क्लब विश्वकप फाइनल : कीर्तिमान दह्रिलो बनाउने लक्ष्यमा रियल म्याड्रिड

हिमाल प्रेस २७ माघ २०७९ १६:१३
8
SHARES
क्लब विश्वकप फाइनल : कीर्तिमान दह्रिलो बनाउने लक्ष्यमा रियल म्याड्रिड

काठमाडौँ- क्लब विश्वकपको सेमिफाइनलमा रियल म्याड्रिडले अल अह्लीलाई हराउँदा करिम बेन्जेमा टिममा थिएनन्। तर रियलले जितका लागि संघर्ष गर्नु परेन। सजिलै ४–१ को विजय हासिल गर्‍याे। तिघ्राको चोटका कारण सेमिफाइनल गुमाएका कप्तान बेन्जेमा शुक्रबार भने अभ्यासमा फर्कदैछन्।

मोरोक्कोको राबटमा शनिबार हुने अल हिलालविरुद्धको फाइनल जिते रियल पाँचौँ पटक क्लब विश्वकप विजेता हुनेछ। रियलले यसअघि सन् २०१४, २०१६, २०१७ र २०१८ मा क्लब विश्वकप जितेको थियो। पहिलो पटक क्लब विश्वकप जित्दा रियलका प्रशिक्षक कार्लो एन्सिलोट्टी थिए।

गत सिजन च्याम्पियन्स लिग र ला लिगा जितेको रियलका लागि सन् २०२३ शुभ हुन सकेको छैन। यसकारण रियल क्लब विश्वकप जित्दै आफू स्वाभाविक लयमा फर्किएको सन्देश दिन चाहन्छ।

इजिप्टको अल अह्लीलाई हराउँदा रियलको अग्रपंक्तिमा भिनिसियस जुनियर, रोड्रिगो र फेडे भाल्भार्डे थिए। यी तीनै खेलाडीले गोल गरे। दोस्रो हाफमा मैदान प्रवेश गरेका युवा खेलाडी सर्जियो एरिबाससमेतले गोल गरे।

गत साता ला लिगामा मयोर्कासँग हारेका कारण आलोचना खेपिरहेको रियललाई अफ्रिकी क्लब फुटबलको सर्वाधिक सफल क्लबलाई हराउन समस्या भएन। ला लिगाा उपाधि दौडमा रियल बार्सिलोनाभन्दा आठ अंकले पछाडि परिसकेको छ। सिजनको सुरुवातमा युरोपियन सुपर कप जितेको रियललका लागि क्लब विश्वकपको उपाधिले राहत दिनेछ।

उसो त अल हिलाल रियलका लागि चुनौतीपूर्ण विपक्षी हुनसक्छ। दक्षिण अमेरिकी च्याम्पियन फ्लामेंगोलाई पन्छाएर उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको अल हिलालले रियलविरुद्ध म्यानचेस्टर युनाइटेडका पूर्वस्ट्राइकर ओडिओन इघालो र कुनै समय एट्लेटिको म्याड्रिडबाट खेलेका लुसियानो भिएटोलाई मैदान उतार्नेछ।

अल हिलाल पहिलो पटक क्लब विश्वकप जित्ने अभियानमा छ। उसका लागि यो प्रतियोगिता नौलो होइन। किनभने अल हिलालसँग सन् २०१९ र २०२१ मा सेमिफाइनलसम्म पुगेको अनुभव छ।

सन् २०२१ मा एसियाली च्याम्पियन्स लिग जितेको अल हिलाललाई आफूहरूले कमजोर नठानेको एन्सिलोट्टीको भनाइ थियो। ‘हामीले यो अल हिलाललाई सम्मान गर्नुपर्छ। किनभने यो टिममा राम्रा खेलाडी छन्। उनीहरु एकबद्ध भएर खेल्छन्,’ एन्सिलोट्टीले भने, ‘विश्व फुटबल परिवर्तन भइरहेको छ। सबैतिर बलिया टिम छन्। जोसुकैसँग पनि प्रतिस्पर्धा गर्न तयार हुन्छन्।’

अल अह्लीविरुद्ध रियलले पहिलो हाफको उत्तराद्र्ध र दोस्रो हाफको सुरुवातमा गोल गरेको थियो। दुई गोलको अग्रता लिएको रियलले नतिजा सजिलै आफ्नो पक्षामा पार्ने अनुमान गरियो। तर पेनाल्टीमा गोल गर्दै अल अह्लीले खेलमा फर्कने संकेत थियो। त्यसपछि बराबरी गर्ने सुन्दर मौका गुमायो।

दोस्रो हाफमै लुका मोड्रिचले पेनाल्टी खेर फाले। अग्रता पातलो भएपटि आत्तिएको रियलका लागि रोड्रिगोको गोलले राहत दिएको थियो। आतिरिक्त समयमा आरिबासले गरेको गोलले रियलको खुसी बढायो।

४६ औँ मिनेटमा गोल गरेका भाल्भार्डेलालाई लिएर एन्सिलोट्टी सन्तुष्टि व्यक्त गरेका छन्। नोभेम्बरयता गोल नगरेका उरुग्वेका यी युवा मिडफिल्डर विश्वकपपछि स्वाभाविक लयका लागि संघर्षरत छन्। पारिवारिक समस्याका कारण भाल्भार्डेले एकाग्रता कायम गरेर खेल्न नसकिरहेको पनि बताइँदैछ।

‘उनले राम्रो खेल देखाए। मु खुसी छु। मलाई लाग्छ उनी आफ्नो स्वाभाविक लयमा फर्कदैछन्,’ भाल्भार्डेमाथि एन्सिलोट्टीको टिप्पणी थियो।

भिनिसियस पनि पछिल्लो समय मानसिक तनाबमा छन्। यसको कारण हो उनीमाथि स्पेनमा गरिएको दुव्र्यवहार। ला लिगाका केही खेलदौरान विपक्षी टिमका समर्थकले उनीमाथि रंगभेदी दुव्र्यवहार गरेको बताइन्छ।

यस्तो स्थितिमा पनि गोल गरिरहेका ब्राजिलका भिनिसियसलाई नै फाइनलमा पनि मुख्य फरवार्डको भूमिका दिइने संकेत एन्सिलोट्टीको छ। हुन त चोटका कारण संघर्षरत बेन्जेमा यो खेलका लागि तयार हुनेछन्। तर उनी सिधैँ पहिलो एघारमा नपर्ने अनुमान छ।

रियलका अन्य केही खेलाडी पनि हाल मैदानबाहिर छन्। गोलरक्षक थिबाउट कोर्टुवा, फेरलान्ड मेन्डी, लुकास भास्क्वेज। एडेन हाजार्ड फाइनलमा हुनेछैनन्। एडर मिलिटाओको फिटनेसमाथि पनि संशय छ। चोटग्रस्त खेलाडीको संख्या धेरै भए पनि एन्सिलोट्टी भने च्याम्पियन बन्नेमा आशावादी छन्।

प्रकाशित: २७ माघ २०७९ १६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 1 =