीले नै भने जस्तो खेल देखाए। उनीहरूबीचको तालेल गजबको थियो। एकअर्कासँग स्थान साटेर खेल्नेदेखि चाहिएको बेला मिडफिल्डमा प्रेस गर्नेलगायतका काम गरे,’ एन्सिलोट्टीले भने।

जारी सिजन १५ औँ हारको सामना गरेको भाल्लाडोलिड १६ औँ स्थानमा छ। ब्राजिलेली रोनाल्डकोको स्वामित्वमा रहेको भाल्लाडोलिड र १८ औँ स्थानको अल्मेरियाबीच मात्र एक अंको दूरी छ। २७ खेलबाट २८ अंक बटुलेको भाल्लाडोलिड रेलिगेसनको प्रबल दाबेदार हो।

भाल्लाडोलिडका प्रशिक्षक पाचेटाले रियलविरुद्ध आफ्नो टिमले निकै गल्ती गरेको प्रतिक्रिया दिए। ‘हामी क्रमशः कमजोर बन्द गइरहेका छौँ। रियल जस्तो बिलयो टिमसँग खेल्दा बारम्बार गल्ती गर्नु हुँदैन थियो। हामी हरेक पक्षमा आजको भन्दा बलियो बन्न जरुरी छ,’ निराश पचेटाले भने।

प्रतिस्पर्धा चौथो स्थानको
सन् २०२३ मा अपराजित रहेको एट्लेटिकोले बेटिसलाई हराउँदा एंगल कोरेआले ८६ औँ मिनेटमा निर्णायक गोल गरे। एट्लेटिको नहारेको खेल संख्या अब ११ पुगेको छ।

भिल्लारियलकाे अपराजित शृंखलालाई पाँचौँ खेलमा पुर्‍याउन डानियल परेखो र निकलस ज्याक्सनले ७७ र ८१ औँ मिनेटमा गोल गरे। यो जितपछि भिल्लारियलको २७ खेलबाट ४४ अंक भएको छ। एट्लेटिकोसँग पराजित बेटिस ४५ अंकसहित पाँचौँ स्थानमा छ।

ला लिगाका अन्य खेलमा सेल्टा भिगो र अल्मेरियाले २-२ को बराबरी खेल्दा सेभियाले काडिथलाई २-० तथा जिरोनाले इस्पान्योललाई २-१ ले हराए। मयोर्का र ओसासुना तथा एथ्लेटिको बिल्बाओ र गेटाफेबीचको खेल गोलरहित बराबरीमा सकिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =