विलक्षण गाभी

हिमाल प्रेस २ माघ २०७९ १५:४९
36
SHARES
विलक्षण गाभी

काठमाडौँ- स्पेनिस सुपर कप जाभी हर्नान्डेजको प्रशिक्षणमा बार्सिलोनाले जितेको पहिलो उपाधि बनेको छ। साउदी अरबमा भएको फाइनलमा प्रतिद्वन्द्वी रियल म्याड्रिडमाथि ३–१ को जित दर्ता गरेपछि बार्सिलोना सुपर कपको नयाँ च्याम्पियन बनेको हो।

यो सफलतामा बार्सिलोनाका किशोर खेलाडी गाभी नायक साबित भए। उनी आफैँले गोल त गरे नै, बाँकी दुई गोलकर्ता रोबर्ट लेवान्डोस्की र पेड्रीलाई असिस्ट पनि गरे।

साउदी भूमिमा प्रतिद्वन्द्वीमाथि हासिल जित, बार्सिलोनाले दिएको सन्देश हो। सन्देश के भने, बार्सिलोना जाभीको नेतृत्वमा सही दिशामा अघि बढिरहेको छ। नोभेम्बर, २०२१ मा प्रशिक्षक बनेर क्याट्लोनिया फर्किएका जाभीले बार्सिलोनालाई यस्तो बेला उपाधि दिलाएका छन्, जतिबेला रियल स्वाभाविक लय समात्न संघर्षरत छ।

गत साता ला लिगामा भिल्लारियलसँग पराजय भोगेपछि कार्लो एन्सिलोट्टी आफैँले भनेका थिए, ‘विश्वकपपछि रियलले सोचेजस्तो खेल्न सकिरहेको छैन।’

एन्सिलोट्टीले स्वीकार गरेझैँ रियलले फेरि एकपल्ट आफ्नो स्तर अनुसारको प्रदर्शन गर्न सकेन। ला लिगा उपाधि दौडमा बार्सिलोनासँग तीन अंकले पछि परिसकेको रियलको एक मात्र गोल करिम बेन्जेमाले गरे। केही राम्रा अवसर सिर्जना गरे पनि रियलले गोल भने थप्न सकेन।

गत सिजन रियलले एथ्लेटिक बिल्बाओलाई पन्छाएर सुपर कप जितेको थियो। एन्सिोलेट्टीले रियललाई जिताएको त्यो ११ औँ उपाधि थियो। यसपालि भने एन्सिलोट्टीको रणनीतिले काम गरेन। बरु उनले सन् २०१४ यता पहिलो पटक फाइनलमा हार व्यहोरे।

बार्सिलोनाका कप्तान सर्जियो बुस्क्वेट्सले पछिल्लो सफलताले आफूहरूलाई थप उपाधि जित्न प्रेरित गर्ने प्रतिक्रिया दिए। ‘मौका पाउँदा खेर फाल्नु हुँदैन भन्ने कुरामा हामी प्रतिबद्ध थियौँ। हामी यस्तो बेला उपाधि विजेता बनेका छौँ जतिबेला बार्सिलोना परिवर्तनबाट गुज्रिएको छ। क्लब व्यवस्थापनदेखि प्रशिक्षण टिमसम्ममा परिवर्तन भएका छन्। यसकारण यो उपाधि हाम्रा लागि महत्त्वपूर्ण छ। यसले हामीलाई थप उपाधि जित्न प्रेरणा दिनेछ,’ बुस्क्वेट्सले भने।

जाभीले फेरि एकपटक चार मिडफिल्डरलाई मैदान उतारे। त्यसमध्ये गाभीले लेफ्ट विंग सम्हाले, रियलका फुलब्याक डानी कार्भाहालमाथि हाबी भए। स्ट्राइकर पछाडिको भाग पेड्री ओगट्दा अरु दुई मिडफिल्डर बुस्क्वेट्स र लुक डे योङ रक्षापंक्तिको अगाडि रहे।

बुस्क्वेट्सले एडुवार्डो कामाभिंगालाई ‘प्रेस’ गर्दै बल खोसेका थिए। जसलाई नियन्त्रणमा लिएर औसमाने डेम्बेलेले पेड्रीलाई पास दिए। पेड्रीबाट लेवान्डोस्की र लेवान्डोस्कीबाट गाभीको खुट्टामा बल पुग्यो। त्यसपछि गाभीले ६ यार्ड बक्सबाहिरबाट गोल गरे।

दोस्रो गोलको मुभ पनि बुस्क्वेट्सबाट सुरु भएको थियो। बुस्क्वेट्सबाट पाएको बललाई डे योङले चलाखीपूर्वक गाभीका लागि पास निकाले। बल लिएर अघि बढेका गाभीले लेवान्डोस्कीलाई क्रस गरे, जसले सजिलै गोलमा परिणत गरे।

तेस्रो गोल चाहिँ गाभीका कारण सम्भव भयो। मैदानको लगभग मध्यभागमा रियलका रक्षक मिलिटाओबाट बल खोसेका गाभीले लेवान्डोस्कीलाई पास दिएका थिए। त्यसपछि लेवान्डोस्कीले बल गाभीलाई फिर्ता गरे। गाभीले रियलको बक्सतर्फ दौडिरहेका पेड्रीलाई क्रस उपलब्ध गराए। ६ यार्डभित्र प्रवेश गरिसकेका पेड्रीले ‘वान टच’ गोल गरे।

‘गाभीले हामी सबैलाई उत्साहित बनाएका छन्। मैदानमा उनी जब्बर देखिन्छन्। प्रतिबद्ध भएर खेल्छन्। उनमा यो टिम नेतृत्व गर्ने क्षमता छ। यो क्षमता जन्मजात हो जस्तो लाग्छ। उनी भर्खर १८ वर्षका भए। यो उमेरमा यस किसिमको प्रदर्शन गर्नु सामान्य होइन। मैले धेरै पटक भनिसकेको छु, गाभी भविष्यमा कस्तो खेलाडी हुन्छन् भन्ने प्रश्नको जवाफ छैन,’ गत वर्ष प्रसिद्ध ‘गोल्डन ब्वाई’ पुरस्कार पाएका गाभीबारे जाभीले भने।

बार्सिलोनाका युवा स्टार चम्किँदा रियलका भिनिसि, फेडेरिको भाल्भार्डे, रोड्रिगो लगायतका खेलाडी फिक्का देखिए। ‘आज हामीले शतप्रतिशत मेहनत गरेर खेल्न सकेनौँ। बार्सिलोना जस्तो बलियो टिमसँग भिड्दा यो पारामा खेलेर हुँदैन,’ भाल्भार्डेले भने।

उता प्रशिक्षक एन्सिालेट्टीले ३–१ को हारलाई लज्जास्पद भन्न नमिल्ने प्रतिक्रिया दिए। ‘हामीले लिगमा बार्सिलोनालाई ३–१ ले हराएका थिए। आज बार्सिलोनाले राम्रो खेल्यो, त्यही अन्तरमा जित हासिल गर्‍यो,’ एन्सिलोट्टीले भने।

बार्सिलोना यसपालिको च्याम्पियन्स लिगबाट बाहिरिएपछि निकै आलोचना खेपेका जाभीका लागि सुपर कप उपाधिले राहत दिएको छ। यद्यपि उनको साँच्चैको परीक्षा भने लिग उपाधि दौडमा हुनेछ।

‘यस्तो सफलताले टिमलाई आत्मविश्वास दिन्छ। फेरि हामीले रियललाई राम्राे खेलेर हराएको हो। पूरै खेल नियन्त्रणमा राख्न सक्यौँ। प्रशिक्षकका रुपमा मेरा लागि खेल शैलीको ठूलो महत्त्व छ। त्यसकारण यो खेलमा खेलाडीले गरेको प्रदर्शनले मलाई प्रसन्न बनाएको छ। अब अझैँ तीन उपाधिका लागि भिड्नुछ,’ जाभीको भनाइ थियो।

प्रकाशित: २ माघ २०७९ १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =