राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखबारे छलफल गर्न कांग्रेस तयार

हिमाल प्रेस ३ माघ २०७९ १८:५९
10
SHARES
राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखबारे छलफल गर्न कांग्रेस तयार फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुख पदको चयन दलहरूबीचको सहमतीमा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। मंगलबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले उक्त प्रस्ताव राखेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

प्रधानमन्त्रीजीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका निमित्त पनि सहमती गरेर अघि जान सकिन्छ भनेर विषय प्रवेश गराएको लेखको भनाइ छ।

नेपाली कांग्रेसले पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख संविधानको पालना गर्नुपर्ने, संरक्षण गर्नुपर्ने र तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने पद भएकाले यसलाई सहमतीमै चयन गर्न आफ्नो पार्टी तयार रहेका धारणा बैठकमा राखेको थियो।

प्रमुख सचेतक लेखकले बैठकबारे जानकारी दिँदै भने, ‘प्रधानमन्त्रीजीले विश्वासको मत दिएकोमा सबै दलहरूलाई धन्यवाद दिनु भयो। अर्को सत्तापक्ष र प्रतिपक्षको बारेमा पनि केही कुराहरू राख्नु भयो। नेपाली कांग्रेस संसदीय प्रतिनिधिसभामा, राष्ट्रियसभामा प्रमुख विपक्ष दलको रुपमा रहेको छ। त्यसपछि हाम्रो पार्टी सभापति शेरबहादुरजीले प्रमुख विपक्ष दलको नेताको हैसियतमा आफ्ना कुराहरु राख्नु भयो।’

छलफलमा कांग्रेस प्रमुख विपक्षी दलकै हैसियतमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखलगायत तटस्थ भूमिका निर्वाह गर्नुपर्ने पदको विषयमा सहमतिका लागि प्रस्ताव आए तयार रहेको जानकारी गराएको लेखकको भनाइ छ।

‘हामीले नेपाली काँग्रेस संघीय संसदमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्दैगर्दा र प्रमुख प्रतिपक्ष दलकै रुपमा कार्यरत रहने गरेर राष्ट्रपति, उपराष्ट्रपति सभामुख र उपसभामुख संविधानको पालना गर्नुपर्ने, संरक्षण गर्नुपर्ने र तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने र सबै राजनीतिक दलको र सबै नेपाली जनताको संस्था अथवा नेता भएर बस्नुपर्ने पदहरू भएको हुनाले हामी प्रमुख प्रतिपक्ष दलमा भएर पनि हामी यसका बारेमा छलफल गर्न तयार छौं यदि प्रधानमन्त्रीजीले छलफल बोलाउनु भयो भने त्यसमा हामी छलफल गर्न तयार छौं भनेर हामीले भनेका छौं’ उनले भने।

तर सत्ता गठबन्धनमा यी पदबारे भागबन्डा भइसकेको छ।

प्रकाशित: ३ माघ २०७९ १८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 20 =