म्याड्रिड डर्बीको केन्द्रमा भिनिसियस र ग्रिजमन

हिमाल प्रेस १३ फागुन २०७९ १६:००
16
SHARES
म्याड्रिड डर्बीको केन्द्रमा भिनिसियस र ग्रिजमन

काठमाडौँ- गत मंगलबार च्याम्पियन्स लिगमा रियल म्याड्रिडले लिभरपुललाई हराउँदा भिनिसियस जुनियर निर्णायक साबित भएका थिए। पहिलो हाफको १४ मिनेटभित्र दुई गोल गरेको लिभरपुल भिनिसियसले दुई गोल गरेपछि ओरोलो लागेको थियो। रियलका प्रशिक्षक कार्लो एन्सिलोट्टीलाई विश्वास छ, भिनिसियस फेरि एकपल्ट निर्णायक बन्नेछन् भनेर।

स्पेनिस ला लिगामा शनिबार राति म्याड्रिड डर्बीमा रियल र एट्लेटिको म्याड्रिड आमनेसामने हुँदैछन्। यो खेलमा भिनिसियसले रियललाई अघि बढाउनु पर्नेछ। तर सान्टियागो बर्नाबाउमा भिनिसियस एक्लो सम्भावित ‘म्याचविनर’ हुने छैनन्। किनभने एट्लेटिको एन्टोइन ग्रिजमनसँगै त्यहाँ पुग्नेछ।

दुई वर्षअघिको ला लिगा च्याम्पियन एट्लेटिको हाल चौथो स्थानमा संघर्षरत छ। ला लिगामा आधाभन्दा बढी खेल सकिइसकेको अवस्थामा एट्लेटिकोको चौथो स्थान सुरक्षित छैन। पाँचौँ स्थानको रियल बेटिसले एट्लेटिकोलाई नजिकबाट पछ्याइरहेको छ।

डिएगो सिमओनेका धेरैजसो खेलाडीले अपेक्षाकृत प्रदर्शन गर्न नसकिरहेका बेला ग्रिजमन भने प्रत्येक साता बलियो लयमा देखिइरहेका छन्। विश्वकप २०२२ मा फ्रान्स दोस्रो भएपछि निराश बनेर स्पेन फर्किएका ग्रिजमनकै बलमा एट्लेटिको शीर्ष चारमा रही सिजन समापन गर्न चाहन्छ।

यसपालि बार्सिलोनासँगै एट्लेटिको पनि च्याम्पियन्स लिगको समूह चरण कट्न सकेन। बार्सिलोना आफ्नो समूहमा तेस्रो बनेर युरोपा लिगमा झरेको थियो। प्लेअफमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएपछि बार्सिलोनाको युरोपा यात्रामा पूर्णविराम लागिसकेको छ। एट्लेटिकोले त प्लेअफ पनि खेल्न पाएन। किनभने सिमओने नेतृत्वको यो टिम च्याम्पियन्स लिगको समूहमा चौथो बनेको थियो।

यस्तोमा एट्लेटिकोका समर्थकको ध्यान ला लिगामा केन्द्रित छ। जहाँ एट्लेटिको जनवरी ८ यता अपराजित छ। यो बीचमा एट्लेटिकोले ६ खेल खेलेको छ। तीमध्ये चारमा जित हात पारेको एट्लेटिको विजयी भएको थियो।

ला लिगा उपाधि दौडमा बार्सिलोनाभन्दा आठ अंकले पछि परेको रियल दोस्रो स्थानमा छ। लिगमा १४ खेल बाँकी रहेकाले रियलसँग बार्सिलोनालाई भेट्ने आत्मविश्वास नभएको होइन। यता एट्लेटिको भने आत्मविश्वासी छैन। अक्टोबर र नोभेम्बरमा काडिथ र मयोर्कासँग अप्रत्याशित पराजय भोगेपछि एट्लेटिको उपाधि होडमा पछि परेको हो।

सहरी प्रतिद्वन्द्वी रियललाई हराउन सके एट्लेटिको लयमा फर्किएको प्रमाणित हुनेछ। तर दुर्भाग्यवश विगत उसको पक्षमा छैन। किनभने रियलको मैदान बेर्नाबेउमा एट्लेटिको सन् २०१६ पछि जितविहीन छ।

‘जसरी हुन्छ रियललाई हराउनै पर्छ। हाम्रो खराब लयको अन्त्य गर्न बेर्नाबेउ जत्तिको सही मैदान अर्को छैन,’ म्यड्रिड डर्बीअघि ग्रिजमनले भनेका छन्, ‘रियलसँगको मात्र होइन बाँकी सबै खेल जित्ने हाम्रो लक्ष्य हो। यो लक्ष्यमा सफल हुन हामी हरदिन मेहनत गरिरहेका छौँ।’

ग्रिजमनले अहिलेसम्म ला लिगा जित्न सकेका छैनन्। यो मामलामा उनी पटक पटक अभागी साबित भए। उनी एट्लेटिकोले लिग जिते लगत्तैको सिजन अनुबन्धित भएका थिए। बार्सिलोनाले सन् २०१८/१९ मा लिग जित्यो, उनी त्यहाँ अर्को सिजन मात्र पुगे। एट्लेटिको फेरि सन् २०२०/२१ मा च्याम्पियन बन्यो, उनी सन् २०२१/२२ सिजनमा त्यता फर्किए।

एट्लेटिको रियलभन्दा १८ अंकले पछि परिसकेको छ। यसकारण शनिबार रातिको जितले एट्लेटिकोलाई रियल नजिक पुर्‍याउने छैन। तर यो नतिजा ग्रिजमनको पूर्वक्लबका लागि भने वरदान साबित हुनेछ।

ग्रिजमनले ला लिगामा यो सिजन सात गोल र सातै असिस्टको योगदान गरेका छन्। गत साता एथ्लेटिको बिल्बाओमाथि १–० को जित दर्ता गर्दा गिज्रमनकै गोल निर्णायक बन्यो। ‘ग्रिजमन हाम्रो टिमका निर्णायक खेलाडी हुन्। जब उनी राम्रो खेल्छन्, तब समग्र टिमकै प्रदर्शन उम्दा हुन्छ,’ प्रशिक्षक सिमओनेले भनेका छन्।

एट्लेटिकोले यसपालि २२ खेलमा कुल ३१ गोल गरेको छ। तथ्यांकमा गहिरिने हो भने, एट्लेटिकोले गरेका कुल गोलमध्ये ४५ प्रतिशत गोलमा ग्रिजमनको सहभागिता छ। जबकि उनी २२ खेलमध्ये १५ मा मात्र पहिलो एघारमा परेका छन्।

सिजनको सुरुवाती पाँच खेलमा ग्रिजमनलाई सिमओेनेले ‘बेन्च प्लेयर’ का रुपमा उपयोग गरे। बार्सिलोनाबाट भएको ऋण स्थान्तरण स्थायी स्थान्तरणमा रुपान्तरण भएपछि भने ग्रिजमन सिमओनेका लागि पहिलो रोजाइको फरवार्ड बने। ग्रिजमनलाई स्थायी रुपमै घर फर्काउने एट्लेटिकोको निर्णय सही साबित भइसकेको छ।

उता रियलका विंगर भिनिसियसलाई एन्सिलोट्टी हाल विश्व फुटबलकै सबैभन्दा निर्णायक खेलाडी मान्छन्। ‘मलाई लाग्छ उनी जसरी आफ्नो टिमका लागि निर्णायक बन्नसक्ने अर्को खेलाडी छैन। उनलाई कसैले रोक्न सक्दैन। ड्रिब्लिङ, गोल र असिस्ट गर्न उनी माहिर छन्। आशा छ उनले यो लयलाई कायम राख्नेछन्,’ लिभरपुलसँगको खेलपछि एन्सिलोट्टीले भनेका थिए।

एट्लेटिकोसँगको भिडन्तलाई लिएर भिनिसियससँग नमिठो सम्झना छ। गत जनवरीमा कोपा डेल रेको खेलअघि रियलको अभ्यास मैदान नजिकैको पुलमा भिनिसियसको पुतला झुन्डिरहेको अवस्थामा फेला परेको थियो। आखिरमा त्यो खेल भिनिसियसकै कारण रियलले जित्यो।

भिनिसियसले ला लिगाका खेल दौरान पटक पटक रंगभेदी दुर्व्यवहार भोगेका छन्। गत सेप्टेम्बर रियल र एट्लेटिकोबीचको खेलपछि पनि भिनिसियसलाइ लक्षित गरेर रंगभेदीय नारा लगाइएको थियो। मैदानबाहिरका घटनाले उनकाे प्रदर्शनमा भने असर पुगेकाे छैन।

जारी सिजन एट्लेटिकोलाई तेस्रो पटक पराजित गर्ने लक्ष्यमा रहेको रियल रोड्रिगो र डेभिड अलाबाबिना मैदान उत्रनेछ। एट्लेटिकोको टिममा रोड्रिगो डे पउल हुनेछैनन्। यस्तोमा दुई टिम भिनिसियस र ग्रिजमनको भरमा हुनेछन्।

ला लिगामा यो साता

शनिबार
इस्पान्योलविरुद्ध मयोर्का, ६ः४५ बजे
काडिथविरुद्ध रायो भाएकानो, ९ः०० बजे
रियल म्याड्रिडविरुद्ध एट्लेटिको म्याड्रिड, ११ः१५ बजे
भ्यालेन्सियाविरुद्ध रियल सोसिडाड, १ः४५ बजे

आइतबार
एथ्लेटिको बिल्बाओविरुद्ध जिरोना, ६ः४५ बजे
सेल्टाभिगोविरुद्ध रियल भाल्लाडोलिड, ९ः०० बजे
अल्मेरियाविरुद्ध बार्सिलोना ११ः१५

प्रकाशित: १३ फागुन २०७९ १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 1 =