लुम्बिनीको सत्ता समीकरणमा कांग्रेसको चलखेल!

हिमाल प्रेस २७ पुष २०७९ ९:२६
4
SHARES
लुम्बिनीको सत्ता समीकरणमा कांग्रेसको चलखेल!

बुटवल- मंगलबार अपराह्न पौने ४ बजे लुम्बिनी प्रदेशमा एमालेका लीला गिरीलाई बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने कार्यसूची थियो। तर एकाएक साढे ४ बजेतिर प्रदेश प्रमुख अमिक शेरचनलाई दाबी पेस नहुने खबर आयो। सोमबार मात्र नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, जनमत पार्टीका दलका नेताहरूको बैठकले मंगलबार ४ बजेभित्र गिरीलाई मुख्यमन्त्रीका रुपमा दाबी पेस गर्ने निर्णय गरेको थियो।

एकाएक माओवादीका नेताहरूबीच मुख्यमन्त्रीका विषयमा विवाद भएपछि मंगलबार हुने भनिएको दावी पेस रोकिएको हो। नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहेका दलका नेता जोखबहादुर महरा असन्तुष्ट हुँदै सोमबार नै काठमाडौँ पुगेका थिए।

प्रधानमन्त्री प्रचण्डका पूर्व स्वकिय सचिवसमेत रहेका महराले पाँच वर्ष नै एमालेलाई मुख्यमन्त्री दिन नहुने भन्दै प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको नेताहरूको दाबी छ। आलोपालो सरकारको नेतृत्व गर्ने गरी शीर्ष तहमा सहमति भएको नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले जानकारी दिए। ‘केन्द्रमा एमाले र माओवादीबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको हो’, नेता बरालले भने, ‘लिखित सहमति भने भएको छैन।’

सुरुदेखि नै लुम्बिनीमा माओवादीले लुम्बिनी प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान राख्दै आएको थियो। केन्द्रीय राजनीतिक सहमतिअनुसार माओवादीले पहिलो चरणमा एमालेलाई नै मुख्यमन्त्री दिनुपर्ने भएपछि साविक राप्ती र भेरीका नेताहरूले असन्तुष्टि जनाउँदै आएका थिए। सोमबार बैठक बसेर एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गर्ने भने पनि माओवादी पार्टी संसदीय दलको बैठकसमेत ढिला हुँदा मंगलबारको दाबी पेस रोकिएको हो। संसदीय दलको बैठकमा माओवादीले सुरुकै चरणमा मुख्यमन्त्री पाउनुपर्नेमा नेतृत्व चुकेको भन्दै दोस्रो चरणमा मुख्यमन्त्री पाउनुपर्ने मत देखिएपछि विवाद भएको एक नेताले बताए।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले कांग्रेस सबै विकल्पमा खुल्ला रहेको बताए। ‘बहुमतको सरकार बनाउन आह्वान भएकाले दोस्रो दलको हैसियतमा हामीले तयारी गरेकै छौँ’, उनले भने।

ती नेताका अनुसार महराको पक्षमा लबिङ नगरेको भन्दै प्रदेश अध्यक्ष बरालसँग पनि रोल्पाका नेताहरूले असन्तुष्टि जनाएका थिए। आलोपालोकै विषयलाई लिएर मंगलबारको दाबी पेस नरोकिएको नेताहरू बताउँछन्। माओवादी प्रदेश अध्यक्ष बरालले आलोपालोको सहमति केन्द्रमा भएको हो, तर बुधबारसम्म म्याद भएकाले बैठक र छलफलमा व्यस्त हुँदा दाबी पेस गर्न समय अपुग भएको दावी गरे। ‘पहिलो चरणमा एमालेकै नेतृत्वमा सरकार बन्छ, यसमा कसैको विमति छैन’, उनले भने।

एमाले लुम्बिनीका संसदीय दलका उपनेता चेतनारायण आचार्यले भने आलोपालोकै कारण दाबी पेस नरोकिएको बताए। उनले नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्न ढिलो भएको र दलका नेता महराका कारण रोकिएको बताए।

‘प्रदेश प्रमुखले दिएको समय बुधबारसम्म छ। माओवादीका नेताहरू पनि व्यस्त र जनमत र नागरिक उन्मुक्ति पार्टीका सांसदहरू समेत काठमाडौँ भएकाले आज पेस नभएको हो’, उनले मंगलबार भने। उनका अनुसार बुधबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा बिहान ११ देखि १ बजेको बीचमा दाबी पेस हुनेछ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन चाहिन्छ। सत्ता साझेदार दलहरूमध्ये सबैभन्दा धेरै नेकपा एमालेका २९ सांसद छन्। यसैगरी माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४/४ तथा जसपा र जनमत पार्टीका ३/३ जना सांसद छन्। सत्तारुढ दलसँग ५३ सांसदहरूको समर्थन रहेको एमालेले जनाएको छ।

स्वतन्त्रबाट निर्वाचित २ सांसद माओवादीबाट टिकट नपाएर उठेका र एमालेले सहयोग गरेकाले उनीहरूको पनि सत्तारुढ दललाई समर्थन गर्ने सम्भावना छ। यसैगरी कांग्रेसका २७, लोसपाका ३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सांसद छन्।

कांग्रेसले माओवादीलाई अफर गर्दै

मंगलबार दाबी पेस रोकिएपछि नेपाली कांग्रेसले माओवादीलाई मुख्यमन्त्री दिएर जान तयार देखिएको छ। प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसले विश्वासको मत दिएसँगै कांग्रेसले पनि लुम्बिनीमा लचिलो बन्ने संकेत गरेको छ। माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई सकभर पहिलो कार्यकालमै मुख्यमन्त्री बन्ने रहर र केन्द्रीय राजनीतिमा देखिएको फरक परिस्थितिका कारण लुम्बिनीमा पनि ट्विस्ट हुन सक्ने अनुमान छ।

नेपाली कांग्रेस लुम्बिनीका एक नेताका अनुसार कांग्रेसले एमाले माओवादीसहितको गठबन्धन भत्काउनका लागि जे पनि गर्ने गरी तयारीमा जुटेको छ।

माओवादीका नेता महरा र मुख्यमन्त्री रहेका कुलप्रसाद केसीसहितका नेताहरूलाई पाँच वर्ष नै मुख्यमन्त्री बन्न कांग्रेसले अफर गरिसकेको छ। मंगलबार दाबी पेस गर्न नसकेसँगै कांग्रेसले पनि सत्ता समीकरणमा चलखेल गरेको छ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले कांग्रेस सबै विकल्पमा खुल्ला रहेको बताए। ‘बहुमतको सरकार बनाउन आह्वान भएकाले दोस्रो दलको हैसियतमा हामीले तयारी गरेकै छौँ’, उनले भने। लुम्बिनीमा नागरिक उन्मुक्ति पार्टीले अझै एमाले माओवादी गठबन्धनलाई भरपर्दो जवाफ दिइसकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + five =