थारू समुदाय र संस्कृतिको उत्थानमा लाग्‍नेछु : गृहमन्त्री लामिछाने

हिमाल प्रेस २८ पुष २०७९ १८:१६
12
SHARES
थारू समुदाय र संस्कृतिको उत्थानमा लाग्‍नेछु : गृहमन्त्री लामिछाने फाइल तस्बिर

चितवन– उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले थारू समुदायको उत्थानका लागि आफू लागिपर्ने बताएका छन्। चितवनको खैरहनीमा बिहीबार (आज)देखि सुरु भएको आठौँ खिचरा महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

थारू संस्कृति जगेर्ना हाम्रो जिम्मेवारी भएको भन्दै यो समुदायको संस्कृति जगेर्ना गर्नका लागि यस्ता मेला महोत्सव आवश्यक पर्ने उनको भनाइ थियो। ‘थारू समुदायबाट अन्य समुदायले सत्कार र सम्मानको विषयमा सिक्नु पर्छ,’ उनले भने। जनताको दिएको जिम्मेवारी पूरा गर्नका लागि समय व्यवस्थापन गर्दै थारू समुदायको उत्थानमा लाग्ने उनले बताए।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले थारू संस्कृतिको माघी पर्व अहिले सबै समुदायको साझा बन्न सफल भएको बताए। माघी पर्व अहिले सार्वजनिक शिक्षालयका रूपमा अघि बढेको उनको भनाइ थियो। ‘यस महोत्सवले चितवनको बृहत् हितमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु,’ उनले भने। बागमती प्रदेश सरकार चितवनका पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटनलाई पूर्वाधारसँग जोड्दै अघि बढ्ने उनले बताए।

थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले हरेक वर्ष माघे संक्रान्तिको अवसरमा महोत्सव गर्दै आएको छ। बिहीबारदेखि माघ ४ गतेसम्म महोत्सव सञ्चालन हुनेछ। महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीका अनुसार देशभरका थारू जातिको रहनसहन र वेशभूषाका साथै थारू जातिले खाने खानाका परिकारलाई प्राथमिकता दिइएको छ।

थारूको बसोबास रहेका २५ जिल्लाका थारूको खाना एकै ठाउँमा पस्किने प्रयास गरिएको उनले जानकारी दिनुभयो। महोत्सवबाट थारू जाति र थारू जातिको वेशभूषासँगै पहिचान तथा संस्कृतिको जगेर्नामा ठूलो टेवा पुग्ने उनले बताए।

महोत्सवमा ३० वटा होटलसहित एक सय ५० वटा व्यावसायिक स्टल रहेका छन्। महोत्सवमा कृषि प्रवर्द्धन परिसरसमेत रहनेछ। महोत्सवमा जिल्लास्तरीय भलिबल, खुला चित्रकला, विद्यालयस्तरीय नृत्य, गाउँखाने कथालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रमसमेत सञ्चालन हुनेछ।

प्रकाशित: २८ पुष २०७९ १८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − six =