अन्योलमा म्यानचेस्टर सिटीको भविष्य

हिमाल प्रेस २४ माघ २०७९ २२:२१
12
SHARES
अन्योलमा म्यानचेस्टर सिटीको भविष्य

काठमाडौँ- कुनै समय म्यानचेस्टर सिटीलाई सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडका समर्थक ‘नोइजी नेइबर्स’ भनेर गिज्याउँथे। तर बढी हल्ला गर्ने सानो क्लब भनेर हेपिने सिटी इंग्लिस प्रिमियर लिगकै नयाँ शक्तिमा रुपान्तरण भयो। सन् २०११ देखि २०२२ को बीचमा ६ पटक लिग च्याम्पियन बन्यो।

पछिल्लो एक दशकदेखि इंग्लिस फुटबलमा लगातार दबदबा कायम गरेको सिटी अहिले आएर भने अप्ठ्यारोमा परेको छ। कतिसम्म भने सिटी प्रिमियर लिगबाट घटुवामा पर्ने सम्भावना पनि छ भनिँदैछ।

संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीको शासक परिवारको स्वामित्वमा रहेको सिटीमाथि आरोप लागेको छ, वित्तीय नियम उल्लंघन गरेको। प्रिमियर लिगले सोमबार मात्र सिटीमाथि यस्तो आरोप लगाएको हो। सिटीले सन् २००९ देखि २०१८ सम्ममा एक सय पल्टभन्दा बढी नियम उल्लंघन गरेको आरोप छ।

छानबिनका क्रममा सिटीले पर्याप्त सहयोग नगरेको आरोप पनि प्रिमियर लिगको छ। प्रिमियर लिगले लगाएको वित्तीय उल्लंघनको आरोप पुष्टि भएमा सिटीले कठोर कारबाही भोग्नु पर्नेछ। जसमा अंक घटुवा देखि रेलिगेसनसम्म छन्।

आरोप सुनेपछि सिटीले भने आफू छक्क परेको प्रतिक्रिया दिएको छ। विश्व फुटबलको आर्थिक तथ्यांक संकलन गर्ने डेलोइटका अनुसार विश्वकै सर्वाधिक धनी क्लब सिटी हालको समस्या समाधान हुनेमा विश्वस्त छ।

सिटीमाथि नियामक निकायले आरोप लगाएको यो पहिलो पटक होइन। सन् २००८ मा आबुधाबीको स्वामित्वमा आएपछि सिटी पटक पटक यस किसिमका आरोपबाट गुज्रिदै आएको छ। सन् २०१४ मा त युरोपियन फुटबल महासंघ (यूईएफए) ले सिटीलाई वित्तीय अनसशासन तोडेको भन्दै ६ करोड ४० लाख जरिबाना नै सुनाएको थियो।

त्यहीबेला दुई वर्षका लागि च्याम्पियन्स लिगमा सहभागिता जनाउनबाट बन्देज लगाइएको थियो। तर पछि सिटी युईएफएविरुद्धको मुद्दा जित्दै च्याम्पियन्स लिगमा फर्किएको थियो।

गत वर्ष सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भनेका थिए, ‘सिटीले नियामक निकायलाई छक्‍क्याएको प्रमाणित भएमा राजीनामा दिन्छु।’

यसपालि सिटीले छक्काएको प्रमाणित भए के ग्वार्डिओलो राजीनामा दिन्छन्? यसो भएमा सिटीका लागि दुःखद हुनेछ। किनभने ग्वार्डिओलाले सिटीलाई पछिल्ला पाँच सिजनमध्ये चारमा च्याम्पियन बनाएका छन्।

बेलायती अखबार द टाइम्सका फुटबल पत्रकार हेनरी विन्टर सिटीले वित्तीय उल्लंघन गरेको प्रमाणित भएमा उसलाई कडा कारबाही गर्नुपर्ने बताउँछन्। ‘ताकि अन्य क्लबले पनि सिटीले जस्तो नियम उल्ल्ंघन नगरुन्,’ विन्टर भन्छन्।

खेलकुद तथा भूराजनीतिक अर्थतन्त्रका प्राध्यापक सिमोन चाड्विक भने सिटीमाथि के कारबाही गर्ने भन्नेबारे प्रिमियर लिग अहिल्यै स्पष्ट नभएको धारणा राख्छन्।

‘प्रिमियर लिग के ठान्छ भने सिटीलाई कडा कारबाही गर्न सरकारले दबाब दिनेछ। किनभने फुटबल नियमन गर्नका लागि बेलायती सरकारले नयाँ नियमावली ल्याउँदैछ। यो नियमावली अन्तरगत फुटबल नियमन गर्न भिन्दै संस्था बनाइनेछ,’ चाड्विकले भनेका छन्।

फुटबलको वित्तीय पाटोबारे अध्ययन गर्ने केइरन म्यागुएर बेलायती सरकार फुटबलमार्फत आफ्नो भूराजनीतिक लक्ष्य पूरा गर्ने चाह राखिराखेको जिकिर गर्छन्। ‘तर प्रिमियर लिग सरकारका कदमलाई लिएर सचेत छ। उ कुनै नयाँ नियामक संस्था स्थापना भएको हेर्न चाहँदैन। सबै क्लब र तिनका लगानीकर्तालाई आफू मजबुत रहेको सन्देश दिन चाहन्छ,’ म्यागुएर भन्छन्।

म्यागुएर र चाड्विक दुवै जना सिटी प्रिमियर लिगबाट रेलिगेट हुने सम्भावना नरहेको अनुमान गर्छन्। सिटीलाई गरिने कारबाहीको प्रक्रिया पनि लामो हुने चाड्विकको प्रक्षेपण छ। ‘सिटीमाथि कठोर बनेर प्रिमियर लिग विदेशी लगानीकर्ताहरूलाई सशंकित बनाउन चाहन्छ जस्तो लाग्दैन,’ चाड्विकले भने।

प्रिमियर लिगले सिटीबारे लिने निर्णयले पेरिस सेन्ट जर्मेन पीएसजी जस्ता राज्यबाट सञ्चालित भइरहेका क्लबलाई प्रभाव पार्ला?

‘वास्तवमा हामी यस्तो समयमा छौँ, जहाँ सरकारी निकाय विदेशी लगानीकर्ताप्रति लक्षित नियम बनाइरहेका छन्। तर बेलायती सरकार र प्रिमियर लिगले आफ्नो देशमा भएको विदेशी लगानीलाई असर पर्नेगरी नियम ल्याउनु हुँदैन। किनभने यसले देशकै अर्थतन्त्रमाथि नै नकारात्मक प्रभाव पार्नेछ। त्यसै पनि ब्रेक्जिटपछि बेलायतको अर्थतन्त्र सही ठाउँमा छैन,’ प्राध्यापक चाड्विक भन्छन्।

बेलायती सरकार र प्रिमियर लिगमा घरेलु फुटबललाई नियमन गर्नुपर्छ भन्ने धारण रहेकाले सिटीमाथि छानबिन भएको तर सिटीलगायत अन्य क्लबका विदेशी लगानीकर्ता भड्किने गरी निर्णय नआउने प्राध्यापक चाड्विकको अनुमान थियो।

प्रकाशित: २४ माघ २०७९ २२:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =