नियात्रा

आमा यांग्रीको शिखर र गुराँसे बतास

राजाराम बर्तौला ५ जेठ २०८१ १५:१६
160
SHARES
आमा यांग्रीको शिखर र गुराँसे बतास

२०८१ को वैशाख सकिन लागेको थियो। वसन्तको यौवना सकिएर गृष्म ऋतुको आगमन हुँदै थियो। आकाशमा बादलको झुण्डहरूको उपस्थितिले वर्षा ऋतुपूर्वको पूर्वाभास दिँदै थियो। हिमाल आरोहीहरू आरोहणको तयारी गर्दै गर्दाको समयमा हामी भने काठमाडौँबाट नजिकै पर्ने हेलम्बुको पदयात्राको तानाबाना गर्दै थियौँ। हेलम्बुको पदयात्रा गर्नुको अर्को उद्देश्य हेलम्बुको रक्षा गर्ने सम्पन्नताकी देवी आमा यांग्रीको शिखरमा पुग्नु पनि थियो।

हेलम्बु क्षेत्र परापूर्वकालदेखि एउटा आकर्षणको केन्द्र रहँदै आएको छ। यो क्षेत्र पाश्चात्य पदयात्रीहरूको रोजाइको क्षेत्र त हुँँदै हो। वर्तमानमा युवा नेपालीको रोजाइको गन्तव्य बन्दै गइरहेको तथ्य विदितै छ। हेलम्बु क्षेत्रमा नेपाली समाजमा पाइने सांस्कृतिक विशिष्टताको अनौठो संगम पनि देखिन्छ। शेर्पा जाति बाहुल्य भएको यहाँको सांस्कृतिक परिचय भनेको ह्योल्मो संस्कृति हो। नेपाली विशिष्टताको यो संस्कृति नेपाली र तिब्बती संस्कृतिको अन्तरघुलनबाट निःसृत विशिष्ट पहिचान हो।

हेलम्बुबाट प्रभावित भएर प्रसिद्ध लोकगीत गायक कुमार बस्नेतले उही बेला गीत गाएका थिए, ‘हेलम्बुकी शेर्पिनी राम्रा भन्छन् सबैले…।’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले म्हेन्दु खण्डकाव्य लेख्न भ्याएका थिए। हेलम्बुको स्याउ यसै पनि लोकप्रिय छ। हेलम्बु रसिलो त छ नै यो सांस्कृतिक रुपमा समृद्ध पनि छ।

यही हेलम्बुको रक्षाकी देवी हुन् आमा यांग्री शिखर। काठमाडौँबाट नजिकैका शिखरमा पदयात्रीहरूको राजाइमा परेको एउटा अति नै प्राकृतिक सौन्दर्यले भरिपूर्ण, धार्मिक महिमा समेत बोकेको लोकप्रिय प्रचलित शिखर पनि हो। यही शिखरको पदयात्रा गर्ने विचारले ‘हाइक फर नेपाल’को आयोजनामा हामी २०८१ को वैशाख २८ गते त्यसतर्फ प्रस्थान गर्‍यौँ।

काठमाडौँबाट जोरपाटी, साँखु जहरसिंहपौवा लप्सीफेदी हुँदै हेलम्बुतर्फ लाग्दा जहरसिंहपौवासम्मको बाटोको अवस्था राम्रै थियो। लप्सीफेदीबाट पूर्व लागेपछि भने बाटोको अवस्था दयनीय रहेछ। बाटोमा राखिएका निर्माण सामग्री देख्दा बाटो निर्माणका लागि ठेक्कापट्टा भएको छ भन्ने अनुमान लगाउन कठिन थिएन। कहिलेसम्ममा यसको अवस्था सुध्रने हो ठेगान छैन। मेलम्ची नपुगेसम्म बाटो यस्तै छ।

मेलम्चीको केही किलोमिटर पिच सडक भेटिए पनि मेलम्ची बजार कटेपछि मेलम्ची नदीको किनारैकिनार तिम्बुसम्म कच्ची बाटो गुड्छन् सवारीहरू। तिम्बुबाट उकालो लागेपछि २५५० मिटरको उचाइमा रहेको तार्केघ्याङसम्म उकालीहरूमा ढुंगा छापेको र अन्य धेरै ठाउँमा प्राकृतिक साँघुरो कच्ची बाटोमा थचारिँदै यात्रा गर्‍यौँ। तिम्बुदेखि तार्केघ्याङसम्मको तीनवटा घुम्तीमा हामी चढेको मिनी बसलाई पनि घुम्ती नपुगेर बसलाई पछाडि सार्दै घुमाएर अगाडि बढाउन परेको थियो। सम्भावित अनिश्चयको भयमा सवारी सचालकको दक्षतायुक्त सीपको भर र विश्वासमा टिकेको यो बसयात्रामा यात्रा गर्दाको रोमाञ्चकता पनि थपिएको थियो।

मेलम्चीको नाम काठमाडौँवासीका लागि स्वाभाविक रूपमा तिर्खा मेटाउने आशासँग जोडिएको छ। मेलम्ची र खानेपानी काकाकुल काठमाडौँवासीका लागि एउटा पूरक नाम भएको छ, कहिल्यै पूरा नहुने योजना। आस नगरौँ, धाराबाट कहिलेकाहीँ पानी चुहिन्छ, आस गरौँ, कहिल्यै पनि मेलम्चीको पानीले प्यास मेटिएको होइन। आउने र जाने, चुहिने र चुहाउने खेल जारी छ मेलम्चीमा। नेपालीपना र चरित्रको हाम्रो विकासे राष्ट्रिय योजना। मेलम्चीको बगर जसरी शुष्क छ, त्यसैगरी शुष्क छ हाम्रा सोचाइ र गराइ पनि।

झण्डै तीन वर्ष अघि अर्थात् २१ जुन २०२१ मा मेलम्ची खोलाको स्रोत मुहान आसपास क्षेत्रमा भएको अप्रत्यासित घनावृष्टि (क्लाउड ब्रस्ट) ले पेमदाङखोला, यांग्रीखोला र लार्केखोलामा आएको भीषण बाढी र यसले बगाएर ल्याएको थेग्य्रानले मेलम्ची नदीको तल्लोतट (डाउनस्ट्रिम) मा भएका बस्तीहरू पुरेर ठूलो धनजनको क्षति गरेको थियो। अहिले हामी यही नदीको किनार भएर यात्रा गर्दै गर्दा बगरमा परिणत भएको बस्ती, खोलाले बगाएका घरहरूको अवशेष, डुबानमा परेका र उपयोगविहीन बनेका घरहरू देख्दा मेलम्चीले दिएको मानवीय पीडाको चीत्कारको संवेदना अनुभूत गरिरहेका थियौँ। यही बाढीको प्रकोपमा परेर मेलम्ची खानेपानी योजनालाई पनि नराम्रो गरी क्षति पुर्‍यायो। यसको प्रभाव अहिलेसम्म पनि काठमाडौँवासीले खानीपानीको खभाव झेलेर भोग्नुपरिरहेको छ।

यही मेलम्चीले दिएको पीडा भुलेर फेरि जीवन उठेको देखिन्छ नदी तटमा। आखिर जीवन भनेको यस्तै नै त होला पीडा भुलेर पनि बाँच्नुपर्ने। सबै सिद्धिएर पनि जीजीविषा साँचेर त्यसैको धरामा उठ्नुपर्ने। हिजोको पीडा भुलेर मेलम्ची फेरि उठेको देखिन्छ यहाँको गह्राहरूमा, शिल्पी हातहरूमा। नदीतट भएर हिँड्दै गर्दा मेलम्चीले छोडेर गएका घाउका डोबहरूमा लागेको पाप्रा र अभौतिक क्षतिको आवाजको दस्तक सुन्यौँ।

अगाडि बाटोको आकारप्रकार नाप्दै, गाडीको सिटबाट भीर हेर्दै, घरिघरि सास रोक्दै, कहिले पहाडको शिर र कहिले फेदी हेर्दे, हामी बसको धिमागतिसँगै उकालो चढ्दै गयौँ। घरिघरि पहाडका चेपचेप, भिरालोमा बसेका बस्तीहरू हेरेर रमाउँदै पनि थियौँ। उकालो चढ्दै जाँदा चिसो पनि बढ्दै गएको थियो। सेता लहरै मानेहरू, अलि पर झुम्म परेको बस्तीमा गएर बस रोकियो। यही नै रहेछ तार्केघ्याङ। तार्केघ्याङ सिन्धुपाल्चोक जिल्लाको हेलम्बुमा अवस्थित छ। यो समुद्री सतहबाट २५५७ मिटर उचाइमा छ।

मेलम्ची बजार आसपास क्षेत्रीबाहुनको घनाबस्ती छ भने उचाइ बढे्दै जाँदा मिसमास हुन्छ र तामाङ समुदायको बाहुल्य देखिन्छ भने तिम्बु फेदीबाट माथि लागेपछि शेर्पा बस्ती धेरै छ। तार्केघ्याङ पूर्णतः शेर्पाबस्ती हो।

तार्केघ्याङसम्म आइपुग्दा हामीले काठमाडौँबाट ९० किलोमिटरको यात्रा तय गर्‍यौँ। बिहान ८ बजे हिँडेका हामी यहाँ पुग्दा २ बजेको थियो। पाँचदस मिनेट जहरसिंहपौवामा रोकिएका थियौँ भने खाना खान आधा घन्टा मेलम्चीबजारमा। बीचको एक घन्टा समय घटाउने हो भने पनि पाँच घन्टामा ९० किलोमिटरको यात्रा गरेछौँ।

तार्केघ्याङ ह्योल्मो संस्कृतिको केन्द्र हो। यहाँ रहेको पुरानो घ्याङको पुनर्निर्माण कार्य भारतीय आर्थिक सहयोमा हुँदै गरको छ। यस्तो विश्वास गरिन्छ कि परापूर्वकालमा गुरु रिन्पोछेले यो ठाउँको र आमा यांग्रीको भ्रमण गरेका थिए। गुरु रिन्पोछेले यो ठाउँमा र आमा यांग्रीमा ध्यान गरेका थिए। त्यसैले बौद्ध धर्मावलम्बीहरू गुरुरिन्पोछेको पदमार्गलाई पछ्याउँदै तत् ठाउँहरूमा ध्यान साधना गर्न चाहन्छन्।

दिनको दुई बजेसम्म बसयात्रा गरेका हाम्रो पदयात्रा यही प्रस्थान बिन्दुबाट सुरु हँदै थियो। यहाँबाट ठाडो उकालो चढेर ३२०० मिटरमा रहेको आमायांग्र्री आधार शिविरमा गएर बास बस्ने कार्यक्रम थियो। अर्थात् २५५७ मिटरबाट ३२०० मिटर करिब ७०० मिटर ठाडो उकालो चढ्नु थियो। तार्केघ्याङबाट तीन किलो मिटर मात्र माथि हो आधार शिविर तर उकालो चढ्दै जाँदा साढे दुई घन्टा लाग्यो। पाँच बजे आधारशिविर पुग्यौँ।

पदयात्राका लागि अत्यावश्यक सामान भएको झोलासहितको आठदस केजी भारी बोकेर उकालो चढ्नु, त्यसमाथि पनि शिखरको उकालो कठिन काम हो। तरतर पसिना चुहाउँदै चुइँचुइँ गर्दै उकालो काट्यौँ। ३२०० मिटरसम्म पुग्दा लेक लाग्ने पो हो कि भन्ने शंका पनि थियो। माथि आधार शिविर रमा २ वटामात्र होटल छन् भन्ने सुनेका थियौँ। आयोजकले रुम सेयर गरेर सुत्नपर्छ भनेको थियो। जतिजति सूर्य ओरालो लाग्दै थियो, पुग्नुपर्ने ठाउँको दुरी छोटिँदै थियो, मनभित्र कौतूहल बढ्दै थियो। बास त पाइएला नै तर कस्तो ठाउँ होला? गोसाइँकुण्डको मेलामा बाटोभरि बनाइएका अस्थायी छाप्रो जस्तो त होइन होला भन्ने जस्ता प्रश्न आइरहेका थिए।

टुप्लुक्क नेटोमा आइपुग्दा आधार शिविर पनि देखियो। आमा यांग्री आधार शिविर भनेर नयाँ नामकरण गरिएको हो। यसको पुरानो नाम झुमोथाङ हो। पदयात्रीका लागि हिँड्ने बाटोको अतिरिक्त यहाँसम्म फोरह्विल गाडी र माटरसाइकल जाने गरी सडक बनाइएको रहेछ। केही गाडीहरू र मोटरसाइकल पनि देख्यौँ। दुइटा होटल मात्र रहेछ यो ठाउँमा। हाम्रा लागि ब्यवस्था गरिएको भनिएको होटल भञ्ज्याङबाट केही मिटर तल रहेछ। घर त रहेछ तर अतिथिहरूका लागि भने टेन्टमा सुत्नुपर्ने। ‘चरीको कहाँ होला घर रात काट्यो डालीमा बसेर..’ भनेजस्तो टेन्टभित्र खाँदिएर रात काट्यौँ।

पाँच बजे आधार शिविर पुगेका हाम्रा लागि त्यहाँको वातावरण र सौन्दर्यको भरपूर आनन्द लिने अवसर मिल्यो। भारी बोकेर उकालो चढ्दा पसिनाले लपक्के भिजेको जर्सीले त्यहाँको जाडो थाम्ने अवस्था थिएर। झोला खेलेर भएभरको न्याया लुगा निकालेर लगायौँ। चिसो हावाको स्पर्शले दुई किसिमको अनुभूति दिन्छ; न्यानो लुगा नहुनेहरूका लागि स्याँठको कहर, न्यानो लुगा लगाउनेहरूको लागि भने स्वप्निल रोमाञ्चकता।

तरेली परेका डाँडाहरू। गुराँसका विभिन्न प्रजातिका फूलहरूले सजिएर गमक्क पर्दै ढकमक्क भएर ढाकिएर बसेकी, फूलैफूलकोे पछ्यौरी ओडेकी, यस्ती सुन्दरीको केशराशिलाई बादलको झोक्का आएर हल्लाएर जान्छ। ऊ केशराशि सुम्सुम्याउदै लजाउँछे। बादलको चिसो हावाले चुमेर जान्छ। बादलभित्र गुराँसे लुकामारी अपूर्व आनन्दको संगमस्थल देखिन्छ। साँझ नपरिउन्जेल हामीले यो आनन्दको रमणीयता र त्यसको मुग्धता उठाइरह्यौँ। क्षुधा शान्त गरेपछि भने बाहिर आँगनमा आगो बालेर गीत गाउँदै नाच्यौँ।

फेरि उकालो चढ्नुछ हिजोभन्दा कठिन। अझै माथि। ३७७१ मिटरको उचाइसम्म पुग्नुछ। ब्रह्म मुहूर्तमा टर्च लाइट बालेर उकालो लाग्यौँ। पहाड खुल्दै गयो। उज्यालो हुँदै गयो। बाटाका गुराँस देखिँदै गए। गुराँसै गुराँस, बाटैभरि गुराँस। झरेका गुराँसका गुच्छाले बाटो सुशोभित। स्वर्गतुल्य सुन्दर, अतिसय आकर्षित रहरै लाग्ने वनपखेरा। रातो गुराँस झरेर गइसकेका थिए। बाँकी हामीलाई स्वागत गर्न बसेका थिए– सेतो, गुलाबी, वैजनी रङका गुराँसहरू।

काठमाडौँदेखि काठमाडौँसम्म खाँदाबस्दा उठ्दा, हिँड्दा, अनन्य सहयात्री रहनुभयो ऋतुराज भण्डारी। उमेरले नेटो काटिसकेका हामी दुई भाइ सायद अन्य युवाका लागि प्रेरणास्रोत थियौँ होला। उकालीको बीचमा सुस्ताएर अलमलिएकाहरू पनि हामीलाई देखेर साहस बटुलेर अगाडि हिँडेका देख्यौँ। उकालोेमा एकछिन आराम गर्दै गरेका एउटा भाइले भने, ‘हैन सर, यी भगवान्हरू किन यस्तै अक्करमा, अप्ठेरोमा र कठिन ठाउँमा आएर बस्छन्?’ मसँग त्यसको सटीक उत्तर त थिएन तैपनि भनेँ, ‘सत्यको खोज र प्राप्ति कठिन हुन्छ भन्ने ज्ञान दिन होला नि।’ सायद उनको चित्त बुझ्यो होला। केही नबोली लौरो समाएर उकालो लागे।

यहाँको उकालोको तीन खण्ड छ। पहिलो खण्ड गुराँसे जंगल र ठाडो बाटो। दोस्रो खण्ड गुराँसे जंगल र पत्थर र चट्टाने भीर। अन्तिम खण्ड निँगालो, घाँसे पाखो र चट्टान। पहिलो खण्डको हिँडाइमा नै पदयात्रीको धैर्य, क्षमता, र शारीरिक अवस्थाको परीक्षण हुन्छ। कतिपय पदयात्री बीचबाटोबाट फर्कन चाहेको पनि देखियो। बाटोभरि गुराँसको फूलको परागसमेत हुँने र हिँड्दा मुन्टो निहुरिने हुँदा सुरुको अवस्थामा टाउको दुख्न सक्छ। सास फुलेर हिँड्न समस्या आउन सक्छ। हिम्मतसहित प्रयासलाई निरन्तरता दिएको अवस्थामा शिखरसम्म पुग्न सकिन्छ। शिखरमा पुग्दा मेरो हातमा रहेको अल्टिमिटरले ३७७१ मिटरको उचाइ मापन गर्‍यो।

शिखरमा मन्दिर निर्माण गरिएको छ। गुरु रिन्पोछेको प्रतिमालाई स्थापना गरिएको छ। यहाँ पहिला गुफा मात्र थियो भनेर भनिन्छ। स्थानीयको नीति प्रयासमा यहाँ निर्माण गरिएको गुम्बाको नाम ‘आमा यांग्री जाँग्डो पाल्टी गुम्बा’ हो। यो हेलम्बु गाउँपालिका १ मा पर्छ। शिखरलाई तोरणहरूले, त्रिपिटकका मन्त्र लेखिएका लुङदरहरूले भरिएका छन्। हावाले पताकाहरू हल्लाउदा रंगीन यी तोरणहरूले शान्तिका सन्देश प्रसारण गरिरहेको अनुभव हुन्छ।

यहाँको पदयात्रा गोसाइँकुण्डको यात्राजस्तै छ तर ताप्लेजुङको पाथीभरा भन्दा कठिन छ। उचाइका हिसाबले पाथीभरा र यसको उचाइ समान हो। उकालो हिँडाइको अवस्था भने आमा यांग्री कठिन पदयात्रामा पर्छ। आमा यांग्रीको शिखरमा पुग्दा यसको वरिपरि गुराँसको बुट्यानहरूले घेरेको छ। शिखरमा पुग्दाको आनन्द वर्णनातित छ। अदम्य साहस बोकेर सुस्केरा हाल्दै पुगेको शारीरिक पीडा एकैछिनमा भुलिन्छ र त्यहाँको प्राकृतिक सम्मोहनमा यसरी आबद्ध भइन्छ कि एउटा छुट्टै शान्त प्रकतिको अनुभूति हुन्छ। आकाश खुल्दा यो शिखरबाट देखिने हिमालयको दृश्य अनुपम, अपरिमेय, अनमोल चित्ताकर्षक हुन्छ। यहाँबाट नजिकैमा सूर्यकुण्ड, दोर्जेलाक्पा त छँदैछ लाङटाङ रेन्जमा पर्ने हिमाल, अन्नपूर्ण, मनास्लु देख्न सकिन्छ भने पूर्वतर्फका ल्होत्से, नुप्से, मकालु हिमालसमेत अवलोकन गर्न सकिन्छ।

यहाँको शिखरबाट मेलम्ची नदीको मुहानका पहाड र खोँचहरू पनि देख्न सकिन्छ। मेलम्ची नदीको स्रोत नदीहरूमध्ये एउटा यांग्री खोला पनि हो। आमा यांग्रीकै नामबाट यांग्री खोलाको नाम पनि रहन गएको होला भन्ने अनुमान गरियो। आमा यांग्रीलाई स्थानीयहरू हेलम्बुको संरक्षक र उद्धारक मान्छन्। यहाँ विभिन्न प्रजातिका चराहरू, खतरा उन्मुख हाब्रे (रेडपान्डा) र हिमाली चितुवा पनि पाइन्छन्। आमा यांग्री लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछ। यसको पवित्रता, स्वच्छता र सुन्दरताले गर्दा आमा यांग्री भूस्वर्गतुल्य छ। आमा यांग्रीका पाँच दिदीबहिनीहरू यतै नजिकैका शिखरहरूमा रहेका छन् भनेर पनि भनिन्छ।

प्रकाशित: ५ जेठ २०८१ १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =