च्याम्पियन बन्न भाग्यको साथ खोज्दै आर्सनल

हिमाल प्रेस २ वैशाख २०८० ११:४६
8
SHARES
च्याम्पियन बन्न भाग्यको साथ खोज्दै आर्सनल

काठमाडौँ- इंग्लिस प्रिमियर लिग जित्न आर्सनललाई भाग्यको साथ आवश्यक रहेको प्रशिक्षक मिकेल आर्टेटाले बताएका छन्। कतिपय स्थितिमा खेल जित्न भाग्य नै चाहिने नत्र म्यानचेस्टर सिटी जत्तिकै बलियो टिमलाई पछि पार्न नसकिने भनाइ आर्टेटाको थियो।

‘हामीलाई सही समयमा भाग्यको साथ चाहिन्छ। फुटबलमा भाग्यको स्थान बलियो छ। कहिलेकाहिँ बल एक इन्च पर जाँदा गोल हुँदैन वा गोल हुनबाट जोगिन्छ। भाग्य यही हो,’ आर्टेटाले भनेका छन्।

प्रिमियर लिगमा आर्सनल र सिटीबीचको दूरी ६ अंकको छ। तर शनिबार लेस्टर सिटीलाई हराए सिटीले त्यो दूरी तीन अंकमा झार्नेछ। आर्सनल भने आइतबार लन्डन रंगशाला जाँदैछ, जहाँ उसको भेट वेस्टह्याम युनाइटेडसँग हुनेछ।

सिटीभन्दा एक खेल बढी खेलेको आर्सनल गत साता लिभरपुलसँग २–२ को बराबरीमा रोकिएको थियो। पहिलो हाफमा २-० को अग्रता लिएका आर्सनलले एनफिल्डमा दोस्रो हाफमा दुई गोल खाएको थियो। यो नतिजापछि सिटी उपाधि दौडमा एकाएक बलियो बन्न पुगेको हो।

६ सिजनमा पाँच पटक इंग्लिस च्याम्पियन बन्ने लक्ष्यमा रहेको सिटीले अप्रिल २६ मा इत्तिहादममा आर्सनललाई स्वागत गर्नेछ। च्याम्पियन्स लिगसमेत जित्ने दाउमा रहेको सिटीले घरेलु मैदानमा आर्सनललाई हराए प्रिमियर लिग उपाधि होड फरक मोडमा पुग्नसक्छ।

सन् २००४ पछि प्रिमियर लिग जित्न नसकेको आर्सनलले यो सिजनको सुरुवातमा च्याम्पियन बन्ने सपना देखेको आर्टेटाको भनाइ छ। ‘हुन त फुटबलमा एक खेलपछि अर्को गर्दै अघि बढ्ने हो। यहाँ प्रत्येक खेल र दिनको महत्त्व छ,’ आर्टेटाले भनेका छन्, ‘ म यहाँ आएको आर्सनललाई पुरानो स्थानमा पुर्‍याउन हो। प्रत्येक उपाधिका लागि आर्सनल भिड्छ। यो सिजनको सुरुवातमा हामीले बनाएको लक्ष्य यही हो।’

आर्टेटाले आर्सनलको वर्तमान लयलाई लिएर सन्तुष्टि पनि व्यक्त गरेका छन्। ‘लिगको उत्तर्राद्धमा छौँ। यो घडीमा हामी सबैले साविकको भन्दा अलिक बढी मेहनत गर्न आवश्यक छ,’ आर्टेटाले भने।

प्रिमियर लिगमा यो सिजन आर्सनलले सिटीको भन्दा एक खेल कम हारेको छ। यद्यपि गोल भिन्नतामा भने सिटी आर्सनलभन्दा केही अगाडि छ। उपाधि दौडमा गोल भिन्नताको भूमिका महत्त्वपूर्ण हुने तथ्यप्रति आर्टेटा जानकार छन्।

‘हामी हरेक पक्षबारे सोचिरहेका छौँ। तर सुरुमा हामी आफ्ना सबै खेल जित्ने प्रयास गछौँ। धेरैभन्दा धेरै गोल गरेर जित्दा फाइदा हुन्छ भन्ने थाहा छ। अब सिजनको अन्त्यमा च्याम्पियनको निर्क्याेल कसरी हुन्छ, हेरौँ,’ आर्टेटा भन्छन्।

प्रकाशित: २ वैशाख २०८० ११:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + six =