समर्थकलाई ग्वार्डिओलाको आह्वान : ठिक्क मात्रामा बियर पिएर वेम्बली आउनू

हिमाल प्रेस २० जेठ २०८० ९:१७
12
SHARES
समर्थकलाई ग्वार्डिओलाको आह्वान : ठिक्क मात्रामा बियर पिएर वेम्बली आउनू

काठमाडौँ- म्यानचेस्टर सहरका दुई क्लब शनिबार एफए कप फाइनलमा भिड्दैछन्। लन्डनको वेम्बली रंगशालामा हुने फाइनल जिते म्यानचेस्टर सिटी ‘ट्रेबल’ तिर अघि बढ्नेछ। सिटीले यसअघि नै इंग्लिस प्रिमियर लिग जितिसकेको छ भने च्याम्पियन्स लिग फाइनलमा स्थान पक्का गरेको छ। युनाइटेड भने लिग कपको विजेता हो।

इंग्लिस फुटबलको इतिहासमा युनाइटेडबाहेक कुनै क्लबले एक सिजन तीन उपाधि जित्न सकेका छैनन्। युनाइटेडले यो कीर्तिमान सन् १९९९ मा राखेको थियो। सहरी प्रतिद्वन्द्वी सिटीलाई आफ्नो कीर्तिमान बराबरी गर्नबाट रोक्न युनाइटेड हरसम्भव प्रयास गर्नेछ।

यस्तोमा एफए कप फाइनल तनावयुक्त बन्नसक्छ। सन् २०११ मा वेम्बलीमै यी दुई टिम एफए कप सेमिफाइनलमा आमनेसामने हुँदा समर्थकबीच झगडा भएको थियो। त्यसबेला ३४ जना पक्राउ परेका थिए। स्थानीय सुरक्षा अधिकारीहरु त्यस्तो घटना दोहोरिन सक्नेमा सचत छन्।

सामान्यतया एफए कप फाइनल साँझको समयमा खेलाइन्थ्यो। यसपालि भने खेल बेलायती समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ। सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै समय परिवर्तन गरिएको हो। शनिबार बेलायतमा रेल चालकहरुको संगठनले ‘रेल स्ट्राइक’ गर्ने भएकाले समर्थकको आगमन व्यवस्थित नहुने आकलन छ।

यद्यपि रेल सेवा पूर्ण रुपमा ठप्प नहुने भएकाले दुवै क्लबले आआफ्ना समर्थकलाई फरक फरक रेल र रुट सुझाएका छन्। वेम्बली रंगशाला पुग्ने समर्थकबीच झगडा नहोस् भनेर सिटी र युनाइटेड समर्थकका लागि फरक फरक ‘फ्यान जोन’ बनाइएको छ।

यहीबीच सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना समर्थकलाई गलत व्यवहार नदेखाउन आह्वान् गरेका छन्। उनले समर्थकलाई बियर ठिक्क मात्र पिउन पनि आग्रह गरेका छन्।

‘सिटीका समर्थकलाई म आग्रह गर्न चाहन्छु, गलत व्यवहार नदेखाऔँ। खेलाडीको प्रयास युनाइटेडलाई हराउने हुनेछ। तर नतिजा हाम्रो हातमा हुन्छ भन्ने छैन। आज को विजयी हुन्छ भन्ने न त मलाई थाहा छ, न त एरिक टेन हागलाई। किनभने यो फुटबल खेल हो,’ ग्वार्डिओलाले भनेका छन्, ‘फुटबलका नतिजा जे पनि आउन सक्छ। हो, वर्षौँसम्म सिटी युनाइटेडको छायामा थियो। बल्ल आएर हामी एफए कप उपाधिका लागि युनाइटेडसँग भिड्दैछौँ। त्यसकारण सबैजना आरामले खेल हेरौँ। खेलअघि ठिक्क बियर पिऔँ।’

सिटीले पछिल्लो पटक एएफ कप जितेको सन् २०१९ मा हो। त्यसबेला फाइनलमा सिटीले वाटफोर्ड सिटीलाई ६-० ले पन्छाएको थियो। त्यसको ठ्याक्कै अघिल्लो सिजन युनाइटेडले फाइनल खेलेको थियो। तर चेल्सीसँग १-० को हार भोग्यो। युनाइटेड च्याम्पियन भएको चाहिँ सन् २०१६ मा हो।

ग्वार्डिओलाले हालसम्म सिटीलाई पाँच प्रिमियर लिग, चार लिग कप र एक एफए कप गरी १० उपाधि जिताइसकेका छन्। ११ औँ उपाधितिर आँखा लगाइरहेका ग्वार्डिओलाले बलियो सिटी टिम उतार्ने अनुमान गरिएको छ। किनभने सिटीमा अहिले ‘इन्जुरी’ को समस्या छैन। पहिलो रोजाइका एडरसन भने बेन्चमा हुनेछन्। ग्वार्डिओलाले दोस्रो रोजाइका गोलरक्षक स्टेफन आर्टेगालाई एफए कप फाइनलमा खेलाउने यसअघि नै घोषणा गरिसकेका थिए।

‘एफए कपकै यसअघिका खेलमा स्टेफनले राम्रो खेलेका थिए। फाइनल पनि उनले नै खेल्नेछन्। एडरसनको खेल्ने पालो च्याम्पियन्स लिग फाइनलमा आउनेछ,’ ग्वार्डिओलाले भनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =