अब एक खेल हारे, सिटीले लिग जित्न सक्दैन : ग्वार्डिओला

हिमाल प्रेस २ वैशाख २०८० ११:०२
18
SHARES
अब एक खेल हारे, सिटीले लिग जित्न सक्दैन : ग्वार्डिओला

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको उपाधि दौड तात्तिँदै जाँदा म्यानचेस्टर सिटी सचेत छ। लिगमा सिटीका नौ खेल बाँकी छन्। यस्तोमा प्रत्येक खेल जित्दै शीर्षस्थानको आर्सनलमाथि दबाब सिर्जना गर्ने लक्ष्य सिटी प्रशिक्षक पेप ग्वार्डिओलाको छ।

सिटी शनिबार राति लेस्टर सिटीसँग भिड्दैछ। यो खेलमा पराजित भए सिटीको लिग उपाधि रक्षा गर्ने सपना भताभुंग हुने ग्वार्डिओलाको भनाइ छ। आर्सनलले अबका खेलमा अंक गुमाउने सम्भावना न्यून रहेकोले पनि आफूहरू लेस्टरसँगको खेललाई लिएर सचेत हुनुपर्ने ग्वार्डिओलाले बताउँछन्।

गत साता आर्सनल लिभरपुलसँग २-२ को बराबरीमा रोकिएको थियो। यो नतिजाले सिटीको उपाधि रक्षा गर्ने सम्भावनालाई जीवित बनाएको हो। यसकारण १९ औँ स्थानको लेस्टरमाथिको जितले सिटी र आर्सनलबीचको अंक दूरी तीन अंकमा झार्नेछ। आर्सनलभन्दा एक खेल कम खेलेका कारण पनि सिटी उत्साहित भएको हो।

‘अब कुनै पनि खेल हार्दा हामी उपाधि दौडमा पछि पर्नेछौँ। यो सबैले बुझेको तथ्य हो। यसकारण हामी एकाग्र भएर खेल्न आवश्यक छ। सानाभन्दा साना गल्ती गर्न पनि छुट छैन। लेस्टरसँग हारे लिग जित्ने सम्भावना सकिनेछ। लेस्टरलाई हराए, सम्भावना जीवित रहनेछ,’ ग्वार्डिओलाले भनेका छन्।

सिटीभन्दा ६ अंकले अघि रहेको आर्सनलले हाल साताको एक खेल मात्र खेल्नु परेकोले पर्याप्त आराम पाइरहेको ग्वार्डिओलाको भनाइ थियो। च्याम्पियन्स लिगमा मंगलबार राति बायर्न म्युनिखसँग खेलेको सिटी केही दिनको आरामपछि प्रिमियर लिगमा फर्कन लागेको हो। उता आर्सनल भने प्रिमियर लिगमा मात्र केन्द्रित हुन पाएको छ। मिकेल आर्टेटाको टिम आइतबार लन्डन प्रतिद्वन्द्वी वेस्टह्याम युनाइटेडसँग भिड्ने तालिका छ।

सिटीले यो सिजन तीन उपाधि जित्ने सम्भावना छ। प्रिमियर लिगमा आर्सनललाई पछ्याइरहेको सिटी च्याम्पियन्स लिग सेमिफाइनलनजिक छ। क्वार्टरफाइनलको पहिलो लेगमा बायर्नलाई ३-० ले पराजित गरेको सिटीलाई दोस्रो लेगमा बराबरीको नतिजा पनि पर्याप्त हुनेछ, सेमिफाइनल पुग्न।

सिटी एफए कपको भने सेमिफाइनलमा पुगिसकेको छ। जहाँ उसले सेफिल्ड युनाइटेडको सामना गर्दैछ। त्यसअघि सिटीले प्रिमियर लिगमा आर्सनलसँग भिड्नुछ। अप्रिल २६ मा हुने यो भिडन्तपछि सिटीले लिगमा पाँच खेल खेल्न बाँकी रहनेछ।

सिटीका लागि यो व्यस्त तालिका नौलो होइन। यसअघिका सिजनमा पनि सिटी यसरी नै व्यस्त बन्ने गरेको थियो। व्यवस्त तालिकाका बाबजुद सफल हुँदै आएको सिटी यसपालि पनि उही लय कायम राख्ने दाउमा छ।

‘हामीले तीन-तीन वा चार-चार दिनको फरकमा खेल्नु परिरहेको छ। यो व्यस्ता तालिकाले हामीलाई एकाग्र रहन मद्दत गरेको छ। हुन त यसरी खेल्नु हाम्रा लागि नयाँ होइन। पछिल्ला सिजनहरूमा पनि हामी यत्तिकै व्यस्त थियौँ,’ ग्वार्डिओलाले भनेका छन्।

सिटी एर्लिङ हालान्डको गोल लयका कारण पनि केही हदसम्म ढुक्क छ। हालान्डबाहेक केभिन डे ब्रुएनाले पनि सिटीलाई सही समयमा बलियो बन्न सहयोग गरेका छन्। डे ब्रुएनाले जारी सिजन प्रिमियर लिगमा पाँच गोल गरेका छन् भने १४ गोलका लागि पास उपलब्ध गराएका गरेका छन्। बायर्नसँगको खेलमा सबिस्टच्युट हुनु परेपछि डे ब्रुएना आक्रोशित बनेका थिए।

‘खेलाडी रिसाउनु सामान्य कुरा हो। आधुनिक फुटबलमा भइरहने कुरा हो। अरु क्लबमा पनि हुन्छ। भविष्यमा पनि खेलाडीहरू रिसाउनेछन्। किनभने सबैको इच्छा जतिसक्दो धेरै खेल्ने हुन्छ। म यो कुरा बुझ्छु,’ ग्वार्डिओलाले डे ब्रुएनाबारे भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =