लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

हिमाल प्रेस ५ माघ २०७९ १६:३०
12
SHARES
लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत मुख्यमन्त्री लीला गिरी

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। आज बिहीबार प्रदेशसभामा मुख्यमन्त्री गिरीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ सांसदले मत दिएका हुन्। प्रस्तावको विपक्षमा २८ मत गस्यो।

विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा प्रदेशसभामा ८६ सांसद उपस्थित थिए। विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा कांग्रेसका सांसदले मात्र मत दिए। यहाँ पनि नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित संघीय सरकारमा भएकै गठबन्धनको सरकार बनेको छ।

आठ  राजनीतिक दल र दुई स्वतन्त्र सांसद गरी ५७ जनाले पक्षमा मतदान गर्दै गिरीलाई विश्वासको मत दिएका हुन्। मुख्यमन्त्री गिरीलाई एमालेका २९, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार-चार, जसपा, लोसपा र जनमतका तीन-तीन, नेकपा एकीकृत समाजवादीका एक र दुई स्वतन्त्र सांसदले  पक्षमा मतदान गरेका छन्।

नेकपा माओवादी स‌ंसदीय दलका नेता जाेखबहादुर महराकाे आमाकाे निधन भएपछि उनी उपस्थित भएनन्। सभामुख पनि मतदानमा सहभागी भएनन्। जसले गर्दा विश्वासकाे मत ५७ विपक्षमा २८ मत खस्याे।

सरकार गठनमा पक्षमा नरहेकाे एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य भगवती घिमिरेले विश्वासकाे मत भने मुख्यमन्त्री लीला गिरीलाई दिएकी छन्।

मुख्यमन्त्री गिरीको विपक्षमा नेपाली कांग्रेसका २७ र राष्ट्रिय जनमोर्चाका एक गरी २८ जनाले मतदान गरेका छन्। सभामुख र उपसभामुख निर्वाचनमा समर्थन गरेका कांग्रेस र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्रीलाई भने मत दिएनन्।

मुख्यमन्त्रीले कुनै पनि बखत आफूमाथि विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त मानेमा विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्ने सक्ने प्रावधान संविधानमा छ। मुख्यमन्त्री गिरीले प्रदेशलाई समृद्ध बनाउन साझा उद्देश्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘प्रदेशको समृद्धि र विकास हामी सबैको साझा लक्ष्य उद्देश्य हुन्। त्यसलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु।’

प्रकाशित: ५ माघ २०७९ १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + three =