ग्वार्डिओलालाई अवसर, बदलाको

हिमाल प्रेस २८ चैत २०७९ १२:३८
36
SHARES
ग्वार्डिओलालाई अवसर, बदलाको

काठमाडौँ- पेप ग्वार्डिओलामाथि लाग्दै आएकाे आरोप हो, जति खर्च गरे पनि उनले म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिग जिताउन सकेका छैनन्। यस्तो आरोपबाट मुक्त हुने अवसर उनले नपाएका होइनन्। उनको नेतृत्वमा सिटी सन् २०२०/२१ सिजनको फाइनल पुगेको थियो।

तर त्यहाँ सिटी चेल्सीसँग पराजित भयो। सिटीले भोगेको पराजय साँघुरो थियो। चेल्सीका काई हार्भट्सले पहिलो हाफ सकिन लाग्दा गरेको गोलले ग्वार्डिओलाको च्याम्पियन्स लिग उपाधिको पर्खाइ लम्ब्याइदियो।

चेल्सीले च्याम्पियन्स लिग जित्दा थोमस टुकल प्रशिक्षक बनेको भर्खर पाँच महिना पुग्दै थियो। ग्वार्डिओला भने सिटीमा पाँचौँ सिजन बिताइरहेका थिए। पहिलो सिजन सिटीलाई अन्तिम १६ मा पुर्‍याएका उनले त्यसपछिका तीन सिजनमा क्वार्टरफाइनल कटाउन सकेका थिएनन्।

यस्तोमा स्पेनी प्रशिक्षकका लागि सन् २०२१ अवसर थियो, लगातारको खराब नतिजालाई टुंग्याउने। तर उनको यो लक्ष्य टुकलले सफल हुन दिएनन्। उनै टुकल फेरि एकपल्ट ग्वार्डिओलाका लागि बाधा बन्ने सम्भावना छ। यसपालि टुकल जर्मन क्लब बायर्न म्युनिखसँग च्याम्पियन्स लिगमा होमिएका छन्।

क्वार्टरफाइनलको पहिलो लेग सिटीको मैदानमा हुँदैछ। मंगलबार रातिको यो खेल जित्दै सिटी दोस्रो लेगका लागि म्युनिख पुग्न चाहन्छ। यो स्वाभाविक लक्ष्य हो। किनभने बायर्नलाई उसको मैदानमा हराउन सजिलो छैन। आलियान्ज ऐरिनामा बायर्न पछिल्लो पटक हारेको अप्रिल, २०२१ मा मात्र हो। यो सिजन त बायर्न घरेलु मैदानमा झनै बलियो देखिएको छ। यसको प्रमाण हो, बार्सिलोना, इन्टर मिलान र पेरिस सेन्ट जर्मेन (पीएसजी) माथिको जित।

इत्तिहादमा दुई टिम प्राविधिक मात्र होइन रणनीतिक प्रतिस्पर्धा पनि गर्न तयार छन्। ग्वार्डिओला जस्तै कठिन रणनीतिकार मानिने टुकल पुनः एकपटक ग्वार्डिओलामाथि हाबी हुन चाहन्छन्। फेरि यो भिडन्त जित्न टुकलसँग पर्याप्त स्रोत छन्। स्रोत बायर्नका प्राविधिक कौशलले निपुण खेलाडी हुन्।

ग्वार्डिओला र टुकल पहिलो पटक आमनेसामने सन् २०१३ मा भएका थिए। त्यसबेला ग्वार्डिओला संयोगवश बायर्नका प्रशिक्षक थिए भने टुकल मेन्जको जिम्मेवारीमा। मेन्जमा हुँदा टुकल ग्वार्डिओलासँग दुई पटक भिडे, दुवै पटक हारे। त्यसपछि बोरुसिया डर्टमन्डमा सरेका टुकलले तीन पटक ग्वार्डिओलाको सामना गरे। तर जर्मन कप फाइनलसहित दुई खेलमा टुकल पराजित भए।

चेल्सीको प्रशिक्षक बनेपछि भने टुकल ग्वार्डिओलामाथि हाबी हुन थाले। च्याम्पियन्स लिग फाइनल, एफए कप सेमिफाइनल र इंग्लिस प्रिमियर लिगमा एक खेलमा टुकलको चेल्सीले बाजी मार्‍यो। पछिल्ला दुई प्रतिस्पर्धामा भने टुकलले १-० को हार भोगेका थिए।

के भनिन्छ भने, सिटी च्याम्पियन्स लिग फाइनलमा पराजित हुनुको कारण ग्वार्डिओलको टिम छनोट थियो। ग्वार्डिओलाले दुई विंगर रहिम स्टर्लिङ र रियाद माहरेजलाई अग्रपंक्ति, केभिन डे ब्रुएनालाई ‘नम्बर दस’ अनि मिडफिल्डमा फिल फोडन र बर्नादो सिल्भालाई खेलाएका थिए। ‘ग्वार्डिओलाले चाहिनेभन्दा बढी दिमाग लगाए, असन्तुलित टिम खेलाए,’ त्यसबेला ग्वार्डिओलका आलोचक भन्थे।

विगतमा जे भयो, त्यसको बदला लिने मौका ग्वार्डिओलालाई छ। उनका लागि यो उपयुक्त समय हुनसक्छ। कारण? टुकल बायर्नमा अभ्यस्त नभइसकेको अवस्था। सेप्टेम्बरमा चेल्सी छाडेका टुकल बायर्नको प्रशिक्षक भएको तीन साता मात्र भयो। यो बीचमा बायर्नले उनको प्रशिक्षणमा तीन खेल मात्र खेल्न पाएको छ।

च्याम्पियन्स लिग भिडन्तअघि ग्वार्डिओलले टुकलबारे टिप्पणी गरेका छन्। उनले आफू पराजित भएको फाइनलबारे कुरा गर्न छुटाएका छैनन्। ‘फाइनल हारेपछि दुःख त लागिहाल्यो। त्यही पनि मैले टुकल र उनको टिम चेल्सीलाई बधाई दिए,’ ग्वार्डिओलाले भनेका छन्, ‘हामी फेरि एकपटक प्रतिस्पर्धामा उत्रदैछौँ। म विगतलाई त्यति ध्यान दिने मान्छे होइन। फेरि फुटबलमा हार र जित त भइरहन्छ नि। हामी जितका लागि प्रयास गर्नेछौँ।’

विगतमा जे भयो, त्यसको बदला लिने मौका ग्वार्डिओलालाई छ। उनका लागि यो उपयुक्त समय हुनसक्छ। कारण? टुकल बायर्नमा अभ्यस्त नभइसकेको अवस्था। सेप्टेम्बरमा चेल्सी छाडेका टुकल बायर्नको प्रशिक्षक भएको तीन साता मात्र भयो। यो बीचमा बायर्नले उनको प्रशिक्षणमा तीन खेल मात्र खेल्न पाएको छ।

उसो त ग्वार्डिओलाले त्यो फाइनल किन बिर्सिन्थे र। एक महिनाअघि मात्र उनले त्यो खेल फेरि हेरेको बताए। ‘मेरो विचारमा सिटीले त्यति खराब खेलेको थिएन। हो, खेल चाहिँ असाध्यै प्रतिस्पर्धात्मक थियो। चेल्सीसँगका अरु खेल जस्तै,’ ग्वार्डिओलाको भनाइ थियो।

बायर्नले युलियान नागल्समनलाई हटाएर टुकललाई प्रशिक्षक बनाएको हो। जो प्रशिक्षक भए पनि बायर्नसँग खेल्न अप्ठ्यारो हुने ग्वार्डिओला बताउँछन्। ‘बायर्न हरेक पक्षमा बलियो छ। अहिले नागल्समन नै त्यहाँको प्रशिक्षक भएको भए पनि प्रतिस्पर्धा कठिन नै हुने थियो। हुन त बायर्नमा भएको परिवर्तनबारे चासो दिइरहन आवश्यक छैन। सिटीलाई कसरी विजयी बनाउन सकिन्छ, मेरो ध्यान त्यता हुनुपर्छ,’ ग्वार्डिओलाले भने।

ग्वार्डिओलाका लागि बायर्न अपरिचित टिम होइन। उनले सन् २०१३ देखि २०१६ को बीचमा बायर्नलाई तीन पटक जर्मन च्यापिम्पयन बनाएका थिए। तर सिटीमा जस्तै त्यहाँ पनि उनले च्याम्पियन्स लिग जितेको होइनन्। उनको नेतृत्वको बायर्न लगातार तीन सिजन सेमिफाइनलबाट बाहिरिएको थियो।

ग्वार्डिओलाले आफ्नो करियरमा च्याम्पियन्स लिग जित्दै नजितेको होइन। बार्सिलोनालाई उनले सन् २००९ र २०११ मा युरोेपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जिताएका थिए। त्यो सफलता दोहोर्‍याउन सजिलो नभएको ग्वार्डिओलाको भनाइ छ।

‘च्याम्पियन्स लिगमा भाग लिन पाउनु सम्मानजनक उपलब्धि हो। त्यसमाथि बायर्न जस्तो ठूलो क्लबसँगको प्रतिस्पर्धा त विशेष हुने भइहाल्यो। हामी यो प्रतियोगिता र खेललाई सामान्य ढंगमा लिँदैनौँ। प्रत्येक सिजन सिटीले च्याम्पियन बन्ने प्रयास गरेको छ,’ ग्वार्डिओलाले भने, ‘सिटीको प्रशिक्षक बनेदेखि नै च्याम्पियन्स लिग कहिले जितिएला भन्ने प्रश्नको सामना गरिरहेको छु। यो प्रश्न जायज हो। तर यहाँ बुझ्नु पर्ने तथ्य के छ भने, च्यामिपयन्स लिग जित्ने लक्ष्यका साथ अरु टिम पनि मैदान उत्रिएका हुन्छन्। र ती टिम साँच्चै बलिया छन्।’

च्याम्पियन्स लिग जित्ने सपना पूरा गर्न सिटीलाई एर्लिङ हालान्डको बलियो साथ चाहिनेछ। हालान्ड हाल गजबको गोल लयमा छन्। प्रिमियर लिगमा मात्र ३० गोल गरेका उनले सबैखाले प्रतियोगितामा गरि ५० गोल गरिसकेका छन्।

‘सिटीका लागि हालान्ड महत्त्वपूर्ण छन्। यो सत्य हो। उनी हामीलाई च्याम्पियन्स लिग मात्र होइन घरेलु प्रतियोगिताहरू जिताउन चाहन्छन्। उनी जस्ता गोलकर्ता टिममा हुनुको मज्जा बेग्लै छ। तर हामीले विगतमा पनि पर्याप्त गोल गरेका थियौँ। त्यसबेला उनी हामीसँग थिएनन्। यसको मतलब हो, हामी सायद रक्षात्मक रुपमा कमजोर थियौँ,’ ग्वार्डिओलाले भने।

सिटीका खेलाडीहरूले मंगलबार रातिको खेलमा एक परिचित अनुहारको सामना गर्नुपर्नेछ। ती हुन्, जाओ कान्सेलो। यी फुलब्याक गत जनवरीमा सिटीबाट बायर्नतिर सरेका थिए। ‘हामी वास्तवमै अचम्मको स्थितिमा छौँ। केही समयअघि कान्सेलोसँग खेल्दै थियौँ। अहिले पनि उनी विपक्षी टिममा छन्। फुटबल सायद यही हो,’ कान्सेलोका साथी रुबेन डियासले भनेका छन्। यी दुई पोर्चुगल राष्ट्रिय टिमको सदस्य हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =