कथा

सडकदेखि सत्तासम्मको प्रेम

अन्जु न्यौपाने ५ जेठ २०८१ १७:२८
234
SHARES
सडकदेखि सत्तासम्मको प्रेम

मेरो भोक,प्यास सबै मेरी सरु हुन्। उनीबिना पातबिनाको उजाडिएको रुखझैँ हुन्छु म। जीवित भएको तर जीवन्तता नभएको। खडेरी परेको मौसमजस्तो हुन्छु। उनी साथमा हुँदाचाहिँ समय बितेको पत्तै हुँदैन। समय साँघुरिन्छ र चौबीस घण्टा छोटिएर चौबीस मिनेटमै बितेजस्तो लाग्छ।

मलाई लागेको भोक उनीसँग बस्दा नै शान्त हुन्छ। मेरो प्यास उनलाई हेर्दा नै मेटिन्छ। हो, उनलाई धेरै प्रेम गर्छु। मैले ठीक गर्दै छु या गलत, त्यो त थाहा छैन तर म सरुलाई अधीक माया गर्छु।

प्रेम गर्नु सामान्य पनि हो, थाहा छ। स्त्री र पुरुषको बीचमा प्रेम हुन्छ नै। त्यही भएर त यावत् फिल्म प्रेमकै विषयमा बनेका छन्, किताबहरू प्रेममै आधारित भएर लेखिएका छन् र गीतहरू पनि प्रेमकै बढी गाइएका छन्।

प्रेममा डुबेकाहरू भन्ने पनि गर्छन् प्रेम अन्धो हुन्छ। प्रेमले धनी-गरिब, कालो-गोरो, विवाहित-अविवाहित आदि केही पनि हेर्दैन। यति भनिरहँदा पनि समाजले एउटा घेरा बनाएको छ प्रेमको।

सामान्यतया अविवाहित स्त्री र पुरुषबीचको प्रेमलाई समाजले त्यति नराम्रो रूपमा हेर्दैन। युवा उमेरमा गरिने प्रेमलाई त अति सामान्य दृष्टिले हेर्छ। हाम्रो प्रेम भने समाजले खिचेको यो रेखाभन्दा अलिकति फरक छ। हामी दुवैजना विवाहित हाैँ।

उनको पति म होइन र उनी मेरी पत्नी होइनन् तर म उनलाई मन पराउँछु। सायद यही कारण होला यो प्रेम हाम्रा लागि यादगार बनेको। विशेष गरी मेरा लागि। केही वर्षअघिको कुरा। इन्टर फर्स्ट इअर पढ्न भनेर क्याम्पस भर्ना भएँ। पढ्न जाँदा जीवनमा केही गर्न चाहने एउटा ठिटो थिएँ।

मैले केही गर्नैपर्ने बाध्यता पनि थियो किनभने सामान्य परिवारमा जन्मिएको थिएँ म। मेरो पूरै परिवारको आशा भरोसाको केन्द्र थिएँ। त्यसैले दायाँबायाँ नगरी मेहनतपूर्वक पढ्छु भन्ने सोच थियो मेरो। धेरैजसो म घोसेमुन्टो लगाएरै क्याम्पस पुग्थेँ र खुरुखुरु पढ्थेँ। तर, एकदिन…।

पहिलोचोटि कक्षाकोठामा मैले सरुलाई देखेँ। उनलाई देखेको त्यो दिनबाट आजसम्म भुल्न सकेको छैन। कति राम्री देखिएकी थिइन् उनी! गोरो वर्णकी, लामो कपाल र ठूला आँखा भएकी निकै सुन्दर थिइन्। सुन्दरताको उनमा कुनै कमी नै थिएन। एउटी सुन्दर प्रेमिकाको जुन कल्पना गर्थे‌ं  त्योभन्दा पनि धेरै सुन्दर सरुलाई देखेँ।

त्यो दिनदेखि मैले उनलाई हरहमेसा चिहाउन थालेँ। कुन तरिकाले उनको नजिक होऊँ भनेर सोच्न थालेँ। पहिलोपटक देख्दाबित्तिकै मेरा आँखामा, मेरा नशानशामा उनी बसिन्। किन कुनैकुनै मान्छे यति धेरै प्रेमिल, मायालाग्दा हुन्छन्! एकैपटक हृदयमा आफ्नो बलियो स्थान जमाउँछन्!

म अंग्रेजी विषयमा निकै कमजोर थिएँ उनी भने जान्ने रहिछन्। मैले उनलाई देखेको दिन नै उनले आफ्नो क्षमता देखाइन्। अंग्रेजी पढाउने शिक्षकले सोधेका प्रश्नहरूका उत्तर फटाफट दिइन्। मैले त ती शिक्षकले के सोधे र उनले के जवाफ दिइन् भनेर समेत राम्रोसँग बुझिनँ तर उनले  राम्रोसँग उत्तर दिइन् भन्ने कुरा शिक्षकको प्रफुल्ल अनुहार हेरेरै बुझ्न सकिन्थ्यो।

मेरो मुटुमा बसिसकेकी सरुलाई हेर्न कहिलेकाहीँ कक्षाकोठाबाट भित्र-बाहिर गर्ने क्रममा म उनको छेउमा पुग्थेँ। कहिलेकाहीँ हामी एकैपटक कक्षाकोठाभित्र छिरिरहेका हुन्थ्यौँ। अरू बेलामा मेरा आँखा धेरैजसो उनीतिरै हुन्थे। पछाडिबाट खुब चिहाएँ मैले उनलाई। त्यो बेला यस्तो लाग्थ्यो, उनको कपालमै जुनी बिताइदिऊँ। उनका नराम्रो केही पनि लाग्दैनथे। सबै राम्रा। सायद स्वर्गानुभूति भनेको यही नै होला। यतिकै पूरै जीवन बिताइदिन पाए। उनी नजिकै पर्दा मेरो मुटुको चाल एकदमै बढेको अनुभव गर्थे‌ं। कहिलेकाहीँ उनी कतै गएको बेलामा देखिनँ भने कति बेला देखेँ झैं हुन्थ्यो।

कुनै केटालाई केटीले चिहाएर हेरेको कुरा त्यो केटालाई बरू थाहा नहोला तर केटीलाई कुनै केटाले हेरेको थाहा हुन्छ रे! यो कुरा साँचो रहेछ। सरुले मैले चिहाएको कताकता चाल पाइसकेकी थिइन् त्यसैले त उनले पनि बेलाबेलामा मलाई पुलुक्क हेर्ने गर्थिन्। उनको प्रेमिल हेराइ मेरो हृदयमै गड्थ्यो। उनी र म आमने-सामुन्ने बसेर आँखा जुधाएरै जीवन सक्काइदिन पाए हुन्थ्यो जस्तो लाग्थ्यो।

मैले चिहाएर हेरेको थाहा पाएर पनि सरुले कुनै प्रतिक्रिया नदिएको र उनले पनि मलाई बेलाबेलामा चिहाउन थालेको थाहा पाएपछि मेरो हिम्मत अलि धेरै बढ्न थालेको अनुभव गरिरहेको थिएँ मैले। साथीहरूका आँखा छलेर केही बेर उनैलाई हेरेर बस्थें।

एकदिन उनी अगाडितिरको बेञ्चमा र म लास्टको बेञ्चमा बसेका थियौँ। म पछाडिबाट उनैलाई हेर्दै थिएँ। कक्षाकोठामा शिक्षक नआएकाले पढाइ भइरहेको थिएन। सबै साथीहरू आ-आफ्नै धुनमा थिए। मैले उनलाई हेरेको उनले थाहा पाइन् या उनले मैले हेरेको छ कि छैन भनेर बुझ्न चाहिन् मतिर पुलुक्क हेरिन्।

उनले मलाई हेरेको देखेर मैले उनीसँग आँखा जुधाउन सकिनँ र उनको निधारतिर हेरेछु। उनको त्यो बाटुलो अनुहारमाथिको चाक्लो कपालमा मेरो ध्यान गयो। कपालको बीचमा केही थियो, जुन मैले राम्रोसँग ठम्याउनै नपाई उनले फेरि अगाडि हेरिहालिन्। मैले फेरि उनैलाई हेरिरहें। त्यसको केही समयपछि फेरि उनले पछाडि फर्केर हेरिन्, मैले त उनलाई हेरिरहेकै थिएँ।

मेरा आँखा झ्याप्प उनको कपालभित्रको धर्सामा पुग्यो। छोटो सिउँदो हालिएको रहेछ त्यहीँको सिन्दुरमा पुगेर मेरा आँखा टक्क अडिए। त्यो देखेपछि मलाई कस्तोकस्तो लाग्यो। एकछिन त मैले त्यो भुल्न खोजें तर उनले पनि मलाई बेलाबेलामा पुलुक्क हेर्ने गरेको सम्झिएँ। यसको अर्थ उनले मलाई स्वीकार गरेको अर्थमा लिएँ मैले। क्याम्पसबाट फर्किने बेलासम्ममा त मेरो सोच पूरै परिवर्तन भइसकेको थियो।

‘तिम्रो सिउँदोमा मेरा हातले सीमारेखा नकोरेको भए तापनि केही छैन। होला, मैले तिमीलाई नपाऊँला तर सधैँ अजम्बरी प्रेम नै गरिरहने छु। तिमीलाई कहिल्यै दुःखी हुन दिने छैन। यदि बूढी भएपछि मेरो जीवनमा आयौ भने पनि म तिमीलाई स्वीकार गर्नेछु किनभने तिमीले कसैको हातको सिन्दुर हालेपछि मलाई भेटेकी हौ। होइन भने पक्कै पनि ती सिन्दुर हाल्ने हात मेरै हुने थिए। सिन्दुर हाल्नुभन्दा पहिला मैले तिमीलाई प्रेम गरेको भए त्यो प्रेमको महत्व त्यति हुने थिएन, जति आज छ। तिमीलाई पनि धेरैधेरै धन्यवाद किनभने तिमीले अरूको सिन्दुर हालेपछि पनि मलाई स्वीकार गयौ। तिमीलाई सिन्दुरले छेकेको होला तर तिम्रो अवचेतन मनले तिमीलाई मलाई हेर्नबाट रोक्न सकेन। सिन्दुरको सिमाना तोडिसकियो अब। तिमी मेरो मन-मस्तिष्कमा बसिसक्यौ, मेरी प्यारी सरु !’

दुर्भाग्य ! भोलिपल्टबाट मैले सरुलाई देखिनँ। पर्सिपल्ट पनि देखिनँ। त्यसपछि पनि देख्न छाडें। उनी क्याम्पस नै आइनन्। केही दिन मैले उनलाई कुरें। पछि उनकी एक साथीबाट उनी बच्चाकी आमा बन्दै रहिछन् भनेर पत्ता लगाएँ। ती साथीले नै सुनाइन् मलाई,‘तिमीलाई निकै राम्रो मान्थी । तिमी नआएको दिन आज सन्तोष किन आएन भनेर तिम्रा साथीहरूलाई सोध्थी पनि।’

भगवान्‌ले नै जुराएका रहेछन् भने कुनै दिन भेटौँला भन्ने सोच लिएर बल्लतल्ल आफूलाई मनाएँ किनभने मसँग अरू विकल्प पनि त थिएन। विवाहित युवतीलाई मैले केही गर्न पनि त मिल्दैन। नभए त मैले मेरा आमाबुबालाई भनेर उनलाई मागेर बिहेको प्रस्ताव नै राख्ने थिएँ। अहिलेसम्म त म अविवाहित नै थिएँ तर मेरो त्यो भाग्य कहाँ!

केही दिनपछि म क्याम्पसबाट घरतिर फर्किंदै थिएँ। एउटा मोबाइल पसलमा अलिकति मोटीमोटी केटी देखेँ, जुन सरुजस्तै थिई। एकछिन त होइन कि जस्तो पनि लाग्यो। कहाँ ती पातली सरु र कहाँ यी मोटी महिला!

ती महिलासँगै एक जना पुरुष पनि थिए। महिलाले केही फुसफुसाउँदै पुरुषतिर हेरिन्। मैले थाहा पाइहालेँ, उनी सरु नै रहिछन्। उनले मलाई देखिनन्। धेरै दिनसम्म सरुलाई सम्झिएपछि बिस्तारै दिमागबाट हटाएको थिएँ तर, मैले उनलाई देखेँ पहिलाको भन्दा निकै फरक रूपमा।

चिटिक्क परेकी सरु एकाएक मोटो वजनमा उभिएकी थिइन्। शरीरका पूरै अङ्गहरू थिलथिलिएजस्ता देखिन्थे। सबै परिवर्तन भएछन् उनका। त्यो देखेर निकै टीठ लाग्यो मलाई। माया पनि लाग्यो। दुःख पाइछन् कि भन्ने पनि लाग्यो। मन भावुक पनि भयो। मेरी सरु अब अर्कै भइसकिन् भन्ने अनुभव गरेँ।

अब मैले उनको लोभ गरेर केही फाइदा थिएन त्यसैले टाउको निहुराएर चुपचाप घरतिर लागेँ। मस्तिष्कबाट उनी ओझेल हुन भने लामै समय लाग्यो।  समय धेरै बित्यो। ठ्याक्कै यकिन त भएन तर केही वर्षहरू नै बिते होलान्।

सरुले क्याम्पस छाडिहालिन्। मलाई पनि आफ्नो भविष्य सुरक्षित गर्नतिर लाग्नु थियो। यो आवश्यक नै थियो। आफ्ना पाइलाहरू मोड्नु नै थियो, मोडेँ । क्याम्पसमा म निडर स्वभावको हुँदै गएँ। ‘बोल्नमा प्रखर छस्’ भन्थे साथीहरूले।

दिमाग पनि अलिकति सूक्ष्म भएर होला, सही र गलत तुरून्तै छुट्याएर त्यसमाथि काम गरिहाल्न सक्थेँ। त्यही भएर त म कतिकति खेर राजनीतितर्फ लागिसकेछु। विद्यार्थी राजनीतिबाट मेरो राजनीतिक यात्रा सुरु भयो। बिस्तारै ममा राजनीतिको रस पस्न थाल्यो। राजनीतिमै केही गर्ने हुटहुटी जाग्न थाल्यो। यसको नशा लाग्यो। राजनीतिमै आफ्नो भविष्य देख्न थालिसकेको थिएँ अब।

मेरा पाइलाहरू राजनीतिमै अगाडि बढिरहे। म आफ्नै यात्रामा भुइँ। सरु कता गइन्, थाहा भएन। उनीसँग भेट भएन। कुनै पनि माध्यमबाट उनीसँग सम्पर्क भएन। बाटोमा देख्दा पनि देखिनँ। खासमा मैले एक हिसाबले आफैँलाई भुलिसकेको थिएँ र त्यही भुलाइमै सरु कतै बेपत्ता भएका थिइन्।

‘तिमी गयौ कहाँ, म आएँ कहाँकहाँ
तिम्रो याद भने जहाँ जान्छु त्यहाँत्यहाँ’

एकदिन समाचार आउने बेला हुन लाग्यो भनेर टेलिभिजन खोलेको त यही गीत बजिरहेको रहेछ। अचम्मको कुराचाहिँ के भने त्यसमा नाच्ने मोडल मलाई कताकता देखेजस्तो लाग्यो। यसो नियालेर हेरेको त उनी सरु पो रहिछन्। फेरि नयाँ स्वरूपमा देखेँ सरुलाई आज मैले।

पहिले क्याम्पस आउँदाको दुब्ली र राम्री सरुभन्दा पनि धेरै राम्री देखिएकी थिइन् उनी नाच्दै गर्दा। कस्तो सुहाएको नृत्य! उनलाई देखेर मेरो आश्चर्यको सीमा रहेन। मैले तुरून्तै उनलाई गुगलमा सर्च गरेर खोजें।

उनले केही म्युजिक भिडिओमा खेलिसकेकी रहिछन्। ती सबै लगातार हेरेँ मैले। फेरिफेरि दोहोर्‍याएर तेहेऱ्याएर पनि हेरेँ। यस अवस्थामा उनलाई देखेर मलाई निकै खुसी लाग्यो।

यता मेरो पनि राजनीतिमा चर्चा बिस्तारै चुलिँदै थियो। यस अर्थमा हामी दुवै जना एउटै सहरमा गुन्जिरहेका रहेछौं तर फरकफरक तरिकाबाट। ‘ओहो, मेरी सरु!’ मैले कतिकति बेला भनिसकेछु! पछि पो झसङ्ग भएँ ‘म त विवाहित मान्छे हुँ’ भनेर।

हो, मैले पनि विवाह गरिसकेको थिएँ। मेरो एउटा छोरोसमेत जन्मिसकेको थियो। तैपनि थाहा छैन सरुलाई देख्नेबित्तिकै मेरो खुसी कताबाट उर्लिएर आयो। एकपटक भेट्न पाए पनि हुन्थ्यो नि भन्ने लाग्यो। तुरून्तै मैले आफ्नो मनलाई वशमा राखेँ र हुर्किंदै गरेको राजनीतिक अवस्था सम्झिएँ।

आफ्नो परिवार पनि सम्झिएँ। मनलाई खुम्च्याउनु मेरो बाध्यता नै थियो सायद मैले त्यहीँ गरेँ। यति गर्दा पनि मनले भने सरुलाई नै खोजिरहेको थियो। मनले आज मजाको भोजन पायो क्यार बिर्सनै मानिरहेको थियो। उडेर सरुमै गएर टाँसिइरहेको थियो। केही समय त मैले बल गरेर मनलाई आफ्नो सीमामै ल्याउन खोजें तर जति गर्दा पनि नसकेपछि सरुमै दौडिन दिएँ। मनले जायज नाजायक सबै कुरा सोच्यो।

अब मनले नै नटेरेपछि मेरो के लाग्छ र? केही मानिस हाम्रो पार्टीमा प्रवेश गर्दै थिए आज। म त्यहाँ उपस्थित नहुने कुरै भएन। हाम्रो पार्टीका ठूला नेता आएका थिए र उनैले ती मानिसलाई पार्टी प्रवेश गराउँदै थिए। मैले पार्टीमा प्रवेश गर्नेहरूलाई अबिर लगाइदिइरहेको थिएँ।

ती मानिसहरूको भीडमा एक युवती पनि आइन् र पार्टीमा प्रवेशको घोषणा भयो। खासमा कसकसले पार्टी प्रवेश गर्दै छन् भनेर पहिल्यै थाहा हुन्छ तर मैले धेरै जना भएकाले त्यति ध्यान दिएको थिइनँ अनि यसको जिम्मा अरू नै कुनै साथीले लिएका थिए। मैले उनी सरु नै हुन् भनेर पूरै थाहा पाउने बेलासम्ममा उनले नेताबाट खादा लगाइसकेकी थिइन् मेरो अगाडि उभिएकी थिइन् एक परिचिति व्यक्ति बनेर।

सुरुमा त मैले उनलाई अबिर लगाइदिएँ। केही अबिर उनको सिउँदोमा पनि हालिदिएँ। र, यसरी मैले उनको सिउँदो रङ्ग्याउन नपाएको खल्लोपन मेटाएँ। त्यो दिन हामीबीच कुराकानी भयो पहिलोचोटि खुलेर। क्याम्पसमा हुँदा कुरै त नभएको होइन तर सामान्य कुराकानी मात्रै हुन्थ्यो। मलाई उनीसँग एक हिसाबले लाज लाग्थ्यो, अप्ठ्यारो लाग्थ्यो।

उनलाई पनि त्यस्तै लाग्थ्यो रे! आज उनैले मलाई भनिन्। आज हामी यति धेरै खुल्याैँ कि हामीलाई पहिला आपसमा बोल्न अप्ठ्यारो लाग्थ्यो भन्ने कुरा नै भुल्यौँ। म सरुभन्दा धेरै माथि थिएँ राजनीतिमा। यो कुरा सरुलाई राम्रोसँग थाहा थियो।

त्यसैले त उनले मसँग भनिन्,‘मलाई पनि सिकाउनुस् ल राजनीति। कसरी हुन्छ मलाई पनि अगाडि बढाउनुस्। मलाई पनि सपोर्ट गर्नुस्। म पनि केही गर्न चाहन्छु समाजका लागि देशका लागि तर राजनीतिमा नयाँ भएकाले कसरी के गर्ने भन्ने कुरा सिक्न समय लाग्छ भन्ने लागेको थियो। अब तपाईं हुनुहुन्छ, साह्रै खुसी लागेको छ।’

सरुको त्यो बोली सुनेर खडेरी परेको जमिनमा पानी पर्दा सिञ्चित भए भयो मेरो मन। एकछिन त म हेरेको हेरै पो भएछु! दिनहरू बित्दै गए। सरु आफ्नो काम गर्थिन् र राजनीतिमा पनि सक्रिय थिइन्। म भने पूरै समय राजनीतिमा लागिरहेको थिएँ। यसै क्रममा सरु र म नजिकनजिक हुँदै गयौं।

सरुको घर बजारमा थियो भने मेरो घर गाउँमा । क्याम्पसदेखि नै राजनीतिमै ध्यान दिएकाले होला, ममा अन्य धेरै कुराहरूको कमजोरी थियो। थियो पनि के भन्नु, रहेछ। यो कुरा मैले तब थाहा पाएँ, जब सरुले मलाई लुगा र जुत्ता लगाउनेदेखि मेरो व्यक्तित्व आकर्षित गर्ने खालका अन्य धेरै कुराहरू परिवर्तन गर्दै लगिन्।

मलाई उनीप्रति विश्वास यति धेरै थियो कि उनी जेजे भन्थिन् म त्यहीत्यही गर्दै जान्थेँ र आफूलाई बिल्कुलै फरक र अझै आत्मविश्वासले भरिएको पाउँथेँ। आफू अझै अब्बल बन्दै गइरहेको अनुभव गर्थे‌ं। अनि जतिजति यस्तो अनुभव गर्थें, मलाई सरुको नशा अझै बढी लाग्थ्यो। मानौँ कि उनी एउटा यस्तो नशा हुन् जोबिना म एकछिन पनि रहन सक्दिनँ। लत लागिसकेको मलाई र पूरै त्यही नशामा सदासदाका लागि डुबिरहन चाहन्छु।

स्थिति यस्तो बन्दै गयो कि एक पल नभेट्दा पनि बेचैन हुन थालेँ। सरुले मलाई बच्चालाई गरेजस्तै प्रेम गर्दै गइन् म भने उनलाई प्रेमिकाको जस्तै प्रेम गर्न थालेँ। उनको प्रेम, उनले निःस्वार्थ भावनाले मप्रति देखाएको हौसलाले मेरो प्रेमको अनुभवमाथि झनै मलजल गर्दै गयो। हामी अब एकदमै निकट भइरहेका थियौं। लाग्थ्यो, भगवान्‌ले पनि सायद हामीलाई छुटाउन नखोजेरै होला हामी फेरि भेट भएका र अहिले एक भएका।

सरुसँग नभेटेको केही दिन भइसकेको थियो। कति बेला उनलाई भेटौं भन्ने भइरहेको थियो। उनलाई मैले फोन पनि गरेँ तर थाहा छैन किन उनको मोबाइल स्वीचअफ थियो। म उनलाई देख्न नपाएर पूरै तड्पिरहेको थिएँ। आखिर सरु कहाँ हराइन् भन्ने कौतूहलताले एकातिर घेरिरहेको थियो भने अर्कातिर अहिल्यै उनलाई भेटौँ ॐ भइरहेको थियो। कति गर्दा पनि थाम्न नसकेपछि म केही काम छ भन्ने बहाना गरेर आफ्नो घरबाट निस्किएँ सरुको एक झलक देख्नका लागि। उनलाई भेट्नका लागि। म उनको घरबाहिर पुगेँ।

त्यहाँसम्म आइपुग्नुभन्दा अगाडि त म सरासर सरुको घरभित्र नै छिर्छु भन्ने मनसायमा थिएँ तर उनको घरको छेउमा पुगेपछि त्यो मनसाय कता गायब भयो कता! पहिला त मैले आफू विवाहित हुँ भन्ने कुरा सम्झिएँ अनि सरु पनि विवाहित हुन् भन्ने कुरा पनि याद आइसकेपछि मेरा पाइला रोकिए र उनको घरभित्र छिर्न सकेनन्। त्यो दिन निकै समय सरुको घरअगाडि बसिरहेर म फर्किएँ तर सरुलाई देखिनँ।

भोलिपल्ट पनि सरुसँग सम्पर्क हुन सकेन। दिनभरि त सम्पर्क होला भनेर बसिरहँ तर रात परेपछि भने म कति बेला निस्किसकेछु घरबाट पागलजस्तै बनेर। उनी घरबाट निस्किन्छिन् या छतसम्म भए पनि आउलिन् र मैले हेरूँला, सङ्केत गरेर भेट्न बोलाउँला भन्ने आसैआसमा मैले रातको निकै समय बिताइसकेछु।

करिब आधा राततिर एकाएक मेरो अगाडि एउटा भ्यान आएर रोकियो। पुलिसको भ्यान रहेछ। मैले केही भन्नै लागेको थिएँ उनीहरूमध्ये दुई जनाले तुरून्तै मलाई बल गरेर आफ्‌नो भ्यानमा कोचे। भ्यानमा कोचिसकिएको अवस्थामा तत्काल मैले आफ्नो परिचय दिनुभन्दा कुनै प्रतिक्रिया नदिनु नै बेस ठानेँ।

उनीहरूले पनि मलाई केही सोधेनन्। आपसमा ‘कुनै आश्रमको छेउमा लगेर छाडिदियो भने त्यहाँका मान्छेले उद्धार गर्छन्’भनेर कुरा गरिरहेका थिए। नभन्दै एकैछिनमा उनीहरूले एउटा आश्रमअगाडि लगेर मलाई छाडिदिए। बल्ल मैले आफ्नो अवस्थामा ध्यान दिएँ।

मेरा खुट्टामा दुईथरि चप्पल रहेछन् त्यो पनि साइज नमिलेका। एउटा पुरानो सलले मुख छोपेको रहेछु। निकै चिसो मौसम भएकाले पुलिसले मेरो मुख छोपेको सल खोलेर हेरेनछन् या चिसोमा कठ्याङ्ग्रिन्छ भन्ने ठाने होलान्। हुन त मुख खोलेर हेर्नुपर्ने कुनै आवश्यकता पनि थिएन। त्यही भएर बेबारिसे मानिस भन्ठानी माया गरेर उद्दार गर्न खोजे। धन्न, तिनीहरूले मलाई चिनेनन्।

अलिकति होसमा आइसकेपछि म त्यहाँबाट लुखुरलुखुर हिँडेर घर फर्किएँ। राजनीतिको काममा हिँडिरहने भएकाले घरमा त्यति वास्ता हुँदैनथ्यो म कहाँ जान्छु भनेर। त्यही भएर घरका सबै जना सुतिसकेका हुन्छन्। म भने बाटोमा बेबारिसे फेला पर्ने अवस्थामा पो पुगिसकेछु!

प्रेममा यति धेरै तागत हुँदो रहेछ। जति धेरै तागत हुँदो रहेछ त्यति नै धेरै गलाउँदो पनि रहेछ। सरु मेरो साथमा हुँदा म आफूलाई जति तागतिलो भएको अनुभव गर्थें अहिले सरुको अभावमा बाटोमा बस्ने अवस्थामा पुगिसकेछु। मान्छेलाई प्रेमले यतिसम्म परिवर्तन गर्न सक्दो रहेछ। सडकबाट सत्तासम्म पुऱ्याउन सक्दो रहेछ भने सत्ताबाट सडकसम्म पनि पुऱ्याउन सक्दो रहेछ।

प्रेम भनेको यतिसम्म शक्तिशाली चीज रहेछ। जब सरु आइन् मेरो जीवनमा, मेरो हरेक पल विशिष्ट बन्यो। अहिले सरु केही दिन नहुँदा पनि म पागलझैँ बनिरहेको छु। बाटोमा बेबारिसे भएर हिँडिरहँदा मलाई लाागिरहेको थियो,‘प्रेम भन्ने कुरा जो कोहीसँग, जति बेला पनि र जहाँ पनि हुन सक्दो रहेछ। अनि त्यो प्रेमको मूल्य प्रेम गर्नेले मात्र थाहा पाउँदो रहेछ। अरू त कहाँ पोखूँ र आफ्नो मनको बह। मेरो यो हालत बनाएर सरु आखिर एकाएक कहाँ गायब भइन् फेरि?

प्रकाशित: ५ जेठ २०८१ १७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =