यसपालि नसके कहिले जित्ने?

हिमाल प्रेस २० असोज २०८० १३:५४
18
SHARES
यसपालि नसके कहिले जित्ने?

काठमाडौँ- डिसेम्बर २१, २०१५ मा इंग्लिस प्रिमियर लिगअन्तर्गत आर्सनल म्यानचेस्टर सिटीसँग भिड्दै थियो। नतिजा आर्सनलको पक्षमा आयो, २–१ गोलले। यो खेल जितेपछि आर्सनलले उपाधि सम्भावनालाई जारी राख्यो।

सिटीमाथिको जितले आर्सनल समर्थकलाई पक्कै खुसीयाली मनाउने मौका थियो। उपाधि लक्ष्य बलियो बन्दै गएको, त्यसमाथि क्रिसमस, आर्सनल समर्थकलाई अरु के चाहियो र?

मिकेल आर्टेटाका लागि यी क्षण कम महत्त्वका थिएनन्। भलै उनी टिममा थिएनन्। चोटका कारण उनी मैदानबाहिर थिए। फेरि यो यस्तो बेला थियो, जब उनको फिटनेसमा बारम्बार समस्या आइरहेको थियो।

उता जर्मनीमा यही बेला पेप ग्वार्डिओला बायर्न म्युनिखलाई च्याम्पियन बनाउने बाटोमा थिए। सिजन मध्यबिन्दूमा थियो, उनले घोषणा गरिदिए, अर्को सिजन म यहाँ हुन्न। खबर पक्का भइसकेको थिएन तर उनी सिटीको प्रशिक्षक बन्नेवाला थिए।

सन् २०१५–१६ सिजनमा ग्वार्डिओला सिटीको प्रशिक्षक बने। ठ्याक्कै यो सिजनदेखि आर्सनलले सिटीलाई लिगमा हराउन सकेको छैन। ग्वार्डिओला नेतृतवको सिटीले १५ मध्ये १३ खेलमा आर्सनललाई पन्छाएको छ।

गत सिजन यी दुई टिम उपाधि दौडमा थिए। लिगमा आर्सनलविरुद्धका दुवै खेल सिटीले आरामले जित्यो। अझ इत्तिहादमा त सिटीले चार गोल नै ग¥यो। आर्सनलले लिगका ११ खेलमा भोगेको यो पहिलो हार थियो। उसो त त्यसअघिका तीन खेलमा आर्सनल लिभरपुल, वेस्टह्याम युनाइटेड र साउथह्याम्पटनसँग बराबरीमा रोकिएको थियो।

यी तीन नतिजाले आर्सनलको उपाधि जित्ने क्षमतामा ह्रास ल्याइसकेका थिए। सिटीसँगको हारले भने आर्सनलको सपनामा लगभग पूर्णविराम लगाइदियो।

गत सिजन अन्ततः दोस्रो भएको आर्सनल आर्टेटा प्रशिक्षक भएपछि बलियो टिम बनेको पक्का हो। यसपालि पनि आर्सनलको लक्ष्य उपाधि नै हो। तर यसका लागि आर्सनलले निकै चुनौती पन्छाउनु पर्नेछ। त्यसमध्ये एउटा चुनौती सिटी हो। खासमा सिटीले कायम राखेको अपराजित लयलाई आर्सनलले भत्काउनु पर्नेछ।

आठ वर्षअघिको त्यो खेलमा आर्सनलका लागि ओलिभर जिरुड र थियो वाल्कोटले गोल गरेका थिए। त्यसबेला आर्टेटाले सायदै सोचेका थिए, प्रशिक्षकका रुपमा सिटीलाई चुनौती दिने दिन यति चाँडै आउनेछ भनेर।

‘फुटबल जे पनि सम्भव छ। फुटबल परिवर्तनशील छ। यो छिटो छिटो परिवर्तन हुन्छ,’ सिटीसँग आइतबार हुन लागेको भिडन्तअघि आर्टेटाले भने।

प्रिमियर लिगमा नसके पनि एफए कपमा भने आर्सनलले सिटीलाई दुःख दिएकै हो। यी दुई टिम दुई पटक एफए कप सेमिफाइनलमा भिडेका छन्। ती दुवैमा आर्सनल विजयी भएको छ। गत अगस्टमा कम्युनिटी शिल्डमा पनि आर्सनल नै विजयी भएको थियो।

कम्युनिटी शिल्डको सफलतालाई आर्सनलले हलुका मानेन। किनभने बलियो सिटीमाथिको आफैँमा सन्देश थियो, आर्सनल ठूला खेलमा सिटीलाई हराउन सक्षम छ। सिटीविरुद्ध लगातार असफलता भोगिरेहकाले आर्सनलका लागि यो जितले मानसिक बोझ पनि कम गरेको हुनुपर्छ।

आर्सनल फेरि एकपल्ट आफूलाई प्रमाणित गर्ने अभियानमा छ। च्याम्पियन सिटीलाई इसिमरेट्समा हराए आर्सनलले खुलेर भन्नसक्छ, हामी यसपालि पनि लड्न तयार छौँ। फेरि यो आर्सनलका लागि आफूमाथि उठेका प्रश्नको जवाफ दिने समय पनि हो। आर्सनल समर्थक पनि सोधिरहेका छन्, यसपालि पनि जित्न नसके कहिले?

आइतबारको खेलमा मिडफिल्ड निर्णायक बन्नसक्छ। सिटीसँग यति बेला केभिन डे ब्रुएना छैनन्। उनको चोटले सिटीलाई पिरोलेको छ। त्यसमाथि रोड्रीको अनुपस्थितिले सिटीको मिडफिल्डलाई असन्तुलित बनाएको छ। गत सिजन उपाधि जित्दा महत्त्वपूर्ण साबित भएका एल्काई गुन्डोवान बार्सिलोना गइसकेका छन्। यस्तोमा आर्सनलसँगको खेलमा सिटीसँग नयाँ स्वरुपको मिडफिल्ड हुनेछ।

आर्सनलको मिडफिल्डमा पनि फेरबेदल भएको छ। त्यहाँ डेक्लान राइस थपिएका छन्। उनीमाथि आर्टेटोले ठूलो भरोसा राखेका छन्। आर्टेटाको ठम्मयाई छ, राइसले आर्सनलको मिडसफल्डलाई सुरक्षित बनाएका छन्। यो टिमको मिडफिल्ड पछिल्ला सिजनहरुमा यत्तिको सुरक्षित थिएन सायद।

‘यो लिगमा प्रतिस्पर्धा गर्न शारिरीक रुपमा बलियो हुनैपर्छ। नत्र विपक्षीमाथि हावी हुन सकिँदैन। यसका लागि बलिष्ठ खेलाडीको आवश्यकता पर्छ। विशेषगरी ठूला खेलमा शारीरिक द्धन्द्ध जित्नैपर्छ,’ आर्टेटा भन्छन्।

आठ महिनाअघि इमिरेट्समा आर्सनललाई हराउन सिटीले स्पष्ट आक्रामक शैली अपनाएको थियो। पराजय भोगे पनि आर्सनलको उद्देश्य रक्षात्मक खेल्ने थिएन। पाएका मौका उपयोग नहुँदा आर्सनल हारेको थियो। ‘त्यसबेला हामीले पर्याप्त मौका पाएको हो, गोल गर्न र खेल जित्न। कतिपय क्षणमा हामी सिटीभन्दा बलियो थियौँ। तर अन्तिममा हामीले तीन अंक गुमाउनु प¥यो,’ आर्टेटा त्यो खेल सम्झिन्छन्।

आर्टेटालाई विश्वास छ, उनको टिम सिटीभन्दा धेरै पर छैन। निर्णायक पलमा कमजोर नबने, सिटीलाई हराउन सकिन्छ भन्ने आत्मविश्वास उनीमा छ। राइसको आगमनले पनि आर्टेटालाई आत्मविश्वासी बनाएको हो। अब त थोमस पार्टे पनि टिममा फर्किइसकेका छन्। यी दुई खेलाडीले जितको जग बसाउन सक्ने अपेक्षा छ।

यही बेला सिटी भने कमजोर देखिएको छ। कम्तीमा पछिल्लो खेलमा सिटी धारिलो देखिएन। उल्भरह्याम्पटनले सिटीलाई स्तब्ध बनायो। यो खेलमा सिटी असन्तुलित देखिएको थियो। हुन त सिजनको सुरुवातमा भोगेको यो हारले सिटीमा वातावरण बिगारेको छैन। तर हार्दा देखिएको रणनीतिक असन्तुलनले भने सिटीका प्रतिद्धन्द्धीहरुलाई उत्साहित बनाएको हुनुपर्छ।

उल्भरह्याम्पटनले सिटीविरुद्ध ‘ट्रन्जिसन’ मा गोल गरेको थियो। आर्सनलको दाउ पनि त्यही हुनसक्छ। यसका लागि आर्सनलले तीव्र गतिमा खेल्नु पर्नेछ। तर आर्सनलमा सबैभन्दा तीव्र गतिमा खेल्ने फरवार्ड बुकायो साका हाल घाइते छन्। साका आर्सनल अग्रपंक्तिको केन्द्र हुन्। उनले आर्सनलको जर्सीमा बिरलै खराब खेलेका छन्।

उसो त एक खेलाडीमाथि बढी निर्भर हुनु कुनै पनि टिमका लागि कमजोरी हो। यस्तोमा हालको आर्सनलको कमजोरी हो, साकामाथिको निर्भरता। साकाले तीन वर्षका १७३ खेल खेलेका छन्। पछिल्लो समय उनलाई चोटले सताइरहेको छ। पछिल्ला तीन खेलमा लगातार घाइते भएका साका सिटीसँगको भिडन्तका लागि तयार हुन्छन् कि हुँदैनन् प्रस्ट छैन। साका मैदान फर्कन नसके, उनलाई प्रतिस्थापन गर्नसक्ने खेलाडी आर्सनलमा छैनन्। पर्याप्त आराम नगरी खेल्नु परिरहेकाले उनी घाइते भइरहेको टिप्पणी भइरहेको छ। आर्टेटा भने साका जस्ता स्तरीय खेलाडीले एक सिजनमा ७० खेलसम्म खेल्नसक्नु पर्ने बताउँछन्। उनले गत वर्ष दिएको यो अभिव्यक्तिलाई मन पराइएको छैन।

कुनै पनि खेलअघि आर्टेटा आफ्ना घाइते खेलाडीबारे ताजा सूचना दिँदैनन्। फलतः उनले छनोट गर्ने पहिलो एघारले सबैलाई अच्चमित बनाउने नै भयो। उता ग्वार्डिओला पनि अप्रत्याशित पहिलो एघार चुन्न मन पराउँछन्। उनी कस्तो टिम मैदान उतार्छन्, विपक्षीले सहज अनुमान लगाउन सक्दैनन्। आर्सनलसँगको पछिल्लो खेलमा ग्वार्डिओलाले बर्नादो सिल्भालाई फुलब्याक बनाएका थिए।

‘ठूला टिमसँग खेल्दा उनी केही न केही फरक गर्छन् नै। फेरि सिटीसँग यस्तो टिम छ कि जस्तो रणनीति बनाए पनि फरक पर्दैन। खेलको सुरुमा, दोस्रो हाफमा, उत्तराद्र्धमा जतिबेलमा पनि सिटीले रणनीति परिवर्तन गर्नसक्छ। र बनाएको राणनीति पूर्णरुपमा पालना हुन्छ,’ सिटी र ग्वार्डिओलाबारे आर्टेटाको टिप्पणी छ।

फेब्रुअरीको त्यो खेलमा ‘फुलब्याक’ बनेका सिल्भालाई साकाले खुबै दुःख दिएका थिए। साकाले रक्षात्मक बाधा सजिलै पन्छाउन थालेपछि ग्वार्डिओलाले सिल्भालाई फुलब्याकबाट विंगमा सारेका थिए। तर यसपालि सिल्भाले फरक भूमिका निर्वाह गर्न आवश्यक छैन। सिटीसँग पर्याप्त रक्षक छन्। उसै पनि ग्वार्डिओला उही रणनीति फेरि एक पटक किन अवलम्बन गर्थे र?

आर्सनलका खेलाडी भने सिटीको जस्तो चलाखीपूर्ण रणनीति पनि सामना गर्न तयार छन्। पछिल्ला केही वर्षमा म्यानचेस्टर युनाइटेड र चेल्सीलाई उनीहरुकै मैदानमा हराएको अनुभव बटुलेका उनीहरु अर्को ठूलो क्लबलाई पन्छाउन सकिनेमा विश्वस्त छन्। यसो गर्नसके, आर्सनलले परिस्थिति फेरि एकपल्ट आफ्नो पक्षमा पार्नेछ।

प्रकाशित: २० असोज २०८० १३:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 17 =