अत्तालिँदै आर्सनल

हिमाल प्रेस ९ वैशाख २०८० ७:५३
6
SHARES
अत्तालिँदै आर्सनल

काठमाडौँ- बुकायो साकाले ९० औँ मिनेटमा गोल गरेपछि आर्सनल शुक्रबार राति साउथह्याम्पटनसँग हारबाट जोगिएको छ। घरेलु मैदानमा पुछारको साउथह्याम्पटनविरुद्ध आर्सनलले निर्धारित समयको अन्तिम दुई मिनेटमा दुई गोल गरेको थियो। अन्ततः खेल बराबरी गर्न सफल भए पनि आर्सनलको इंग्लिस प्रिमियर लिग उपाधि जित्ने लक्ष्य भने खतरामा परेको छ।

इमिरेट्स रंगशालामा ३-१ ले पछि परेको आर्सनलका लागि कप्तान मार्टिन ओडेगार्डले ८८ औँ मिनेटमा गोल गरेका थिए। त्यसको दुई मिनेटपछि साकाले गोल गर्दै खेल बराबरीमा पुर्‍याए।

यो बराबरीका बाबजुद आर्सनल शीर्षस्थानमा यथावत् छ। आर्सनल र दोस्रो स्थानको म्यानचेस्टर सिटीबीच पाँच अंकको दूरी छ। यद्यपि यो दूरी आर्सनललाई च्याम्पियन बनाउन पर्याप्त नहुन सक्छ। किनभने आर्सनलले सिटीभन्दा दुई खेल बढी खेलेको छ।

आर्सनल र सिटी आउँदो बुधबार राति इत्तिहाद रंगशालामा आमनेसमाने हुँदैछन्। घरेलु रंगशालामा सिटी विजयी भए आर्सनलको उपाधि लक्ष्यमा थप धक्का पुग्नेछ। यो खेलमा बराबरीमा रोकिए र बाँकी सबै खेल जिते सिटीले प्रिमियर लिग उपाधि रक्षा गर्नेछ। ।

आर्सनलले पछिल्ला दुई खेलमा वेस्टह्याम र लिभरपुलसँग बराबरी खेलेसँगै लिग उपाधि दौडमा सिटीले स्वतः बलियो पुनरागमन गरेको थियो। लगातार तेस्रो बराबरी खेलेपछि आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले आफ्नै कारण उपाधि दाबेदारी कमजोर बनेको प्रतिक्रिया दिए।

‘यो नतिजाले म खुसी छैन। आफ्नै कारण हामी अप्ठ्यारोमा परेका छौँ। हामी निरन्तर गोल खाइरेका छौँ। रक्षापंक्तिमा गल्ती भइरहेका छन्। तर जसरी पुनरागमन गर्न सकेका छौँ, त्यसले चाहिँ म खुसी छु,’ आर्टेटाले भनेका छन्, ‘यो टिम युवा खेलाडीले भरिएको छ। कम अनुभवी हुँदहुँदै पनि उनीहरूले मैदानमा बारम्बार मजबुत प्रतिक्रिया जनाइरहेका छन्।’

साउथह्याम्पटनले पहिलो गोल आर्सनलका गोलरक्षक आरोेन राम्सडेलको गल्तीका कारण गरेको थियो। राम्सडेलले गरेको मिसपासलाई कार्लो अल्कारेजले भेटेका थिए, जसलाई उनले सहजै गोलमा परिणत गरे।

पाहुना टिमले १४ औँ मिनेटमा अग्रता दोब्बर बनायो। अल्कारेजले निकालेको पासमा आर्सनलका पूर्वफरवार्ड थियो वाल्कोटले गोल गर्दै साउथह्याम्पटनलाई खेलमा अघि बढाएका थिए।

दुई गोलले पछि परेको आर्सनलले २० औँ मिनेटमा पहिलो गोल गर्न सक्यो। साकाको सहयोगमा गाब्रियल मार्टिनेलीले गोल अन्तर घटाए। तर दोस्रो हाफको ६६ औँ मिनेटम आर्मेल बेल्ला कोचापको कर्नरम डुए कालेटा सारले हेडर गोल गर्दै साथउह्याप्टनलाई ३-१ को स्थितिमा पुर्‍याएका थिए।

उत्तरार्द्धमा ओडेगार्ड र साकाले गोल गरेपछि भने आर्सनल १० खेलको अपराजित शृंखलालाई कायम राख्न सफल भयो। यद्यपि यो लयलाई सिटीको ६ खेलको जितयात्राले खतरामा पारेको छ। लिगमा अब ६ खेल्न बाँकी रहेकामा आर्सनलको युवा टिल इत्तिहादमा अनिवार्य जितको खोजीमा हुनेछ।

‘यो बराबरी हाम्रा लागि अन्त्य होइन। किनभने हामीले अझै ६ खेल खेल्न बाँकी छ। हामी आत्तिएका छैनौँ। खेलाडीहरूमा जोश कायम छ। उनीहरू च्याम्पियन बन्न मानसिकम रुपमा तयार छन्। तर यति भनिरहँदा सत्य के हो भने, हामीले रक्षापंक्तिमा भने धेरै सुधार गर्नुछ,’ आर्टेटाले भने।

आर्सनलले पछिल्लो पटक सन् २००४ मा प्रिमियर लिग जितेको हो। त्यसबेला आर्सनलमा रहेका प्याट्रिक भिएरा, थिएरी अन्री र सोल क्याम्पबेल जस्ता खेलाडी शुक्रबार राति इमिरेट्स पुगेका थिए। युवा खेलाडीहरूको हौसला बढाउन उनीहरू इमिरेट्स पुगेको भए पनि त्यहाँ माहोल अपेक्षा गरे अनुसारको सिर्जना हुन सकेन। पहिलो मिनेटभित्र राम्सडेलले गल्ती गरेपछि पाहुना टिम हाबी भएको थियो।

प्रकाशित: ९ वैशाख २०८० ७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =